देशमा कम्युनिष्ट अधिनायकवाद शुरु भएको काँग्रेस भातृ संगठनहरुको दाबी

काठमाडौं, फागुन ९ । प्रतिपक्षी दल नेपाली काँग्रेसका भातृ संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारी संविधान विपरित सक्रिय भएको आरोप लगाएका छन् । उनीहरुले देशमा कम्युनिष्ट अधिनायकवाद शरु भइसकेको भन्दै राष्ट्रपति भण्डारीको पछिल्लो कदमविरुद्ध सडकसंघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।

नेपाल महिला संघका अध्यक्ष उमा रेग्मी, तेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल दलित संघका कार्यवाहक अध्यक्ष शम्भु हजारा पासवान, नेपाल ट्रेड यूनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल र नेपाल प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देलले बुधबार संयुक्त पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् ।

६ वटै भ्रातृ संगठनहरुले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिहरुको नाम राष्ट्रपति कार्यालयले स्वीकृत नगरे राजनीतिक र कानुनी लडाइँ लड्ने चेतावनी दिए ।

पत्रकार सम्मेलनमा महिला संघकी अध्यक्ष रेग्मीले संविधानविपरीत गएर राष्ट्रपति भण्डारीले पूर्ववर्ती सरकारको निर्णय खारेज गरेर सक्रिय भूमिकातर्फ उन्मुख भएको दावी गरिन् । उनले राष्ट्रपति कार्यालयले राष्ट्रियसभा सदस्य मनोनयनका लागि गरिएको निर्णय फिर्ता लिनुपर्ने माग गरिन् ।

‘‘सम्माननीय राष्ट्रपतिज्यू एक्टिभ भएर संविधान बाहिर जाँदै हुनुहुन्छ, उहाँले आफ्नो स्टेप फिर्ता लिनुपर्छ । अन्यथा हामी संविधानले दिएको हक–अधिकार प्राप्त गर्नका लागि संडक संघर्षमा जान्छौं,’’ उनले भनिन् । संविधानले निर्दिष्ट गरेअनुरुप राष्ट्रपति नचले त्यसलाई रोक्न कांग्रेसका भ्रातृ संगठनहरु जेसुकै गर्न पनि तयार रहेको चेतावनी उनले दिइन् ।

पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका अध्यक्ष महरले राष्ट्रपतिको पछिल्लो कदमले नेपालमा कम्युनिष्ट शासनको सुरुवात भइसकेको आभाष दिलाएको बताए । ‘‘हिजो निर्वाचनमा जाँदै गर्दा कांग्रेसले कम्युनिष्टहरुले चुनाव जिते मुलुकमा अधिनायकवाद आउँछ भन्दा जनता र मिडियाले पत्याएनन्,’’ उनले भने, ‘‘तर एमाले–माओवादीको सरकार गठन भएलगत्तै मुलुकमा अधिनायकवाद लाद्ने प्रयास राष्ट्रपतिबाट भएको छ ।’’

राष्ट्रपतिले जनतासँग माफी मागेर राष्ट्रियसभा सदस्य मनोनयनका लागि गरेको निर्णय सच्याउनुपर्ने माग गर्दै अध्यक्ष महरले निर्णय नसच्याइए हरेक किसिमका आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिए ।

तरुण दलका अध्यक्ष बस्नेतले चुनावअघि कांग्रेसले भनेझैं मुलुकमा कम्युनिष्ट पार्टीहरुले अधिनायकवादको झल्को दिइसकेको दावी गरे । ‘‘एमाले अध्यक्ष केपी ओली संसदीय अभ्यास विपरित प्रधानमन्त्री बन्नुभएको छ,’’ उनले भने, ‘‘सांसदको सपथ नलिएरै, संसदीय दलको नेता नचुनिएरै प्रधानमन्त्री हुने व्यवस्था कम्युनिष्ट शासनमा मात्रै हुन्छ ।’’

राष्ट्रपति भण्डारीको पछिल्लो कदम विरुद्ध कांग्रेसले कानुनी लडाइँ लड्ने र भ्रातृ संगठनहरुले सडक संघर्ष गर्ने अध्यक्ष बस्नेतको भनाइ थियो ।

देउवा नेतृत्वको सरकारले राष्ट्रयसभाका लागि प्रस्ताव गरेका तीन जनाको नाम हटाएर सरकारले गरेको सिफारिस राष्ट्रपति भण्डारीले पारितगरे पछि कांग्रेस र उसका भ्रातृ संगठनहरुले असन्तुष्टि जनाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *