शहिदको पाण्डूलीपि मदन पुस्तकालयमा

धरान, फागुन १४ । शहिद लक्ष्मण उपाध्यायले शहादत प्राप्त गर्नुअघि तेह्रथुम जिल्ला कारागारमा लेखेको हस्तलिखित पाण्डूलिपि मदन पुरस्कार पुस्तकालय लाई हस्तान्तरण गरिएकाे छ ।

तेह्रथुम कारागारमा रहँदा २०२९ माघ २ गते तयार गरिएको उक्त दुई पृष्टको पाण्डूलिपि ‘प्रजातन्त्र एक आदर्श’ शिर्षकको लेख हो । लेखमा उनले तत्कालिन राष्ट्रिय, अन्तिर्रा्ष्ट्रिय  प्रजातान्त्रिक आन्दोलनका विश्लेषण गरेका छन् ।

तत्कालिन राज्यद्वारा हत्या गरिएको शहिदको लेख तत्कालिन अवस्थामा प्रकाशित गर्न नसकेता पनि हस्तलिखित पाण्डूलिपि सुरक्षीत राखेका साहित्यकार गिरिराज आचार्यले सोमवार मदन पुरस्कार पुस्तकालयका अनुसन्धाता दीपक अर्याल लाई हस्तान्तरण गरेका हुन् ।

आचार्यले त्यस बेला ‘झलक’ साहित्यिक सामयीक संकलन प्रकाशित गर्दथे । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासका एक शहिदको हस्तलिखित पाण्डूलिपिले महत्व राख्ने सम्झेर आफुले सुरक्षित राखेको उनले बताए ।

अनुसन्धाता अर्यालका अनुसार,– मदन पुरस्कार पुस्तकालयले पुराना हस्तलिखित दस्तावेजहरुका साथै इतिहासमा उल्लेखित व्यक्तिहरका पाण्डुलिपिहरु संग्रह गरी सुरक्षित गर्ने र हाल डिजिटलाईज गर्ने कार्य गर्दै आएको छ ।

पुस्तकालयमा डिजिटलाईज गर्नुपर्ने वर्गीकरण रहेका पुराना हस्तलिखित पाण्डूलिपिको संख्या १ लाख २० हजार पुगेका छन् । त्यस मध्ये आधा संख्याको डिजिटल प्रति तयार गरिसकिएको छ । यसैगरी १६ हजार पर्चा पम्प्लेट, ५ हजार ६ सय पत्रपत्रिका र ४० हजार पुस्तकको डिजिटल प्रति तयार गरिने कार्य रहेको छ । ५० हजार तस्विरको डिजिटल भने तयार भैसकेको उनले बताए ।

पुस्तकालयमा प्राप्त नभएका पछिल्ला समयका प्रकाशित सामाग्री, पुराना हस्तालिखित दस्तावेजहरुको खोजिमा अनुसन्धाता अर्याल र राजिब सिंहको टोली पुर्वका जिल्लाहरु स्थित पुस्तकालय तथा संग्रह कर्ताहरु सँग सम्पर्क गर्न आएका हुन् ।यसै क्रममा शहिद लक्ष्मण उपाध्यायको हस्तालिखित पाण्डूलिपि उनीहरुलाई हस्तान्तरण गरिएको हो ।

पञ्चायती व्यवस्थाका विरुद्ध नेपाली कांग्रेसले शुरु गरेको शसस्त्र संघर्षको क्रममा २०३१ सालमा भएको ‘ओखलढुंगा काण्ड’मा शहादत प्राप्त गर्ने शहिदहरु मध्ये लक्ष्मण उपाध्याय एक हुन् ।

नेविसंघको विद्यार्थी आन्दोलनमा कृयाशिल उनलाई २०२८ सालमा महेन्द्र मोरङ क्याम्पसबाट प्रहरीले पक्राउ गरेको थियो । तत्काल तेह्रथुम कारागार पुर्याइएको उनलाई स्वास्थ्योपचारका लागि २०३० सालमा विराटनगर कारगार सरुवा गरिएको थियो । उपचारको क्रममा कोशी अञ्चल अस्पताल ल्याउने / लैजाने गर्दा उनी भाग्न सफल भएका थिए । नेपाली कांग्रेस सुनसरी जिल्लाका संस्थापक सचिव समेत रहेका आचार्यका अनुसार जेलबाट भागेर उनी भारतमा निर्वासीत नेपाली कांग्रेसका तत्कालिन महामन्त्री गिरिजा प्रसाद कोइरालको सम्पर्कमा पुगेका थिए ।

शहिद लक्ष्मण सहितको सहिभागीतामा पार्टीले निर्वासन बाटै ओखलढुंगा शसस्त्र विद्रोहको योजना बनाएको थियो । उक्त विद्रोहको सैनिक नेतृत्व कप्तान यज्ञबहादुर थापाले गरेका थिए ।

राजनीतिक कमिशार लक्ष्मण उपाध्यय थिए । विद्रोहको योजनाको सूचना चुहेकोले ओखलढुग हिँडेका लक्ष्मण सहित राम उपाध्याय, ढाकबहादुर राई शाही नेपाली सेनाको गोलीबाट जनकपुरको कमलखोचमा शहादत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *