मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

घडियाल गोहीको अस्तित्व संकटमा

नारायण ढुँगाना

रत्ननगर (चितवन), २३ असार । आहारा खाँदै नखाने, दुब्लाउने, अनि मर्ने । सरसर्ती हेर्दा निकुञ्जमा प्रजनन गराइएका घडियाल गोहीका बच्चाको मृत्युको लक्षण यस्तो देखिन्छ । हरेक वर्ष यस्तै रोगको लक्षणले बच्चा मर्दै आएका छन् ।
प्रजनन गराइएका गोहीको मृत्युदर कुनै कुनै वर्ष ५० प्रतिशतसम्म पुगेको चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रका प्रमुख तथा सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का बताउनुहुन्छ ।
खड्काले भन्नुभयो – “अरु बेला ३० प्रतिशतको हाराहारीमा गोहीका बच्चा मर्ने गरेका छन् । मुख्य गरी नखाने अनि दुब्लाएर मर्ने । यही मुख्य समस्या होे । रामपुरमा अनुसन्धान थालिएको छ त्यसको रिपोर्ट आएपछि कारण पत्ता लाग्ला ।”
गैँडाभन्दा पनि दुर्लभ मानिएको घडियाल गोहीको बच्चाको मृत्युदर पत्ता लगाउन यहाँ अनुसन्धान थालिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको सहकार्यमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले यसरी अनुसन्धान थालेको हो ।
उक्त विश्वविद्यालयको जैविक प्रविधि केन्द्रका विज्ञ तथा अध्ययनरत विद्यार्थीको सहभागितामा अनुसन्धान भइरहेको उपकुलपति डा आइपी ढकालले जानकारी दिनुभयो । अनुसन्धानमा केन्द्रका उपप्राध्यापक डा हिमाल लुइँटेल सहभागी हुनुहुन्छ ।
डा लुइँटेलले अनुसन्धानबारे भन्नुभयो –“मुख्यगरी हामीले तीन पक्षलाई हेर्न खोजेका छौँ । एउटा किन खाना खाँदैन, दोस्रो कुनै संक्रमणबाट हुनसक्छ भनेर कारण खोज्दै छौँ र तेस्रो भनेको पानीमा विषादी मिसावट कतिको छ हेरिरहेका छौँ ।” अहिले संवेदनशील अङ्गको भिसेरा परीक्षणको क्रम चलिरहेको छ ।
पटकपटक गरेर यहाँबाट ४०/५० वटा गोहीका मरेका बच्चा अनुसन्धानका लागि ल्याइसकिएको छ । मर्ने बित्तिकै निकुञ्जले फ्रिजमा राख्छ, अनि त्यसलाई ल्याएर कृषि विश्वविद्यालयको अत्याधुनिक प्रयोगशालामा अनुसन्धान हुन्छ । अनुसन्धान कार्यमा डा लुइँटेलसँगै निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरे, डा अमिर षडौँला र शैलेश शर्मा सहभागी हुनुहुन्छ ।
अनुसन्धान सफल भयो भने प्रजनन केन्द्रका लागि त्यो उपलब्धि हुने चितवन निकुञ्जले जनाएको छ । “एक वर्षमाथिका मर्ने चान्स कम हुन्छ, जति पनि मर्छन् तलकै मर्छन्,” प्रजनन केन्द्रका प्रमुख वेदबहादुर खड्काले भन्नुभयो ।
गोहीमा सन् २००७ मा वरिष्ठ पशुचिकित्सक डा कमल गैरेले अध्ययन गर्दा १०÷१२ किसिममा समस्या फेला परेका थिए । पानीको संक्रमणको समस्या बढी देखिएको थियो । खोलाको पानी नहाली जमिनमुनिको पानी प्रयोग गर्न आफूले सुझाव दिएको डा गैरेले बताउनुभयो । अहिले समस्या थपिएको हुनसक्ने भएकाले फेरि अनुसन्धान हुँदैछ ।
डा गैरेले सन् २००७ मा एउटा नयाँ परजीवी पत्ता लगाउनुभएको थियो । फ्लुटे प्रजातिको परजीवीलाई उहाँकै नामसँग जोडेर प्रोक्टोसिकन गैरे आई परजीवी भनेर नामकरणसमेत गरिएको थियो ।
पछिल्लो समयमा बर्दिया राष्ट्रिय निकुञ्जमा पनि गोहीले बच्चा कोरल्न थालेको छ । बर्दियामा मृत्युदर २० देखि ३० प्रतिशत रहेको बताउँदै निकुञ्जका प्रमुख रमेश थापा शुरुमै टन्न नखाँदा सुक्दै मर्ने गरेको अनुभव सुनाउनुभयो । “त्यसैले हामीले शुरु मै मान्छेले नखुवाई उसलाई आफैँ खान लगाउने गरेका छौँ,” थापाले भन्नुभयो ।
यसरी हुर्काइन्छ घडियाल गोही
सन् १९७८ देखि शुरु भएको निकुञ्जको गोही प्रजनन केन्द्र नेपालकै एकमात्रै सुविधायुक्त प्रजनन केन्द्र हो । एक वर्षमा यहाँ करिब २५० सम्म बच्चा निकाल्ने गरिएको छ । बर्दियामा रहेको गोही केन्द्रले गएको वर्षदेखि मात्रै बच्चा कोरल्न थालेको छ ।
केहीले प्रजनन केन्द्रमै अण्डा पार्छन् भने प्राकृतिक बासस्थानमा गोहीले पारेका अण्डा संकलन गरेर ल्याई बच्चा कोरल्ने काम भई केही मात्रामा हुन्छ ।
हाल चितवनको प्रजनन केन्द्रमा ५०० भन्दा बढी गोही छन् । करिब २०० जति बच्चा छन् । एउटा वयस्क भाले छ भने १२ वटा वयस्क पोथी छन् । यसपालि पनि जोखिम क्षेत्रका अण्डा ल्याएर प्रजननमा राखिएको छ । हाल निकुञ्जले एक हजार २२६ गोही विभिन्न नदीमा छाडेको थियो ।
अधिकांश गोही नारायणी र राप्ती नदीमा छाडिएको थियो । तर अहिले अनुगमनमा जम्मा १६६ मात्र फेला प¥यो । अनुगमनले गोही दशप्रतिशत पनि नबाँचेको देखायो ।
अझ प्राकृतिक बासस्थानमा घडियालका बच्चा मर्ने दर डरलाग्दो छ । प्रजनन केन्द्रका प्रमुख वेदबहादुर खड्का ९९ प्रतिशत बच्चा विभिन्न कारणले मर्ने गरेको बताउनुहुन्छ ।
मर्नुमा सहायक नदीको अवस्था, भारत जाने नदीमा प्रदूषण जस्ता कारण छन् । निकुञ्ज बाहिर बासस्थान नै छैन गोहीका लागि । कतिलाई गोहीले खाइदिन्छ । कतिलाई चरा चिलले पनि लैजान्छ । बाघले खाइदिने समस्या पनि छ । तर रोगब्याधीले पनि मरेको हुनसक्छ । अनुसन्धान नभएकाले यसै भन्न सक्ने स्थितिमा निकुञ्ज छैन । तर बाँच्ने दर भने अत्यन्त न्यून रहेको खड्का बताउनुहुन्छ ।
एकमात्रै भाले गोही पनि मरेपछि भने अहिले प्रजननमै समस्या परेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल भारतबाट गोही ल्याउने विषयमा छलफल भइरहेको बताउनुहुन्छ ।
घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको छ । चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदीमा बस्दै आएको दुर्लभ घडियाल गोही अघिल्लो महिना महाजालमा अड्किएर म¥यो ।
प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार चितवनको गोलाघाट क्षेत्र आसपासमा बस्दै आएको एकमात्र बयस्क भाले घडियाल गोही मरेको हो ।
“मुखमा जाल बेरिएको पाइयो,” कँडेलले भन्नुभयो – “माछा मार्ने सिजन नै नभएका बेला घटना हुनपुग्यो ।” निकुञ्जमा सन् २०१६ मा गरिएको अनुगमनमा जम्मा १६६ गोही थिए । त्यसमध्ये टाउकामा डल्लो निस्किएको गोही त्यो एक मात्र थियो ।
टाउकामा डल्लो निस्किएका गोही भाले हुन् । “अरुमा डल्लै निस्किएको छैन, त्यो ननिस्किएसम्म भाले भन्न मिल्दैन,” गोही प्रजनन केन्द्रका प्रमुख खड्का भन्नुहुन्छ ।
माछा मार्न प्रयोग गरिएको तियारी जाल (महाजाल) मा अड्किएर गोही मरेको हो । अझै पनि मानिसमा चेतना नआएको यो घटनाले देखाउँछ ।
माछा मार्न बन्देज लगाइएको तियारी जाल अझै लुकीछिपी प्रयोग हुँदै आएको छ । यसअघि पनि विभिन्न समयमा जालमा अड्किएर गोही मरेको पाइएको छ ।
घडियाल लोपोन्मुख बनेपछि चितवन निकुञ्जले घडियाल प्रजनन केन्द्र नै स्थापना गरेर गोही हुर्काउँदै नदीमा छाड्दै गरे पनि प्राकृतिक बासस्थानमा १० प्रतिशत मात्र फेला परेका छन् । यो दुःखद स्थिति हो । रासस

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com