एमाले–माओवादी एकीकरणपछिको संगठन संघीय ढाँचामा

काठमाडौं, फागुन १३ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बन्न लागेको नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचना संघीय ढाँचामा हुने भएको छ ।

संघीयतामा मुलुकले अभ्यास गरेका प्रशासनिक संरचनाहरुलाई आधार मानेर ५ तहका कार्यकारी कमिटीहरु निर्माण गर्ने गरी विधान मस्यौदा कार्यदलले छलफल अघि बढाएको छ । केन्द्र, प्रदेश, जिल्ला, स्थानीय तह र वडास्तरीय पार्टी कमिटी बन्ने सैद्धान्तिक विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

केन्द्रमा सबैभन्दा उच्चस्तरमा पदाधिकारी राख्ने कि स्थायी कमिटी मात्र राख्ने भन्ने टुंगो लागेको छैन । त्यस्तै पोलिटब्युरो र केन्द्रीय कमिटी केन्द्रमा रहनेछन् । प्रदेशमा प्रदेश कमिटी र सचिवालय रहनेछ भने जिल्ला, पालिका र वडामा पनि सोही अनुसारका कमिटी बन्नेछन् ।

स्थानीय तहअन्तर्गत महानगर, उपमहानगर, नगर र गाउँपालिका कमिटीहरुको आकार तय गर्ने जिम्मेवारी पनि यहि कार्यदललाई छ । महानगरका वडा र गाउँपालिकाका वडा कमिटीहरुको आकार र बरियताको निर्धारण पनि कार्यदलले नै गर्नेछ ।

फागुन २५ भित्र कार्यदलले विधान मस्यौदा र संगठनात्मक स्वरुपबारे एकसरो काम सक्ने गरी कार्यतालिका बनाउन लागिएको एमाले सचिव गोकर्ण विष्टले बताए । यसका लागि अर्को बैठक फागुन १५ गते एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा तय भएको छ ।

कार्यदलमा एमालेबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्टसहित सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुवीर महासेठ सदस्य छन् । माओवादीबाट संयोजक बादलसहित गिरिराजमणि पोखरेल, वर्षमान पुन, मात्रिका यादव सदस्य छन् ।

दुई पार्टीवीच राजनीतिक दस्ताजेज निर्माण गर्ने कार्यदलको संयोजक माधव नेपाल छन् भने भीम रावल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ र रघुजी पन्त एमाले बाट छन् । माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *