फागुन २६ गते टुँडिखेलमा सलमानकाे धमाका, साथमा काे काे छन् नेपाली कलाकार ?

 नेपाली इभेन्ट कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा अभिनेता सलमान खान मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम ‘दबंग द टुर’ को लागि नेपाल आउँदैछन् । सलमान २४ वर्षपछि नेपालको यात्रामा आउन लागेका हुन् ।

खानसहित एक सय १० जनाको जम्बो टोली स्टेज कार्यक्रमका लागि यसै महिना आउँदैछन् । जसमा नायिका सोनाक्षी सिन्हा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावल लगायतका कम्तीमा पाँच दर्जन कलाकार रहेका छन् ।

सलमानको ‘द दबंग टुर नेपाल’ अन्तरगत काठमाडौंको टुँडिखेलमा आउँदो फागुन २६ मा कार्यक्रम आयोजना हुन लागेको हो । उक्त कार्यक्रममा सलमान करिब एक घन्टा स्टेजमा छाउने छन् ।

सलमानको टिममा सोनाक्षी सिन्हा, कृति सेनन, डेजी शाह, प्रभु देवा, मनिष पलसहितका कलाकारहरु रहनेछन् भने सलमानले आफ्ना फिल्मका चर्चित गीतहरुमा प्रस्तुति दिनेछन् । सो कार्यक्रममा नेपाली कलाकारले पनि साथ दिने भएका छन् । कार्यक्रममा नेपाली कलाकारको प्रस्तुतिमा दिनेश डिसीले उद्घोषण गर्नेछन्, भारतीय कलाकारको प्रस्तुतिमा मनिष पलले उद्घोषण गर्नेछन् । कार्यक्रमका लागि दिउँसो १२ बजेबाटै टुँडिखेलको गेट खुला हुने छ । सलमान भने साँझ ६ बजेपछि मात्रै देखा पर्नेछन् ।  राजेश पायल राई र विजय लामाले ट्रयाकमा गीत गाउनेछन् भने नायिका सुश्मा कार्की र माला लिम्बुले ट्रयाकमै डान्स गर्नेछन ।

यसअघि सलमानको शोमा नेपाली मुलधारका नायिकाहरुलाई कोरस नाच्नका लागि प्रस्ताव गरिएको थियो । तर स्वस्तिमा खड्का, प्रियंका कार्कीलगायतका नायिकाहरुले उक्त प्रस्तावलाई अपमानजनक भनेर खारेज गरिदिएका थिए ।

आयोजकका अनुसार भारतमा रहेको शोहेल खान प्रडक्सन र जेई इभेन्ट्ससँगको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा करिब ३० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको आयोजक ओडीसी इन्टरनेसनलका सिमान्त गुरुङले बताए । टिकटको मूल्य ३ हजारदेखि २० हजारसम्म तोकिएको छ ।

विनाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई न्यूनीकरण गर्दै विश्वसामू नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिने कार्यक्रमको मुख्य उद्धेश्य रहेको छ ।

कार्यक्रममा एलआरआई स्कुलका विद्यार्थीहरुले राष्ट्रिय गान प्रस्तुत गर्ने तय भएको छ । कार्यक्रमको सुरक्षा लगायतका विषयमा अहिले गृहकार्य भइरहेकाे गुरुङले जानकारी दिए ।

यो टुरका लागि सलमानको पारिवारिक कम्पनी सोहेल खान प्रोडक्सनलाई ओडीसीले ५ करोड रुपैयाँ दिने सम्झौता गरेको छ । नेपाली कलाकारको पारिश्रमिक भने ओडीसीले छुट्टै दिनेछ । शोको सम्पूर्ण खर्च १३ करोड रुपैयाँ अनुमान गरिएको छ ।

सलमान खान २५ फागुनमा नेपाल आउने कार्यक्रम छ । उनी २७ फागुनमा भारत फर्किनेछन् । उनलाई चन्द्रागिरी पुर्‍याउने र हेलिकोप्टर चार्टर्ड गरेर सगरमाथा देखाउने कार्यक्रम रहेको गुरुङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *