बाख्रा चराउन गएकी आठ वर्षीय बालिका बलात्कृत

पर्सा, फागुन १७ । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् ।

बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिकाको वडा नं ५ निचुटनाको पोखरी नजिकैको खेतमा मुर्छित अवस्थामा फेला परेपछि घटनाबारे जानकारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

बालिकालाई बुधबारै साँझ उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा भर्ना गराइएको उपरीक्षक लिम्बूले बताए ।

बालिकाको शरीरको विभिन्न स्थानमा घाउ लागेको तथा उनको गोप्य अंगमा समेत गहिरो घाउ भएको फेला परेपछि आवश्यक प्रमाण संकलन गरी गएराती नै उनको उपक्षेत्रीय अस्पतालमा सल्यक्रिया गरिएको उपरीक्षक लिम्बूले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट टोली पटेर्वासुगौली गाउँपालिकामा खटाइएको छ ।

अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्यस्थिति गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *