शशांकको ‘लञ्च’ मिटिङ : आफुलाई सर्वसम्मत नेता बनाउन सन्देश

काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले होलीको अवसर पारेर पार्टी नेताहरुलाई ‘लञ्च’ दिएका छन् । लञ्चमा सांसद सहित पार्टी नेताहरु सहभागी थिए ।

नेपाली काँग्रेसको संसदीय दलको निर्वाचन यही फागुन २१ गते हुँदैछ । सर्वसम्मत भए आफु संसदीय दलको नेता बन्न तयार रहेको शशांकले बताउँदै आएका छन् । संसदीय दलको चुनावको पूर्वसन्ध्यामा आयोजित यो भेटघाटलाई अर्थपूर्ण मानिएको छ ।

सर्वसम्मत भए संसदीय दलको नेता बन्ने दाउमा रहेका कोईरालाले आफ्नो निम्तोमा आएका नेताहरुलाई सम्बोधन गर्दै सबै एक भएर अघि बढ्नुपर्ने बताए । उनले सबैलाई अबीरको टीका लगाइदिएका थिए । सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि महामन्त्री कोइरालाको निवास पुगेका थिए ।

कोईरालाले संसदीय दलको नेतामा नभिड्न नेताहरुलाई सन्देश दिन खोजे पनि उनी सर्वसम्मत हुने सम्भावना भने कमै छ । सभापति शेरबहादुर देउवाले दलको नेतामा उनलाई समर्थन गर्ने सम्भावना न्यून छ भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दलको नेता दाबी गर्दै आएका छन् ।

कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता प्रकाशमान सिंहले आँफु संसदीय दलको नेता बन्ने दाबी गरे । उनले दलको नेता नलड्न सभापतिलाई सुझाव दिएका छन् । देउवाले पार्टी पनि राम्रोसँग चलाउन नसकेको र सरकारमा रहँदा जनभावना अनुरुप कार्यक्रम दिन नसकेकाले कांग्रेस हारेको उनले बताए ।

‘नम्बर वान म्यान फेलियरका कारण यो भएको हो’ उनले भने, ‘जसले अवसर पाएर पनि काम गर्न सक्दैन, त्यस्ता नेताहरुलाई राखिराख्नु कांग्रेसलाई नै हानी हुन्छ ।’

नेतृत्व परिर्वतन आवश्यक रहेको भन्दै उनले अघि भने, अहिले त यो अवस्था छ, झन टेष्ट भइसकेको र फेल भइसकेको नेतालाई निरन्तरता दिनु पार्टीको भनाइ हुन सक्दैन ।’

तर, सभापति शेरबहादुर देउवा भने फेरी पनि संसदीय दलको नेता बन्न ईच्छुक देखिएका छन् । ‘लन्च मिटिङ’मा देउवाले आफू नै संसदीय दलको नेता हुने दाबी पनि गरे।

उक्त मिटिङपछि पत्रकारसँग कुरा गर्दै देउवाले आफू नै संसदीय दलको नेता हुने बताए । ‘म कांग्रेस संसदीय दलको नेताको उम्मेदवार हुँ, नेता पनि मै हुँ,’ देउवाले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *