भरतपुर अस्पतालले गर्यो फार्मेसी सेवा विस्तार

चितवन, फागुन १६ । जिल्लाको सरकारी अस्पताल, भरतपुर अस्पतालमा शुरु गरिएको आफ्नै फार्मेसी प्रभावकारी भएपछि यसलाई विस्तार गरिएको छ । निजी क्षेत्रलाई भाडामा फार्मेसी दिँदै आएकोमा गत वर्षको कात्तिक ७ गतेबाट अस्पताल आफैँले फार्मेसी सञ्चालनमा ल्याएको थियो ।

बाहिर मात्र फार्मेसी भएपछि औषधि किन्नेलाई लामो समय पालो पर्खनुपरेको थियो । यसलाई मध्यनजर गर्दै बहिरंग विभागमा नयाँ फार्मेसी शुरुवात गरिएको छ ।

सहजरुपमा बिरामीले औषधि पाउन् भन्ने उद्देश्यका साथ सेवा विस्तार गरिएको अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । उनका अनुसार अस्पतालमा भर्ना भएर बसेका बिरामी, सघन उपचार कक्ष र शल्यक्रियाका बिरामीका लागि छुट्टै फार्मेसी व्यवस्थापन गरिँदैछ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रुद्र मरासीनिका अनुसार निजीमा भन्दा आधासम्म सस्तोमा बिरामीले अस्पतालको फार्मेसीबाट औषधि पाएका छन् । अस्पतालको औषधि खरिद मूल्य र निजीले बिक्री गर्ने गरेको मूल्यको नाफामध्ये आधा अस्पतालले राखेर आधा बिरामीलाई छुट दिइँदै आएको उनले बताए ।

फार्मेसी विभागका प्रमुख राजकुमार ढुंगानाका अनुसार फार्मेसी स्थापनापछि रु नौ करोड ३३ लाख ६७ हजारको औषधि बिक्री गरिएको छ । जसबाट रु दुई करोड २६ लाख अस्पताललाई नाफा भएको छ । त्यति नै रकम बिरामीले छुट्टै पाएको उनले बताए ।

अस्पतालको सघन उपचार कक्षमा बढी प्रयोग हुने एण्टिीबायोटिक सुई पिप्रासिलिन प्लस टाजोब्याक्टस बाहिर बजारमा एक डोजको रु ५२४ पर्दछ भने अस्पतालले रु ३४४ मा बिक्री गर्दै आएको छ । त्यस्तै सघन उपचार कक्षमा नै बढी प्रयोग हुने अर्को सुई म्यानकोमाइसिन निजीमा रु ६०८ पर्दछ भने अस्पतालको फार्मेसीमा रु ४३६ मा बिक्री गरिन्छ ।

भरतपुर अस्पतालमा ६०० शय्या रहेको छ । दैनिक एक हजार भन्दा बढीले बहिरंग सेवा लिने गर्दछन् । वार्षिक ठूला शल्यक्रिया नौ हजारको हाराहारी हुने गर्दछन् । चितवन र छिमेकी जिल्लाबाट सेवा लिन बिरामी यहाँ आउने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *