गजल

 

 

 

उही निर्दिष्ट सीमा सौम्य बानी मन परेन
नदीलाई नहरको जिन्दगानी मन परेन

ठुला मान्छेहरूको गन्धले निस्सासिएको
मलाई यो हजुरको राजधानी मन परेन

मुलायम रेसमी ओछ्यानमा सुत्ने भएछ
त्यसैले आज पिर्काको सिरानी मन परेन

यिनै दुर्गम दुःखी बस्तीहरू सिंडी बनायो
भयो शासक भन्यो खारा-सुखानी मन परेन

सबै स्वीकार दुनियादारले गर्दैछ हारी
र जोगीले भन्यो रे यो खरानी मन परेन

तँ बादल होस् भने केको खंडेरी हो गरामा
तँ जा भै गो तेरो यो बेइमानी मन परेन

कतै जंगल पसी खान्छु गिठा-भ्याकुर म भैगो
मलाई यो सहरको अन्न-पानी मन परेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *