यस्ता छन् आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय

 

काठमाडौं, फागुन ११ । अटेरी कर्मचारी : नागरिक

संघीयताको अभ्यास सुरु नहुँदै निजामति कर्मचारी सबैभन्दा ठुलो अवरोधका रुपमा देखिन थालेका छन् ।  उनीहरुलाई तोकिएको ठाउँमा पठाउन पटकपटक आदेश जारी गर्नुपर्ने अवस्था आएको छ ।  मुख्य सचिव लोदर्शक रेग्मीले समयसीमा तोकेर तिनलाई कार्यक्षेत्रमा पठाउन दिएको आदेशले समेत काम गर्न सकेको देखिएको छैन ।

तिलने राखेका एक तह बढुवा र अतिरिक्त भत्ताको माग सम्बोधन नगरी कार्यक्षेत्रमा जान अस्वीकार गर्दा सरकारलाई अप्ठ्यारो परेको देखिन्छ ।  कहिले अवकाशको आकर्षक प्याकेज ल्याउने, कहिले अतिरिक्त सुविधा दिने भनिए पनि समस्या ज्युँकात्युँ छ ।

वास्तवमा कर्मचारीतन्त्रभित्रका ट्रेड युनियन खारेजीको विकल्प छैन । निजामति कर्मचारीले आफुलाई कुनै कलकाराखामा काम गर्ने मजदुरका रुपम संघसंठनको अभ्यास गरिरहनु पर्दैन ।

प्रदूषण नियन्त्रणमा उदासीनता : कान्तिपुर 

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल लुम्बिनी प्रदूषित बन्दै जानु गम्भीर चिन्ताको विषय हो।

विश्वमै शान्ति क्षेत्रका रूपमा परिचित लुम्बिनीले प्रदूषणमा अति प्रदूषित भन्ने गरिएको काठमाडौं उपत्यकालाई समेत उछिनेको छ।

लुम्बिनीमा प्रदूषणको मात्रा बढ्नुको मुख्य कारण मापदण्ड मिचेर जथाभावी खोलिएका उद्योगधन्दा देखिन्छ, सीमापारिका उद्योग र बजारको प्रदूषण पनि हावाले त्यस क्षेत्रमा भित्र्याउने गरेको छ।

लुम्बिनी जसरी नै मुलुकका हरेक सहर प्रदूषित बन्दै गए पनिनियन्त्रणमा सरकारले प्रभावकारी कदम चालेको पाइँदैन। प्रदूषण नियन्त्रणका नाममा इन्धनबाट संकलित अर्बौं रकम त्यतिकै थन्किनुले समेत यो विषयप्रति सरकारको उदासीनता पुष्टि गर्छ।

उद्योगधन्दालगायत भौतिक संरचना निर्माण तथा सवारीसाधनका लागि बनाइएका मापदण्डलाई कडाइसाथ कार्यान्वयन गराइनुपर्छ।

प्रदूषण नियन्त्रणका लागि संकलन भएर थन्किएको रकमलाई पनि कार्यविधि बनाएर जतिसक्दो छिटो सदुपयोग गर्नुपर्छ।

चिकित्सक र समाजबीच द्वन्द्व : नयाँ पत्रिका 

डाक्टर र बिरामीबीचको सम्बन्धका अनेक रूप र पाटा हुन्छन् । कतिपय वेला बिरामी आफ्नो उपचार गर्ने डाक्टरलाई भगवान् भनिरहेका भेटिन्छन् ।

बिरामीको अवस्था सुध्रेर साधारण बनिसकेपछि आफ्नो चिकित्सकीय ज्ञान र श्रममाथि डाक्टरहरू गर्व गरिरहेका र बिरामीसँगै खुसी भइरहेका भेटिन्छन् ।

कतिपय गम्भीर बिरामीको उपचार गरेका डाक्टरले लामो समयसम्म पनि बिरामीलाई सम्झिरहन्छन् । भेट हुँदा दुवै पक्ष खुसी हुन्छन् ।

तर, पछिल्लो समय यस्ता केही घटना बारम्बार दोहोरिएका छन्, जहाँ बिरामी या अस्पतालमा आएपछि मृत्यु भएका बिरामीका आफन्त र डाक्टरबीच चर्को द्वन्द्व हुने गरेको छ । कहीँकहीँ त अस्पताल तोडफोडसमेत हुने गरेका छन् ।

कतै उपचारमा संलग्न डाक्टरलाई सीधै हातपात गरिएको छ । यतिवेला डोटीको जिल्ला अस्पतालका चिकित्सक र त्यहाँ उपचार गर्न जाने बिरामी तथा उनका आफन्तबीचको झगडाले हात हालाहालको स्थिति निम्तिएपछि अस्पताल नै खाली गरेर डाक्टरहरू काठमाडौं आएका छन् ।

अस्पतालमा कार्यरत चिकित्सकले आफू असुरक्षित भएको भन्दै जिल्ला छाड्नुपर्ने अवस्था संकटकाल या सशस्त्र द्वन्द्वका समयमा समेत आएको थिएन ।

यस्तो समस्या नेपालमा मात्र होइन, चीन र भारतजस्ता ठूला अर्थतन्त्र भएका देशमा पनि छ । चिकित्सकको सामाजिकीकरण र उपचार पद्धतिमा सरलता तथा सहज पहुँच यसको उपचार हुन सक्छ । स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायले यसतर्फ ध्यान दिऊन्।

स्वास्थ्य संस्थालाई विवादित नबनाऊ : नेपाल समाचारपत्र 

कहिले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु त कहिले डाक्टरको दुव्र्यवहार, अनि कहिले नक्कली डाक्टरको विषयलाई लिएर स्वास्थ्य संस्थाहरू विवादमा तानिने गरेका छन् ।

चिकित्सकबाट दुव्र्यवहार भएको अनि चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भनी स्वास्थ्य संस्थामा तोडफोड र चिकित्सकमाथि आक्रमणका घटना अधिक हुने गरेका छन् ।

यस्ता क्रियाकलापले बिरामीको उपचारमा झनै असहजता उत्पन्न हुने गरेको पछिल्लो घटनाले पनि पुष्टि गरेको छ ।

डोटी जिल्ला अस्पतालमा कार्यरत डा. जितेन्द्रकुमार सिंहमाथि केही दिनअघि भएको आक्रमणका कारण सो अस्पताल ठप्प रहेको छ ।

उपचार गराउन आएकी स्थानीय महिलासँग भएको सामान्य विवादलाई लिएर डा. सिंहलाई स्थानीय युवाले कुटपिट गरेका थिए ।

डा. सिंहको दाँत भाँचिनुका साथै टाउकोमा गम्भीर चोट लागेको छ  ।

कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीले सार्वजनिक मुद्दा दायर गरेका छन् ।

साथै सरकारी निकायबाट यस्ता घटनाको तुरुन्तै छानबिन गरी दोषीलाई कारबाही र निर्दोषीलाई उन्मुक्ति दिन ढिलाइ गर्नुहुँदैन ।

कुनै पनि बहानामा स्वास्थ्य संस्थालाई विवादित बनाइनुहुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *