माओवादीमा प्रत्यक्ष जितेका अधिकांश आकांक्षी, को कतिपटक मन्त्री भए ?

काठमाडौं, फागुन १४ । माओवादीमा प्रत्यक्ष जितेका अधिकांश आकांक्षी
माओवादीमा प्रत्यक्ष निर्वाचन जितेका अधिकांश सांसद मन्त्री बन्न लबिङ गरिरहेका छन् । प्रत्यक्षतर्फ माओवादीले ३६ सिट जितेको थियो ।

माओवादीको भागमा सातवटा मन्त्रालय मात्रै परेका छन् । माओवादीले सबै प्रदेश, क्षेत्र, क्लस्टर र लिंगसमेत प्रतिनिधित्व हुने गरी मन्त्री बनाउने निर्णय गरिसकेको छ ।

गृहमा चारजनाको दाबी
माओवादीलाई गृहमन्त्री छान्न सकस परेको छ । रामबहादुर थापा पार्टीबाट सरकारको नेतृत्व गर्दै गृह मन्त्रालय सम्हाल्ने लबिङमा छन् भने पूर्वअर्थमन्त्री वर्षमान पुन, पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले पनि गृहमन्त्रीकै लागि पहल गरिरहेका छन् ।

थापालाई गृहमन्त्री बनाउन मोहन वैद्यबाट फुटेर आएका नेताहरूले दबाब दिने गरेका छन् । पुनले प्रचण्ड र प्रधानमन्त्री ओलीसँग गृहका लागि लबिङ गरिरहेका छन् ।

शर्मा र बस्नेत गृहमन्त्रीमा दोहोरिन चाहन्छन् । ऊर्जामन्त्री हुँदा राम्रो काम गरेको र वाम गठबन्धन हुँदा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले गृह पाउनुपर्ने माग शर्माको छ । बस्नेत भने गृह नपाए पनि अन्य प्रभावकारी मन्त्रालय पाए सरकारमा जाने मनस्थितिमा छन् ।

ऊर्जामा यादव र भुसालको दाबी 
ऊर्जा मन्त्रालयमा मातृका यादव र पम्फा भुसालले दाबी गरेका छन् । ऊर्जा पाउँदा केही काम गरेर देखाउन सकिने आँट दुवैको छ । यादव ऊर्जा मन्त्रालय नपाए सरकारमा नजाने मनस्थितिमा छन् ।

जो चर्चामा छन्
रामबहादुर थापाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी माओवादीमा छ ।

थापालाई उपप्रधानमन्त्रीसहित गृह वा अन्य कुनै मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा पठाउने गृहकार्य गरिएको छ ।

थापाबाहेक जनार्दन शर्मा, वर्षमान पुन, फम्फा भुसाल, मातृका यादव, लेखराज भट्ट, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेल, हितबहादुर तामाङ, अमनलाल मोदी, विना मगर, जयपुरी घर्ती, अन्जना विसंखेलगायत मन्त्रीको चर्चामा छन् ।

को कतिपटक मन्त्री भए ?

रामबहादुर थापा : दोस्रो इनिङ
थापा माओवादी केन्द्रमा तेस्रो वरीयताका नेता हुन् । उनले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको दाबी गरेका छन् ।

०६४ को पहिलो संविधानसभा निर्वाचनमा चितवनबाट निर्वाचित उनी प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्री थिए ।

तर, रुक्मांगत कटवाल प्रकरणमा सरकार ढलेपछि उनी पार्टीमा खासै सक्रिय देखिएनन् । मोहन वैद्यले पार्टी फुटाएपछि उनी वैद्यतिरै लागे ।

फुटको झन्डै चार वर्षपछि उनी एउटा समूहको नेतृत्व गरेर प्रचण्डसँग एकतामा आए । दोस्रोपटक मन्त्री बन्ने तयारीमा रहेका उनी सरकारमा पार्टीबाट नेतृत्व गर्न चाहन्छन् ।

वर्षमान पुन : ह्याट्रिकको दाउ
पुनले ओली सरकारमा गृह मन्त्रालयको दाबी गरिरहेका छन् । ०६४ को संविधानसभा निर्वाचनमा ललितपुरबाट विजयी उनी ०७४ को प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट सांसद बनेका हुन् ।

०६३ मा झलनाथ खनाल नेतृत्वको सरकारमा उनी दुई महिना शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए । ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका उनी त्यसयता मन्त्री बनेका छैनन् ।

जनार्दन शर्मा : चौथोपटक मन्त्री बन्ने सुर 
यसअघिका दुई सरकारमा लगातार मन्त्री बनेका शर्मा वर्तमान सरकारमा गृह मन्त्रालय हाँक्न चाहन्छन् ।

०७३ मा प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहँदा कमाएको ‘पपुलारिटी’ गृहमा आएर दोहो-याउने उनको इच्छा देखिन्छ ।

त्यसो त ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी गृहमन्त्री बनिसकेका छन् । तर, छोटो अवधिमा चाहेको काम गर्न नपाएको उनको बुझाइ छ ।

०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा पनि उनी शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए ।

देव गुरुङ : ह्याट्रिककै प्रयास
गुरुङले मन्त्री र सभामुख जे भए पनि हुने माग पार्टीभित्र राखेका छन् । सुरुमा मन्त्रीका लागि जोड गरे पनि माओवादीको भागमा सभामुख परेपछि उनको जोडबल सभामुखमै रहेको छ ।

तीनपटक सांसद, दुईपटक मन्त्री, एकपटक दलको उपनेता र एकपटक प्रमुख सचेतक बनिसकेका गुरुङले ०६४ मा मनाङ र अहिले लमजुङबाट प्रत्यक्ष चुनाव जितेका हुन् ।

०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा स्थानीय विकासमन्त्री बनेका गुरुङ ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा कानुनमन्त्री भएका थिए ।

पम्फा भुसाल : चौथो प्रयास
भुसाल तीनपटक मन्त्री बनिसकेकी छिन् । ०६३ को गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा महिला बालबालिका तथा समाजकल्याण, ०६५ को प्रचण्ड नेतृत्वको सरकारमा सामान्य प्रशासन र ०६८ मा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेकी हुन् । चौथोपटक मन्त्री बन्ने उनको दाउ छ ।

गिरिराजमणि पोखरेल : पाँचौँ भिडन्त
पोखरेल अघिल्ला दुई सरकारमा लगातार मन्त्री थिए । अहिलेसम्म उनी चारपटक मन्त्री बनिसकेका छन् ।

०६३ मा गिरिजा नेतृत्वको सरकार, ०६५ मा प्रचण्ड नेतृत्वको सरकार, ०७२ केपी ओली नेतृत्वको सरकार र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका उनी पाँचौँपटक मन्त्रीका लागि लबिङ गरिरहेका छन् ।

शक्तिबहादुर बस्नेत : ह्याट्रिक हान्न आतुर
०६७ मा झलनाथ खनाल नेतृत्वको सरकार र ०७२ मा केपी ओली नेतृत्वको सरकारमा बस्नेत मन्त्री बनिसकेका छन् ।

०७२ मा गृह मन्त्रालय उनको जिम्मामा थियो । मन्त्रीको दौडमा रहेका उनी गृहमा दोस्रो इनिङ गर्न चाहन्छन् ।

मातृका यादव : दोस्रो प्रयास
यादव एकपटक मात्रै मन्त्री बनेका छन् । उनको कार्यकाल निकै विवादास्पद रह्यो । ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा भूमिसुधारमन्त्री बनेका उनी ललितपुरका स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेर चर्चा र विवादमा आएका थिए ।

त्यसपछि पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका यादव ०६७ मा माओवादी र एकता केन्द्र मशालको एकतासँगै पार्टीबाट अलगिए । दुई वर्षअघि पुनः पुरानै घरमा फर्किएका यादव अहिले मन्त्री बन्ने लाइनमा छन् ।

अग्नि सापकोटा : ह्याट्रिक कुर्दै
दुईपटक मन्त्री बनिसकेका सापकोटा पनि ह्याट्रिकको दाउमा छन् । ०६७ मा खनाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चार र ०७२ मा ओली नेतृत्वको सरकारमा वन तथा भू–संरक्षण बनेका थिए ।

हरिबोल गजुरेल : दोस्रो कसरत 
मन्त्रीका अर्का दाबेदार गजुरेल एकपटक मात्र मन्त्री बनेका छन् । ०७२ मा ओली नेतृत्वको सरकारमा कृषि विकासमन्त्री थिए ।

०६५ को प्रचण्ड नेतृत्वको सरकारमा भूमिसुधार आयोगका अध्यक्ष बनेका गजुरेल अब दोस्रोपटक मन्त्री बन्ने दाउमा छन् ।

देवेन्द्र पौडेल : पहिलो 
पौडेल पहिलोपटक सांसद बनेका नेता हुन् । उनी अहिलेसम्म मन्त्री बनेका छैनन् । उनी ०६८ को बाबुराम भट्टराई नेतृत्वको सरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार थिए ।

जयपुरी घर्तीमगर
तेस्रोपटक सांसद बनेकी घर्ती मन्त्रीको दाबेदार हुन् । यसअघि अन्तरिम व्यवस्थापिका–संसद् ०६४ मा रोल्पाबाट सभासद् बनेकी घर्ती समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।

उनी झलनाथ खनालको सरकार पुनर्गठनको क्रममा छोटो समय महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनेकी थिइन् ।

माओवादी विभाजनको क्रममा वैद्य समूहमा लागेकी घर्ती केही समय स्वतन्त्र हुँदै माओवादी एकता प्रक्रियामा सामेल बनेकी थिइन् । उनी जनयुद्धमा श्रीमान् गुमाउने माओवादीकी उच्च तहकी नेतृ हुन् ।

अञ्जना विसंखे
विसंखे पहिलोपटक संसद्मा पुगेकी हुन् । दलित समुदायबाट आएकी विसंखे पहिलोपटक मन्त्री बन्ने दाउमा छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *