सांसदहरुको सपथ तयारी, रेशम चौधरीलाई सपथ गराउन राजपाको माग

काठमाडौं, फागुन १६ । कैलाली कारगारमा रहेका राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ लिने व्यवस्था गर्न राजपाले माग गरेको छ ।

आगामी आइतबार संघीय संसदमा निर्वाचित सदस्यहरुले सपथ लिँदैछन् । सोही विषयमा छलफल गर्न संघीय संसद सचिवालयले बुधबार बोलाएको सर्वदलीय बैठकमा राजपाका नेता वृशेषचन्द्र लालले सांसद चौधरीलाई सपथ लिने र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरेका हुन् ।

कैलाली १ बाट निर्वाचित सांसद चौंधरीलाई सपथ लिने र संसदको काम कारबाहीमा भाग लिने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरिएको नेता लालले जानकारी दिए ।

कैलालीको टीकापुर घटनाको मुख्य योजनाकार मानिएका प्रतिनिधिसभाका सांसद चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै जिल्ला कारगार पठाइएको छ । हाल उनी कारागारमा छन् ।

सांसद चौधरीले पनि आफूलाई सपथ ग्रहण गराउने व्यवस्था गर्न माग गर्दै पार्टीमार्फत् संघीय संसद सचिवालयमा निवेदन दिइसकेका छन् ।

संघीय संसदको पहिलो बैठक तयारीका सम्बन्धमा संसदमा प्रतिनिधित्व गर्ने पाँचदलको नेताहरुको बुधबार बसेको बैठकले अन्तरिम कार्यविधिका विषयमा छलफल गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसदमा दिउँसो बसेको बैठकमा २१ गते बस्ने संसद बैठकको कार्यसूची, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सञ्चालनका लागि संसद सचिवालयले तयार गरेको अन्तरिम कार्यविधि तथा संघीय संसद सचिवालय व्यवस्थापनको विषयमा छलफल भएको सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए ।

संघीय संसदको पहिलो बैठक बस्नुअघि २० गते प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरुको शपथग्रहण कार्यक्रम तय गरिएको छ ।त्यसकालागि प्रतिनिधिसभा र राष्ट्रियसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोहिदिन पहिले नै शपथ लिनेछन् ।

सोपछि ज्येष्ठ सदस्यले दुवै सभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको सचिवालयले बताएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका महेन्द्रराय यादव (८० वर्ष) र राष्ट्रियसभाका लागि ज्येष्ठ सदस्य कांग्रेसकी तरादेवी भट्टले पहिले शपथ लिनेछन् ।

मातृभाषामा समेत सांसदहरुले शपथ लिनेगरी सचिवालयले तयारी गरेको छ । त्यसकालागि १७ गतेसम्म निवदेन दिने समयसीमा तोकिएको संसद सचिवालयले जनाएको छ । मातृभाषामा शपथ लिन चाहने अहिलेसम्म हिन्दी, मैथली, भोजपुरी, थारु भाषाको गरी १० जना सांसदले निवेदन दिएको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *