प्रदेश ७ मा भाषा आयोग गठन गर्न माग

धनगढी, फागुन ७ । सुदूर पश्चिम क्षेत्रको भाषा तथा संस्कृती संरक्षण गर्न प्रदेश नं ७ का सरोकारवालााहरुले भाषा आयोग गठन गर्न माग गरेका छन् ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा सुदूर चिनारी द्विमासिक पत्रिकाले धनगढीमा आयोजना गरेको ’मातृभाषाको अवस्था, विकासको सम्भावना र चुनौती’ विषयक छलफल कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।

कैलाली जनपुस्तकालयको सभा कक्षमा आयोजित उक्त छलफलमा भाषा विज्ञहरुको उपस्थिति रहेको थियो । फाल्गुन ९ गते मनाउन गइरहेको मातृभाषा दिवसको अवसरमा आयोजित उक्त छलफल कार्यक्रमले प्रदेश नं सातमा रहेका मातृभाषाको खोज अनुसन्धान र विकासका निमित्त प्रदेश स्तरीय मातृभाषा विकास आयोग गठन गरी ठोस कार्ययोजना अगाडि बढाउन प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी प्रदेश नं सातको पहाडी क्षेत्रमा बोलिने भाषाको भाषा तत्व अध्ययन तथा विकासका निमित्त पहल गर्न सुदूर चिनारी पत्रिकाका प्रधान सम्पादक प्रकाशक एन् के जोशीको संयोजकत्वमा ९ सदस्यीय समन्वय समिति तथा सल्लाहकार समिति गठन गरेको छ ।

सो समितिको सदस्यहरुमा डा. बद्रीशर्मा विनाडी, डा. देवेन्द्रप्रसाद भट्ट, सह प्राध्यापक डिल्लिराज फुलारा, सह प्राध्यापक जगन्नाथ जोशी, सह प्राध्यापक गणेशराज जोशी, उप प्राध्यापक हरिकृष्ण खडायत, उप प्राध्यापक खगेन्द्रराज ओझा र नारायणी भट्ट रहेका छन् ।

यस्तै सल्लाहकार समिति प्राज्ञ विशुदेव पाण्डेय, प्राज्ञा वाशुदेव भट्ट भाइसाप, प्राज्ञ यज्ञराज उपाध्याय, आचार्य ज्योतिप्रकाश जोशी, साहित्यकार पदमराज जोशी, साहित्यकार रामलाल जोशी, साहित्यकार आर डी प्रभाष चटौत, साहित्यकार यज्ञराज यात्री, साहित्यकार निर्मलकुमार भण्डारी रहेका छन् ।

सुदूर चिनारीले फाल्गुन ८ गते डोटेली भाषामा गजल लेखन प्रतियोगिता र फाल्गुन ९ गते मातृभाषा दिवसको दिन बहुभाषिक साहित्यिक गोष्ठी तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गर्ने साहित्यकार तिर्थ राज भट्टले जानकारि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *