ताप्लेजुङको दुर्गम साँघुबजारसम्म बस सेवा सुरू

तेह्रथुम, फागुन १७ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थित पर्यटकीय बजार गुफा हुँदै ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघुबजारसम्म बस पुगेको छ । सुनसरीको धरानदेखि बसन्तपुर, गुफा हुँदै साँघुबजारसम्म सिधा बस सेवा शुरु भएको हो ।

धरानदेखि वसन्तपुरसम्म कोशी राजमार्गबाट आएपछि प्रस्तावित मदन भण्डारी लोकमार्ग अर्थात् निर्माणाधीन टुटे–गुफा–साँघु सडक भएर पहिलोपटक बस सेवा सञ्चालन भएको हो । आइतबारदेखि तीनजुरे–मिल्के–जलजले क्षेत्रको पर्यटकीय बजार गुफा हुँदै साँघुसम्म बस सेवा शुरु भएको व्यवसायी कासाङ शेर्पाले बताए ।

पहिलोपटक गुफा हुँदै साँघु पुगेको बस, चालक र यात्रुलाई स्थानीयवासीले फूलमालाले स्वागत गरेका छन् । वसन्तपुरदेखि माथि तीनजुरे, चौकी, मंगलबारे हुँदै गुफा भएर जाने यो सडक पर्यटकीय क्षेत्रको पदमार्गका रुपमा पनि प्रचलित छ । तर सार्वजनिक सवारीका साधन सञ्चालन नहुँदा यहाँ भएर आवत–जावत गर्ने यात्रुले सास्ती बेहोर्दै आएका थिए ।

तीन वर्षअघि नै ट्र्याक खुला भएपनि यो सडकखण्डमा रिजर्भमा मात्रै सवारी सञ्चालन हुने गरेका थिए । अहिले वसन्तपुर–गुफा खण्डमा सडक स्तरोन्नतिको कामसमेत धमाधम भइरहेको छ । सडक स्तरोन्नति शुरु भएसँगै व्यवसायीले सो सडकखण्डमा बस सेवा शुरु गरेका हुन् । अब यो सडक ताप्लेजुङबाट पुर्वी तराई झर्ने वैकल्पिक मार्गसमेत बनेको छ ।

ताप्लेजुङका बासिन्दा यसअघि मेची राजमार्ग भएर मात्रै तराई झर्नुपर्ने बाध्यता झेल्दै आएका थिए । धरानको कोशी बस व्यवसायी संघ, संयुक्त बस व्यवसायी संघ र सुनसरी बस व्यवसायी संघले आलोपालो गरेर अब धरान, वसन्तपुर, गुफा हुँदै साँघुसम्म सिधा बस सेवा सञ्चालन गर्ने भएका हुन् ।

अहिले दैनिक बिहान ७ बजे धरान र साँघुबाट एक साथ एक–एक वटा बस छुट्ने गरेका छन् । धरानदेखि साँघुसम्म एकोहोरो भाडा रु सात सय कायम गरिएको छ । धरानदेखि साँघु पुग्न अब यात्रुलाई सातसय रुपैयाँ भए पुग्ने भएको छ । यसअघि सञ्चालन हुने ट्याक्सीले रु १५ सयसम्म लिने गरेका थिए ।

“यात्रुहरुलाई पायक पर्नेगरी सहज यात्रा गर्ने वातावरण र न्यून भाडादर व्यवस्थापन गरी धरान–साँघु सिधा बस सेवा शुरु गरिएको मैवाखोला गाउँपालिकाका अध्यक्ष राजनकुमार थुलुङले बताए । यो सडक पार गर्न १० घण्टा लाग्छ ।

यो सडक भएर ताप्लेजुङको मैवाखोला, तेह्रथुमका मेन्छ्यायेम, म्याङलुङ्ग र लालीगुराँस नगरपालिका तथा संखुवासभाको चैनपुर र मादी नगरपालिका क्षेत्रका बासिन्दालाई सुविधा भएको छ ।

यी क्षेत्रका कतिपय स्थानीयवासी बस चढ्नका लागि जिरीखिम्ती, मोराहाङ या वसन्तपुरसम्म हिँडेर पुग्ने गरेका थिए भने ताप्लेजुङको मैवाखोलाका बासिन्दा फुङ्लिङबाट मेची राजमार्ग भएर पूर्वी तराई झर्ने गरेका थिए । यो रुटबाट गाडी चढ्न पैदल हिड्नुका साथै धरानसम्म पुग्न एक हजार रुपैयाँ लाग्ने गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *