सरकारी कर्मचारी काम कम आराम बढी गर्छन : मन्त्री पण्डित

काठमाडौं, फागुन १० ।  जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेपालका कर्मचारीहरु काम कम गर्ने र आराम बढी खोज्ने प्रवृत्ती रहेको बताएका छन् ।

नेपालमा सार्वजनिक विदा बढी भएकोले कर्मचारीहरु अल्छी भएको मन्त्री पण्डितको ठहर छ ।

उनले आवश्यकता भन्दा धेरै बिदा हुँदा मुलुकको कार्यक्षमतामा नै कमी आएको बताए । मन्त्री पण्डितले भने–‘सरकारी बिदाले गर्दा नेपाल काम गर्नेभन्दा आराम गर्ने मुलुकका रूपमा चिनिन थालेको छ ।’

उनले थपे–‘आज म मन्त्री नियुक्त भएको आठ दिन भएको छ । तर, योबीचमा तीन दिन सरकारी बिदा पर्‍यो ।’ बिदाले गर्दा अन्य मन्त्रालय र विभागहरूसँग समन्वय गर्न नपाएको पण्डितले गुनासो गरेका छन् ।

नेपालीहरूसँग बिदा लिएर बस्ने समय नभएको भन्दै मन्त्री पण्डितले विश्व बजारसँग प्रतिष्पर्धा गर्न कमभन्दा कम बिदा दिएर सरकारी र निजी दुबै क्षेत्रले कार्यक्षमता बढाउनुपर्ने बताएका छन् । बिदा धेरै दिएर देश बन्न नसक्ने बताउँदै मन्त्री पण्डितले समग्र मुलुकको कार्यक्षमता बढाउन सरकारी बिदा कटौती गर्नुपर्ने धारणा समेत राखेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *