नयाँ शक्तिले तय गर्यो ‘भिजन ५ र मिसन ५’

काठमाडौं, फागुन १३ । नयाँ शक्ति पार्टीले पार्टीको कार्यदिशा ‘भिजन ५ र मिसन ५’ तय गर्दै पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ ।
संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा संघीय परिषद्को लुम्बिनीमा बसेको चौथो विस्तारित बैठकले पार्टीको महाधिवेशन एक वर्ष भित्र गर्ने र महाधिबेशनबाट नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।

लुम्बिनीमा फागुन ९ गतेदेखि १२ गते सम्म विस्तारित बैठक आयोजना गरिएको थियो ।

बैठकले पार्टीलाई सांगठनिकरुपमा पुनर्गठन गर्ने गरी प्रस्तावहरु अघि सारेको छ । जसमा बैठकले ‘भिजन ५ र मिसन ५’ नामक सांगठनिक पुनर्गठन प्रस्ताव अनुमोदन गरेको छ । जस अन्तर्गत वैचारिक–राजनीतिक मार्गदर्शनसँगै संगठनात्मक शक्ति र संसदमा उपस्थिति दुवै हिसाबले शक्तिशाली तेस्रो ध्रुव बनाइने पार्टीले बताएको छ ।

त्यस्तै पार्टीले संगठनात्मक संरचनालाई वैज्ञानिकपन दिन कार्यकारी विज्ञ र संरक्षक परिषद् गरी समतलीय संरचना अनुमोदन गरेको छ । जसमा कार्यकारी समितिलाई दुई अंक अर्थात् ९९ मा कायम गरिएको छ । हाललाई ९९ जनाको केन्द्रीय कार्यकारी समिति गठन गरिएको छ । त्यस्तै महाधिवेशन आयोजक समितिको अभिन्न अंगका रुपमा केन्द्रीय कार्यकारी समितिसहित ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरिएको छ ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन एक वर्षभित्र गर्ने निर्णय गरिएको छ । आसन्न प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीको नाम परिवर्तन गर्ने निर्णय भएको छ र सोको लागि छलफलबाट उपयुक्त नाम तय गरिने पार्टीले जनाएको छ ।

बैठकले पार्टी समितिका सदस्यहरुको योग्यता र अनुभव पनि किटान गरेको छ ।

पार्टीका संयोजक डा। बाबुराम भट्टराईलाई संघीय परिषद्को चौथो विस्तारित बैठकद्वारा सर्वसम्मतिले पुनः संयोजक पदमा चयन गरिएको छ ।

महाधिवेशन आयोजक समितिको प्रथम बैठकले प्रदेश इन्चार्जहरु निश्चित गरेको छ । जस अन्तर्गत प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगा नारायण श्रेष्ठ, ४ मा रुद्र बहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, ७ मा कृष्ण कुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमीलाई इन्चार्ज तोकिएको छ । त्यसैगरी केन्द्रीय कार्यालय संयोजकको रुपमा राजु नेपाललाई जिम्मेवारी दिइएको छ र प्रवक्तामा प्रशान्त सिंह कायम रहनुभएको छ ।

पार्टीको दस्तावेज परिमार्जन गर्नका लागि संयोजक डा। बाबुराम भट्टराईको संयोजकत्वमा देवी प्रसाद ओझा, डम्बर खतिवडा, गंगा नारायण श्रेष्ठ र कल्पना धमला रहेको ५ सदस्यीय समिति गठन गरिएको छ ।

बैठकले विभिन्न प्रस्तावहरु पनि कर्तलध्वनीका साथ पारित गरेको पार्टीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । पारित प्रस्तावका मुख्य अंशहरु यस प्रकार रहेका छन् :

(क) विश्वका धेरै मुलुकहरुमा र नेपालमा पनि पहिले क्रान्ति गरेका पार्टी र नेतृत्व कालान्तरमा गैरक्रान्तिकारी हुँदै गएका दृष्टान्त रहेको स्थितिमा हामीले समाजको गत्यावरोध समाधान र रुपान्तरणको माध्यमका रुपमा राजनीतिलाई लिनुपर्छ ।

(ख) केवल निजी स्वार्थका लागि सत्ता र राजनीतिलाई प्रयोग गर्ने दूषित परम्पराको अन्त्य गर्दै देशको सामाजिक, आर्थिक रुपान्तरण गर्ने साधनको रुपमा राजनीतिलाई ग्रहण गर्नुपर्दछ ।

(ग) देशको विकासका लागि समृद्धिको स्पष्ट मार्गचित्र हुनुपर्दछ । हामीले चाहेको समृद्धिका तत्वहरुमा –प्रचुर उत्पादन, न्यायपूर्ण वितरण, दिगोपन र आत्मिक सुख गरी चार प्रमुख तत्व रहेका छन् ।

(घ) नेपाल जस्तो विकासशील मुलुकका लागि दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नु अपरिहार्य रहेको र त्यसले देशलाई चरणबद्ध रुपमा २५ वर्षमा समुन्नत बनाउन सक्नेछ । राजनीतिक साधनद्वारा सत्ता प्राप्त गरी समृद्धिलाई सुनिश्चित गर्ने लक्ष्य नयाँ शक्तिले निर्धारण गरेको छ ।

(ङ) समावेशी समानुपातिक र सहभागितामूलक लोकतन्त्र नै नयाँ शक्तिले प्रस्तुत गरेको समुन्नत समाजवादको आधार हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *