गच्छदार रूदै पुगे अाफ्नाे पूरानाे थलाे

असाेज ३०, काठमाडाैं । आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा चहलपहल बाक्लो थियो । नेपाल लोकतान्त्रिक फोरम काँग्रेससँग एक हुने कार्यक्रम तय भए अनुरूप विजय गच्छदार बालुवाटार पुगेका थिए । एकता सभा ११ बजे हुने भनेर तय गरिएकाे थियाे तर कार्यक्रम केही ढिलाे सुरु भयाे ।

एकता सभामा प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री समेत रहेका गच्छदारले एकताको दस्ताबेज सार्वजनिक गरे । अनि दुवै नेताले हात मिलाए । त्यतिञ्जेल गच्छदार भावुक भइसकेका थिए । एक छिन पछि त उनका आँखामा आँसु टिलपिलाए । उनले आँसु थाम्न सकेनन् । काँग्रेसबाट राजनीति सुरु गरेका गच्छदार १० वर्ष अघि काँग्रेस छाडेर गएका थिए । आजको एकता सभामा उनी त्यही क्षण सम्झेर रुन पुगे भन्दा अतियुक्ती नहाेला ।

‘१० वर्ष म मधेसी जनताको आन्दोलनलाई साथ दिन गएको थिए,’ गच्छदारले भने, ‘त्यो दिन बालुवाटारमा गिरिजा र सुशील (कोइराला) दाजुहरु हुनुहुन्थ्यो, उहाँहरूले रोक्न खोज्दाखोज्दै पनि म गएको थिएँ, त्यति बेला पनि म भावुक भएको थिएँ ।’ उनले आफूलाई मधेसको गद्दार र काँग्रेसको पुच्छर भने पनि संविधान निर्माण र कार्यान्वयन गर्न सकेकोमा खुसी लागेको बताए । मैले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु मलाई विरोध गर्नेको परवाह छैन’, उनले भने ।

उनले राजनीतिमा भएको ध्रुविकरणपछि आफू लोकतान्त्रिक दलको पक्षमा रहेको बताए । ‘हाम्रो एकीकरणको कुरा धेरै अघिदेखि चलिरहेको थियो । कार्यकर्ताहरूले एकताको कुरा सुनेर उत्साहित भएको खबर पठाइरहेका छन्,’ गच्छदारले भने, ‘अब काँग्रेस र फोरमलाई एक बनाएर लाग्नुपर्छ ।’

एकता सभामा बोल्दै काँग्रेस नेता रामचन्द्र पौडेलले मुलुकमा कम्युनिस्टले ध्रुविकरण र फेरि अस्थिरता निम्त्याउन आँटे भनेर लोकतान्त्रिक शक्तिहरू जुरमुराउन थालेका र आजको एकता त्यसैको परिणाम भएको बताए । ‘काँग्रेस लोकतन्त्रको जरो मर्न नदिन प्रतिबद्ध छ,’ पौडेलले भने, ‘अब काँग्रेसमा कुनै भेदभाव हुने छैन हामी एक भएर जान्छौं ।’

एकता सभामा बोल्दै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी एकता गरेकोमा गच्छदारलाई धन्यवाद दिए । ‘विजय हाम्रा नेता हुनुभएको छ, अरू साथीहरू जस्तै उहाँ पनि काँग्रेसको नेता हो,’ देउवाले भने, ‘मलाई धेरै भन्नू छैन । उहाँले धेरै मेहनत गरेर एक बलियो पार्टी बनाउनु भएकाे छ । फोरमका अरू पनि साथीहरूलाई स्वागत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *