पेरुका पूर्व राष्ट्रपति फूजीमोरीलाई अदालतमा उपस्थित हुन आदेश

पेरु, फागुन ८ ।   कारागारबाट भर्खरै छाडिएका पेरुका पूर्व–राष्ट्रपति अल्बेर्टो फूजीमोरीलाई सन् १९९२ मा ६ जना किसानलाई मारेको मुद्दामा फेरि अदालतमा उपस्थित हुन आदेश दिइएको बीबीसीले जनाएको छ ।

मानव अधिकारको उल्लङ्घन र भष्ट्राचार गरेको आरोपमा २५ वर्षको जेल सजाय पाएका उनलाई झण्डै एक महिना अघि कारगारबाट छाडिएको थियो । ७९ वर्षीय फूजीमोरीलाई गएको जनावरीमा कारगारबाट मुक्त गरिएको थियो भने क्रिस्मस डे मा उनलाई क्षमा दिइएको थियो ।

तर, पेरुको राजधानी लिमाको एक अदालतले उनलाई नयाँ मुद्दाको सामना गर्न पुनः अदालतमा हाजिर हुन आदेश दिएको छ । तर उनले आफू निर्दोश रहेको बताएका छन् । उक्त अदालतले उनीसँगै अन्य २२ जना विरुद्ध मुद्दा चलाएको छ ।

गएको डिसेम्बरमा पेरुका राष्ट्रपति पेड्रो पाब्लोले फूजीमोरीलाई क्षमा गरिदिन माग गर्दा पेरुको राजधानी लिमामा प्रदर्शन गरिएको थियो । फूजीमोरी पेरुका नागरिकमा अलोकप्रिय मानिन्छन् । सन् १९९० देखि २००० सम्मको उनको पदावधिमा सरकारको विरुद्ध २ ठूला आन्दोलन चर्किएका थिए ।

फूजीमोरीलाई ब्लड प्रेसर कमी भएको र असामान्य रुपमा मुटुको गति चलेको भन्दै कारगारबाट क्षमा दिइएको थियो । सन् २००७ मा उनलाई घुस लिएको र सत्ताको दुरुपयोग गरेको भन्दै ६ वर्षको कारागार सजाय सुनाइएको थियो । तर, त्यसको दुई वर्षपछि उनी सत्तामा रहेको बेलामा मानवअधिकार उल्लङ्घन गरेको भन्दै २५ वर्षको कारागार सजाय तोकिएको थियो ।

६ जना नागरिकलाई मार्न अधिकार दिएको मुद्दामा उनलाई दोषी ठहर गरिएको बीबीसीले जनाएको छ । पेरुमा बिद्रोही र सरकारबीच भएको भिडन्तमा ६९ हजार नागरिकले ज्यान गुमाएको बताइन्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *