आइरन चक्की दिनुपर्ने गर्भवतीलाई जुकाको औषधी !

म्याग्दी, फागुन १५ । म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ ।

अस्पतालमा २०७४ मंसिर ४ गते गर्भपरीक्षण गराउनु पुगेकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई सोही दिन औषधि वितरण कक्षमा रहेका स्वास्थ्यकर्मीले अल्बेण्डाजोलको बट्टा दिएका थिए ।

कुँवर र उनका परिवारले माघको २३ गतेमात्रै आफूलाई आइरन चक्की नभएर जुकाको औषधि दिएको थाहा पाएपछि तत्कालै बेनी अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।

उनीहरुले अस्पताल, जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकाको कार्यालयमा उजुरी दिएका छन् । खड्का हाल सात महिनाकी गर्भवती छिन् । स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण आमा र बच्चाको स्वास्थ्य जोखिममा परेको पीडितको गुनासो छ ।

आइरनको कमीले आमा र बच्चाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै छानबिन गरी लापरबाही गर्ने कर्मचारीलाई कारबाही र गर्भबती महिलाको स्वास्थ्यको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् ।

अस्पतालका प्रमुख डा. रोशन न्यौपानेले औषधि दिँदा कमजोरी भएको स्वीकार गर्दै बेनी र पोखराको अस्पतालमा भिडियो एक्सरे गर्दा आमा र बच्चाको स्वास्थ्यमा भने असर नगरेको देखिएको बताए ।

चेप्टेजुका परेको अवस्थामा गर्भवतीलाई समेत ९० दिनसम्म अलबेण्डाजोल खुवाउनुपर्ने तर कुँवरको स्वास्थ्य परीक्षण रिपोर्टमा जुका परेको नदेखिएको उनको भनाइ छ । बेनपाका उपप्रमुख सञ्जु बरुवाल, बेनपा–५ का वडाध्यक्ष लक्ष्मण बानियाँ र अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीको रोहबरमा सोमबार डा।न्यौपाने र पीडित परिवारबीच विभिन्न बुँदामा सहमति भएको छ ।

लापरबाही गर्ने कर्मचारीमाथि छानबिन गरी विभागीय कारबाही गर्ने, गर्भवतीको नियमित स्वास्थ्य परीक्षण र सहज रुपमा सुत्केरी हुने व्यवस्था मिलाउने सहमति भएको अस्पताल विकास समितिका अध्यक्ष रेग्मीले बताए ।

अध्यक्ष रेग्मीका अनुसार छानबिनका क्रममा लापरबाही गरेको भेटिएकाले सो दिन औषधि वितरण कक्षमा रहेकी कर्मचारी राधिका आचार्यलाई विभागीय कारबाही प्रक्रिया अघि बढाइको छ ।

पछिल्लो समय बेनी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी नभेटिने, प्राविधिक शिक्षालयबाट अभ्यासका लागि आएका सिकारुका भर पर्नुपर्ने, गलत औषधि दिने, घाउको टाँका लगाउँदा कपास भित्रै छोड्ने, शव परीक्षणमा ढिलासुस्ती गर्नेलगायत गुनासा आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *