आगलागीबाट घर जलेर नष्ट, परिवार विस्थापित

पर्वत, फागुन १० । पर्वतको जलजला गाउँपालिका–७, धाइरिङ किराखोरमा भएको आगलागीबाट एक विपन्न परिवारको घर जलेर नष्ट भएको छ ।

स्थानीयवासी गम्बरबहादुर नेपालीको मंगलबार दिउँसो घर र गोठ जलेर सखाप भएको हो । पीडित नेपालीको परिवार अहिले छिमेकीको घरमा अश्रय लिएर बसेको छ । आगलागीबाट करिब रु ६ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका नेपाली परिवारलाई सहयोगको खाँचो रहेको स्थानीयवासी हरिप्रसाद आचार्यले बताउनुभयो ।

आगलागीबाट नेपालीको घर जलेर पूर्णरुपमा ध्वस्त हुनाका साथै खाद्यान्न, लत्ता कपडा र भाँडाकँुडा सबै जलेर नष्ट भएको आचार्यले बताउनुभयो ।

यसैबीच, पीडित परिवारलाई स्थानीयवासी खेमबहादुर केसीले रु २५ हजार बराबरको सामग्री सहयोग गर्नुभएको छ । धाइरिङ सल्यान घर भई हाल बेनीबजारको कालीपुलका व्यवसायी तथा समाजसेवामा सक्रिय केसीले आगलागीबाट पीडित बनेका नेपालीको परिवारलाई बुधबार दुई थान त्रिपाल, एक बण्डल जस्तापाता, दुई बोरा चामल, चाउचाउ, भूजा र पाँच पोका तोरीको तेल गरी करिब रु २५ हजार बराबरको सामग्री सहयोग गर्नुभएको हो ।

आगलागीको खबरले आफूलाई दुःखी तुल्याएको बताउँदै केसीले आर्थिक अवस्था कमजोर भएका नेपालीको परिवारको घाउमा मलम लगाउन सबैमा अनुरोध गर्नुभएको छ । पीडित नेपालीले आफूहरुको घर पुनःनिर्माण गर्ने कुनै उपाय र आयस्रोत नभएकाले आवश्यक सहयोग गरिदिन अपिल गरेका छन् ।  रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *