जनगायक जीवन शर्माद्धारा विद्यालयलाई २५ हजार सहयोग

गुल्मी, फागुन ९ । जनगायक जीवन शर्माले गुल्मीको एक विद्यालयलाई २५ हजार रुपैया सहयोग गरेका छन् ।

मुसिकोट नगरपालिका वडा नं ६ कुर्घाको त्रिभुवन माविको स्वर्ण महोत्सवको अवसरमा गीत सुनाउन गएका शर्माले विद्यालयलाई सो सहयोग गरेका हुन् । शर्माले विद्यालयलाई गुल्मी कै नमूना गराउन र व्यवसायिक शिक्षा सुरु गर्ने उद्धेश्य पूरा होस् भन्दै सहयोग हस्तान्तरण गरे । विद्यालयका शिक्षक निलम शर्माले कलाकार शर्माको कदमले स्थानीयलाई थप सहयोगको लागि प्रेरित गरेको बताए ।

‘गुणस्तरीय प्राविधिक शिक्षा, नमूना विद्यालय हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित विद्यालयले स्वर्ण महोत्सवको अवसरमा गरेको आर्थिक अभियानमा १ करोड ९५ लाख संकलन भएको विद्यालयले जनाएको छ ।

६ दिनसम्म चलेको त्रिभुवन माविको स्वर्ण महोत्सव समारोह मंगलबार सकिएको छ । महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले गरेकी थिइन् ।

वि.सं. २०२४ सालमा स्थापना भएको विद्यालय शैक्षिक सँगसँगै खेलकुद तथा अन्य विधामा समेत उत्कृष्ट विद्यालयको रुपमा प्रस्तुत हुँदै आएको छ ।

गायक शर्मालाई विद्यालयको तर्फबाट मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्मा लगायतले सम्मान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *