देवी नेपालको “माटो र मुटु” मा आस्थाको उज्यालो

देवी नेपाल युवा पुस्ताका सशक्त हस्ताक्षर हुन् । उनका श्रद्धाञ्जली (२०५७) खण्डकाव्य, छन्द पराग (२०६१) छन्दको लक्षण शास्त्र, त्रिशतक(२०५७) मुक्तकाव्य, तितामिठा कुरा (२०६३) नीति सङ्ग्रह, नेपाली कविता काव्य(२०६३) समालोचना, साहित्य सन्ध्या र पुरस्कृत प्रतिभाहरु(२०६४) परिचयात्मका वर्णन, कुखुराको बिहे(२०६४) बालकाव्य, गजल कसरी लेख्ने ?(२०६६ं गजलका सैद्धान्तिक कृति तथा माटो र मुटु(२०६७) कविता सङ्ग्रह प्रकाशित छन् ।

छन्दको परिक्षण दिँदै देश विदेश चहार्ने यी प्रतिभा विभिन्न साहित्यिक संघ संस्थासँग आवद्ध छन् । प्रगतिवादी चिन्तन र कलात्मक सौन्दर्यले युक्त यिनका सिर्जना पाठकहरुबाट विशेष प्रशंसित छन् ।

देवी नेपाल माटो र मेटुसँग एकाकार छन् । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि को भावना उनका कविताका पङ्क्तिमा छताछुल्ल छ । उनको मुटुभित्र साहित्यिक सद्भाव व्यक्त छ । अत : उनका कवितामा हार्दिकताको महानदी सुसाएको सुन्न सकिन्छ । यसैमा गाँसिएको छ उनको आस्था अर्थात विचार । आफ्नो आस्थाप्रति उनको अटल विश्वास छ , त्यसप्रति उनको प्रतिबद्धता यसरी प्रकट भएको छ –

आस्था हो मनको अमूल्य गहना आस्था कलाको धन
आस्थाका भरमा रहन्छ धरती आस्था स्वयं जीवन
आस्था साँच्न सके सधैँ हृदयको बन्ने छ त्यो गौरव
आस्था बाँच्न सके छ तुच्छ दुनियाँ संसारको वैभव
(नेपाल, २०६७ : १७)

आस्था ढुङ्गामुढाले छेके पनि दुबो मौलाएझैँ मौलाइ रहने, खोलो झैँ विघ्नबाधा पन्छाउँदै बगि रहने, चन्द्रसूर्य झैँ प्रकाशमान भइ रहने हुँदा कुनै पनि मुढे बलले यसलाई मार्न नसक्ने दृढता उनले अर्को जन अठोट शीर्षकको एक कवितामा व्यक्त गरेका छन् । असल विचारको उनको यही आस्था मधुर लय र भाषासँग गाँसिँदा उनका कविता पढूँ पढूँ लाग्ने भए, सुन्दर भए र उत्तम भए । वास्तवमा आस्थाविनाको मान्छे बबुरो हुन्छ, न त ऊ आफ्नो लक्ष्य पुरा गर्न सक्तछ न त समाज र राष्ट्रलाई केही दिन सक्तछ । उसलाई लोकले दिएको नाउँ सुहाउँछ, देख्नाको डाल खानाको काल । आस्थाका अभावमा जस्तोसुकै फुलबुट्टा भरिएको सिर्जना पनि पलाँसको फुल सरह हुन जान्छ, जिउमा लागेको फोक्से मासुको महत्व नभएझैँ त्यो अर्थहीन हुन जान्छ । त्यसैले आस्थाबाट पलायन भएका कतिपय सर्जकहरुमा समय क्रममा पश्चाताप बोध गर्ने स्थिति आउनु अनौठो कुरा होइन । बधाई छ माटो र मुटु का कविलाई जसले नपछुताउने बाटो रोजेका छन् र असङ्ख्य मान्छेहरुको मनको कुरालाई वाणी प्रदान गरेका छन् ।

शासकका अर्थशास्त्र र जेलनेल आस्थाका अगाडि केहि होइनन् । त्यसैले आफ्नो विचारप्रति आस्थावान कवि नेपालले देखे– राजतन्त्रले नेपाली समाजलाई लामो समयदेखि टाउको उठाउन दिएको छैन, त्यसलाई जनताको आक्रोशले अवश्यमेव भस्म पार्ने छ अनि आफूमाथि जेजस्तो सङ्कट आए पनि बेहोर्ने आँटका साथ गणतन्त्रका निम्ति कविताका भाषा बोले –

एउटै हो गणतन्त्र मन्त्र सबको आस्था छ आक्रोशमा
राजा शब्द रहन्न हेर अब ता यी शब्दका कोशमा
(नेपाल, २०६७ : ४५)

युगको आवाज चारैतिर घन्केपछि मुलुकमा गणतन्त्र आयो तर त्यसले अपेक्षित गति लिन सकेन । जन समुदाय खासै लाभान्वित हुन नसकेको र गणतन्त्र अलमलिएको देखेपछि यसका कारणहरुको खोजीमा पनि कवि नेपाल लागेको पाइन्छ । उनले यस स्थितिबाट मुक्त हुनका लागि बचेखुचेका रजौटाहरुका विरुद्ध हुङ्कार गर्दै मनको दासत्व फाल्न जन समुदायलाई यी शब्दमा आह्वान गरे –

कालो रात हटेर मनको दासत्व फालौँ अब
राजा मात्र हटेर हुन्न जगमा बाँच्छन् रजौटा जब
काँडा मात्र झरेर तुच्छ सिउँडी जाई कहाँ हुन्छ र ?
यस्तै चाल रहे त आखिर नयाँ नेपाल यो बन्छ र ?
(नेपाल, २०६७ : २६)

अन्याय, असमानता, दमन, शोषण, अवहेलना आदिले पीडित असङ्ख्य मान्छेहरुको दासताको जन्जिर छिनाल्ने अभियानमा उनको आगो प्रज्वलित रह्यो । त्यस्ता मान्छेहरुको शान्तिलाई उनले आमन्त्रण गर्न चाहे तर स्थिति अर्कै दिशातिर मोडिएको पनि उनले देख्नुपर्यो । आफ्नै वर्गबन्धुमाथि आततायी आतङ्क व्याप्त भएपछि उनीभित्रको कवि मुर्मुरियो र तिनका कुकर्मलाई पनि उदाङ्गो पार्दै न्याय बोल्न थाल्यो । हत्या, अपहरण, बलात्कार आदिले राइँदाइँ मच्चाइ रहको र त्रस्त अवस्थामा मान्छेहरुको अत्याचार विरोधी भावना गुम्सि रहेका बेलामा उनले जन आवाजलाई अभिव्यक्ति दिँदै भने –

पूजा गर्ने ललित करले बाबुका कण्ठ रेट्ता
आमाको त्यो अमर तनका मासुले भोक मेट्ता
बैनीलाई क?ण सिउँदो सुम्पिँदै यो जुनीमा
जित्छौ कस्तो समर ममता मासिने आँगनीमा
(नेपाल, २०६७ : ५३)

नेपाली धर्तीमा पुत्ताएको बारुदको धुवाँ र यत्रतत्र बगेको मान्छेको रगत देखेर कवि अत्यन्त संवेदनशील बनेका छन् । निडर वन परेवा, फिछ्र्यौ कि चेली घर, कविता लेख्न सक्दिनँ, भन, देश रोएको बेला जस्ता कवितामा उनको अन्तहृदयको आह र एय्या व्यक्त भएको छ । शान्तिले निदाउन पाउनु पर्ने बस्तीमा उत्पन्न द्वन्द्व र अशान्ति उनका निम्ति असह्य बनेको छ । त्यसको यथार्थ चित्रण उनका यी पङ्क्तिमा देख्न सकिन्छ –

लाली गुराँस फुल्दैन मान्छेको खुन फुल्दछ
श्रीखण्ड वनमा छैन बमको गन्ध डुल्दछ
यौटा छोरो म¥यो अस्ति आज अर्को तयार छ
श्रीमती भै बलात्कार छोरी खोज्ने हतार छ ।
(नेपाल, २०६७ : ५१)

मातृभूमिको अखण्डता र सार्वभौमतामा केही अनिष्ट हुन्छ भनी माटो र मुटु का कवि निकै पिरोलिएका छन् । त्यसैले यहाँका भूमि, जीवजन्तु, पर्वत, नदी, साँस्कृतिक सम्पदा आदिको गौरव गान सहित तिनको संरक्षण र सुरक्षाप्रति उनले खबरदारी गरेका छन् । उनी मुलुकले विखण्डनको पीडा भोग्नु पर्छ कि भनेर सशङ्कित पनि छन् । उनको राष्ट्रप्रेमी भावना कविता बनेर प्रवाहित छ –

हाम्रो पर्वत अग्निका नजिकको नौनी बनी गल्छ कि ?
लाखौँ प्वाल परी चुहेर सकिने पैनी बनी ढल्छ कि ?
हत्केलाबिच चुर्ण भै हुँडलिने खैनी कतै हुन्छ कि ?
ती वेश्यालय पुग्न बाध्य बिचरी बैनी बनी रुन्छ कि ?
(नेपाल, २०६७ : ६६)

काँगडा, टिस्टा, सुस्ता, केचना, लिम्पिया, कोसी, लुम्बिनीसँग सम्बन्धित एक एक घटनाको लेखा उनले राखेका छन् । हामी र हाम्रो दृष्टि लुटिँदा पनि हामीमा चिन्ता छाउनुको साटो हामी मस्त रहेकामा कविले आफ्नो मलामी आफैँ बन्न कात्रो ओढेका मान्छेको संज्ञा दिन पुगेका छन् । देशका सीमास्तम्भहरु दिनदिनै ढल्नु पराजयको सङ्केत हो भन्दै हामीभित्र स्वाभिमान जगाउन उनले विशेष प्रयत्न गरेका छन् । उनी चाहन्छन् – नेपालको स्वाभिमानमा कतै आँच नआओस् !

देवी नेपालका कवितामा हामीलाई मन पर्ने अरु पनि धेरै कुरा छन् जहाँ जातीय, लिङ्गीय र वर्गीय विभेद हटाउने आकाङ्क्षा छ । जहाँ आमा, गुरु, राजनेता, सहिद र साहित्यकारप्रति श्रद्धा अर्पित छ । छुत र अछुत, महिला र पुरुष, हुने र नहुनेका बिचमा तगारो तेस्र्याएर विभाजनका रेखा कोर्ने समाज उनलाई पटक्कै मन परेको छैन । अनि त उनी यस विभाजनकारी समाजको खराबी बारे कवितामा सबैको ध्यानाकर्षण गर्छन् –

मान्छे एउटै रगत पसिना हुन्छ एउटै सबैको
कल्ले ल्यायो छुत अछुतको घीन लाग्दो प्रथा यो !
(नेपाल, २०६७ : ३३)

अग्लो होचो किन छ दुनियाँ भन् अटेरी समाज !
हामी बढ्छौँ विजय पथमा फोर्न सक्छौँ पहाड ।
(नेपाल, २०६७ : ३४)

मदन भण्डारी जस्ता राजनेता तथा देवकोटा, भानु, मोती र ऋषिराम न्यौपाने जस्ता श्रष्टाको उनले स्मरण गरेका छन् । यति मात्र नभएर साहित्य सन्ध्याद्वारा सम्मानित विभिन्न श्रष्टालाई एउटै कविता हारमा सजाएर उनीहरुका विशेषतामा प्रकाश पार्ने काम पनि उनले गरेका छन् । यी विभिन्न महानुभावहरुको सम्झना गर्ने क्रममा पनि मुलुकको वर्तमान अवस्थालाई त्यसमा सम्बद्ध गर्न सक्नुमा उनको खुबी झल्किन्छ । उदाहरणका रुपमा तलका पङ्क्तिहरुलाई हेर्न सकिन्छ –

त्यस्तै छन् नि मुना विलाप घरमा उस्तै छ ऐले पनि
ल्हासा हैन कतारमा मदन छन् फर्केन गोरे पनि
ठालू सि जिउँदै छ त्रस्त मनको बाँच्छिन् यहाँ कुञ्जिनी
तिम्रा सुन्दर सिर्जना सडकमा बस्छन् भिखारी बनी ।
(नेपाल, २०६७ : ८५)

राष्ट्रमा आएको नवीन परिवर्तन पश्चात केही होला भन्ने आशा साँचेका देवी स्वयं नेताले त्यागको बाटो त्यागेर भोगको बाटो अँगालेकोमा चिन्तित छन् । परिवर्तनपछि पनि राष्ट्र र जनता सङ्कट ग्रस्त बनेकोमा असन्तुष्टिले उनको मुटु कुटुकुटु खाएको छ । यस स्थितिमा पनि शिशिरको जाडो सधैँ नरहने उद्घोष गरेर समाजमा आशाको सञ्चार गर्न भने उनी पछि परेका छैनन् ।

माटो र मुटु का कविले आफ्नो कविता यात्रामा जुन उकालो पार गरेका छन्, त्यो अरु कैयनका लागि कठिन हुन सक्छ । छन्दलाई कजाउँदै र चिन्तनलाई भावले गाल्दै सरल रुपमा सम्प्रेषण गर्नु सजिलो कुरा होइन । यसमा कवि सफल देखिन्छन् । अन्तर्वस्तु र रुपको सुसंयोजन, विचार र भावको राम्रो तालमेल, नाना शास्त्रीय छन्दहरुको कर्णप्रिय गुुञ्जन, प्रतीक, विम्ब, अङ्कारको सम्यक प्रयोग, तत्सम, तद्भव र अनुकराणत्मक शब्दको सुबोध र सन्तुलित तारताम्य आदिले गर्दा माटो र मुटु का कवि सजिलैसित पाठकहरु भित्र प्रवेश गर्न सक्ने कुरा सुनिश्चित छ । यहाँका कविताहरु जति फैलिए, त्यति समाजले उर्जा र गति प्राप्त गर्ने कुरामा कुनै सन्देह छैन ।

(समालोचना)
डा.जीवेन्द्र देव गिरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *