मौरी, केरा र तरकारीको जोन बन्यो चितवन

भरतपुर ७ फागुन । चितवन तरकारी, मौरी र केराको जोन बनेको छ । यो वर्षबाट मौरी र केराको जोन थपिएपछि चितवनमा कृषिका तीन वटा जोनका कार्यक्रम सञ्चालन हुने भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चितवनमा केरा र मौरीको जोन बनाउन स्वीकृत गरेपछि यहाँ कृषिका तीन जोन कार्यक्रम चल्ने भएको हो । गत वर्षदेखि नै प्रधानमन्त्री कृषि आधुनिकीकरणअन्तर्गत ‘तरकारी जोन’ पार्वतीपुर कार्यक्रम चलिरहेको छ ।

‘पहिले चितवनमा तरकारीको मात्र जोन थियो, अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पत्र पठाएर मौरी र केराको जोन चितवनमा बनाइएको जानकारी दिएको छ’ जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधिर श्रेष्ठले भने । उनले केरा र मौरी जोनकोे अस्थायी सम्पर्क कार्यालय जिल्ला कृषि विकास कार्यालयमा राखिएको बताए ।

‘परियोजनाले पत्रमा केराको जोन भनेर चितवनको पूर्वी क्षेत्रमा रहेका रत्ननगर र कालिका नगरपालिकालाई तोकिएको छ’ कार्यालय प्रमुख श्रेष्ठले भने, ‘मौरीको जोन राप्ती नगरपालिकालाई लिइएको छ ।’ उनले पत्रअनुसार अस्थायी कार्यालय जिल्ला कृषि विकास कार्यालयमै खोलिएको र किसानहरुलाई जानकारी गराइएको बताए ।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना १० वर्षको कार्यक्रम हो । चितवन जिल्लामा तरकारी, मौरी र केराको जोन भएपछि यहाँको कृषिले फड्को मार्ने आशा गरिएको छ’ कार्यालय प्रमुख श्रेष्ठले भने । उनले अहिले जोनको कार्यालय स्थापना गरे पनि बजेटका कार्यक्रमहरु केही पनि नरहेको र अब सरकारले पूर्णता पाएपछि कार्यक्रमहरु आउने विश्वास गरेका थिए । ‘मौरी र केराको जोन स्वीकृत भयो, कार्यालय स्थापना पनि गरियो । तर हाल कार्यक्रमहरु केही छैन’ उनले भने ।

जोन स्वीकृत हुन कुनै पनि बालीको ५०० हेक्टरभन्दा बढीमा खेती गरेको हुनुपर्छ । चितवनको पूर्वी भागमा २६ सयभन्दा बढी बिघामा केरा खेती हुँदै आएको छ । मौरीको हकमा किसानले २० हजारभन्दा बढी घारमा मौरीपालन गर्नुपर्छ । जोनका मापदण्ड पुगेपछि केरा र मौरीको जोन चितवनलाई स्वीकृत गरिएको हो ।

मौरी र केराको जोन थपिएपछि स्थानीय केरा तथा मौरीका कृषकहरु खुसी भएका छन् । कृषि कार्यालयका प्राविधिक नोधनाथ लामिछानेका अनुसार जोनले कृषकहरुलाई हौसला जगाएको बताए । उनले भने, ‘जोन सञ्चालनमा आएपछि उन्नत जातको बीउबीजन, सहुलियत दरमा ऋण, गुणस्तीय मललगायतका धेरै सुविधा पाउँछन् ।’ उनले यो वर्ष बजेट नपरे पनि आगामी वर्षहरुमा यसमा थप बजेट आउने बताए । उनले भने, ‘देशलाई आत्मनिर्भर बनाउन सरकारले जोनको कार्यक्रम सञ्चालनमा ल्याएको हो ।’

केराको जोन चितवनमा परेको हुनाले यहाँको किसानहरु अत्यन्तै खुसी रहेका चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले बताए । उनले भने, ‘केरा जोनको स्वीकृत भएपछि हाम्रा जग्गा भाडामा नपाउने समस्या, गुणस्तरीय बिरुवा नपाउने समस्या हल हुन्छ भन्ने ठूलो आशा गरिएको छ’ उनले भने, ‘जोनको कार्यक्रम चाँडै कार्यान्वयनमा आए हुन्थ्यो ।’

चितवनमा केरा खेती गर्ने ६०० भन्दा बढी किसानहरु छन् । चितवनमा ४६ हजार मेट्रिक टन केरा उत्पादन हुन्छ । ‘केरा जोन चितवनमा परेको हुनाले गौरव महसुुुस गरेका छौं’ अध्यक्ष पन्तले भने ।

त्यस्तै मौरीपालन किसानहरु पनि मौरीको जोन परेपछि उत्साहित भएका छन् । यहाँको चिउरी र तोरीको मह देशभर जान्छ । एक हजारभन्दा बढी किसानहरुले मौरीपालन गरेका छन् । राप्ती नगरपालिकालाई मौरीको जोन तोकेपछि यसको क्षेत्र अझै बढ्ने मौरीपालन गर्ने किसानहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *