अझै तयार भएन मुख्यमन्त्री भट्टको आवास

धनगढी, फागुन १७ । सरकार गठन भएको महिना दिन बित्न लाग्दा पनि प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको आवास अझैं निर्माण भएको छैन ।आवास तयार नभएपछि मुख्यमन्त्री  भट्ट कृषि विकास बैंकको गेष्ट हाउसमा बसिरहेका छन् ।

प्रदेश कार्यालय व्यवस्थापन समितिका अनुसार सुरुमा मुख्यमन्त्री भट्टले धनगढीमा रहेका सरकारी आवासहरू मन नपराएकाले अत्तरियामा निजी घर खोज्न निर्देशन दिइएको थियो ।

प्रदेश कार्यालय व्यवस्थापन समितिका सदस्य सचिव तथा शहरी विकास तथा भवन निर्माण डिभिजन कैलालीका प्रमुख रवीन्द्र बोहराले सुरुका तीन/चार दिन अत्तरिया आसपासमा मुख्यमन्त्री आवासका लागि घर खोजेको बताए ।

तर, सुरक्षाका कारण अत्तरियामा मुख्यमन्त्री आवास उपयुक्त नरहेको सुरक्षा निकायको सुझावपछि पुन: धनगढीमा नै व्यवस्था गर्न लागिएको छ ।

एक साताअघि धनगढीको उत्तरबेहडीमा दुई तले घर मासिक ४५ हजार रुपैयाँ भाडामा लिने गरी सम्झौता गरिएको छ । हाल सो घरमा सुरक्षाकर्मीको लागि आवासको व्यवस्था भइरहेको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीका ईञ्जिनियर शालिग्राम उपाध्यायले मूख्यमन्त्रीको आवास पुरा हुन केही समय लाग्ने बताए ।

प्रदेश नम्बर ७ का मुख्यमन्त्रीको मात्रै नभएर अन्य मन्त्रीका लागि पनि अझै आवासको व्यवस्था भएको छैन । आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा र सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी आफ्नै निजी निवासमा बसिरहेका छन् ।

त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहको निवास धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको जिल्ला कृषि विकास कार्यालयको पछाडिको भवनमा रहेको छ ।

त्यस्तै, भौतिक पुर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित क्षेत्रीय सिंचाई निर्देशनालयको क्वार्टरमा बसिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *