हामी कुनै पनि हालतमा फुट्ने छैनौँ

आगामी मङ्सिर १० मा हुन लागेको पहिलो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि दोलखाबाट पूर्व पर्यटनमन्त्री एवं एमाले सांसद आनन्दप्रसाद पाखरेलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट पाउँने चर्चा चलेपनि पाउँन सफल भएनन् । वाम गठबन्धनले पोखरेलको ठाउँमा पूर्व एमाले सांसद पार्वत गुरुङ र प्रदेशतर्फ पशुपति चौलागाईलाई उम्मेदवारी बनायो । आफूलाई उम्मेदवार बनाएपनि/नबनाएपनि दोलखाबासीको हक हितमा काम गर्ने बताउँने उनै पूर्व मन्त्री पोखरेलसँग मकालु खबर संवाददाता लोक राज रुम्दालीले गरेको कुराकानीको सम्पादित अंश :

आनन्द प्रसाद पोखरेल, पूर्व पर्यटन मन्त्री तथा एमाले नेता

वाम गठबन्धन पछिको चुनावी माहोल कस्तो महसुस गर्नुभएको छ ?

अहिले देशभर (जनता)मा चुनावी रौनक उल्लासपूर्ण देखिन्छ । गोलाकार चिह्नभित्रको हसिया हथौडा र सूर्यमा भोट खसाल्नका लागि जनताहरू आतुर छन् । ०४६ सालदेखि निरन्तर रूपमा करिब दुई दशक काँग्रेसले मुलुकमा शासन गर्दै आएको छ । जसले मुलुकको राष्ट्रियतामा गम्भीर प्रश्न उठाइरहेको छ । भने,विकासले झन् अगति लिएको छ ।

राजनीतिक स्थिरता र स्थायी सरकार कायम गर्नका लागि वामपन्थी एक भएको छ । त्यसैले अब मुलुकमा वाम गठबन्धनसँगै एकताले देश विकास र समृद्धितर्फ उन्मुख हुनेछ । विगतका कुराहरूलाई स्मरण गर्दा व्यक्तिगत रूपमा वाम गठबन्धन र एकताप्रति केही चासोका सवालहरू उठ्नु स्वभाविकै हो ।

वाम तालमेल पछि जोसिएको लोकतान्त्रिक धार र तपाईहरुमा के फरकपन छ ?

हामीले जनताको हक, हित र राष्ट्रियता जोगाउनका निम्ति तालमेलसँगै पार्टी एकता गर्दैछौँ । त्यसैले कसैलाई धाक धम्की देखाउनका लागि यो गठबन्धन गासिएको होइन सिङ्गो देश निर्माणका लागि एकजुट भएको फेरि स्मरण गर्न चाहन्छु । यससँग सँगै यो पनि स्पष्ट पार्न चाहन्छु कि–अब देश हाँक्ने एकमात्र पार्टी, वामपन्थी नै हो ।

तपाईँ  पूर्व मन्त्री पनि हुनुहुन्छ तर तपाईँले उम्मेदवारको टिकट नपाएको कार्यकर्ता माझ निकै गुनासो सुनिन्छ त ?

म प्रति कार्यकर्ताले गुनासो व्यक्त गरेको प्रति आभार प्रकट गर्दछु । दोलखाका लागि हामी मध्ये जो कोहीले टिकट पाएपनि दोलखाको विकास र समृद्धि नै गर्ने हो । त्यसैले सबैलाई यही अपिल गर्न चाहन्छु–दोलखा क्षेत्र नं १ र २ बाट उम्मेदवार बन्न सफल हुनु भएका कमरेडहरुलाई भारी मतका साथ जिताएर देश विकासको मुहार फेरौं । यसकारण सबैलाई ढुक्क बस्न आग्रह पनि गर्दछु ।

मन्त्री भइसकेको अुनभव सँगै उम्मेदवार बन्न नपाउँदा तितो महसुस भएन ?

मलाई त्यस्तो केही फिल नै भएको छैन । अत्यन्त खुसी छु । मैले आफ्नो ठाउँबाट क्षमता प्रदर्शन गर्ने हो । देशका जनताको हक हितका निम्ति नै अघि बढ्ने हो । म सधैँ उम्मेदवार नै हुँ । आफ्नो क्षमता अनुसार पार्टीमा रहेर काम कारबाही गरिरहेको छु । जनताको अपेक्षाहरुलाई सुनेर त्यसै अनुरुप अघि बढिरहेको छु । म मात्रै होइन सबै उम्मेदवार साथीहरू पनि यही अनुरूप अघि बढिरहनु भएको छ ।

तर, आनन्द पोखरेल मन्त्री भइसकेकोले अरूलाई पनि चान्स दिनुपर्छ भन्ने उम्मेदवार साथीहरूको मनपेट देखियो नि ?

मैले यसलाई त्यसरी ठानेको छैन । सर्वप्रथम त म पार्टीलाई हार्दिक धन्यवाद दिन चाहन्छु । किनकि मलाई रिफ्रेस गर्न मौका पार्टीले दिएको छ । त्यस्तै, आफ्नो तहबाट काम गर्न दिएको छ, मेरो क्षमताको उच्च कदर गर्दै मलाई थप हौसला प्रदान गरेको छ । त्यसैले पार्टीको नीति र सिद्धान्त विपरीत कोही अघि बढ्नु हुँदैन ।

कार्यगत एकता मात्रै हो तर पार्टीगत एकता हुँदैन भन्ने छ, कतिसम्म सत्य हो ?

हामीले तामलेल सँगै पार्टी एकताको बुँदागत निर्णयहरू पनि सार्वजनिक गरिसकेका छौँ । त्यसैले यसमा कुनै द्विविधा नरहन समेत सल्लाह दिन चाहन्छु । देशमा विकासको मुहार फेर्नका लागि हामी एकजुट भएका हौँ । कुनै पनि हालतमा फुट्ने छैनौँ । त्यसैले माओवादी–एमाले कार्यकर्तालाई पनि यसप्रति थप चिन्तन गर्नुपर्ने आवश्यक देख्छु । अब, चाँडै निर्वाचनपछि पार्टी एकता हुँदैछ ।

गठबन्धन भित्र गुट–उपगुटको बाबजुद पार्टी एकता कसरी सम्भव छ ?

यसलाई म स्वभाविक नै ठान्छु । कुनै व्यक्ति कसैप्रति झुकाव राख्नु नराम्रो होइन तर, पार्टीको नीति र सिद्धान्त अनुरुप सञ्चालन हुनुपर्छ । त्यसैले यो गतिविधि आफै हटेर जान्छ । यसका लागि दुवै दलले रणनीति पनि बनाइसकेको छ । त्यसैले हामी वाम गठबन्धन नखल्बलाउने तरिकाले दुवै पार्टीलाई एकतामा समाहित गर्दैछौँ ।

आफूमाथि अन्याय भयो भन्दै पार्टी विरुद्ध ‘वागी’ उम्मेदवार बनेकालाई के भन्नुहुन्छ ?

यस्तो खालको भागबन्डा भएको छैन । यो लाज पचाउने कुरा भएको छ । सहमति अनुरुप नै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेद्वार छनौट गरिएको छ । कसैलाई अन्याय भयो भन्ने कुरा चाहिँ पार्टीलाई बदनाम गर्ने खेल हो ।

पार्टीबाट बाहिरिएर ‘वागी’ उम्मेदवार बन्नुको कुनै औचित्य छैन । अहिले उम्मेदवारको टुङ्गो वाम गठबन्धनकै सल्लाह बमोजिम भएको छ । तर, केही साथ बेखुसी भएर ‘वागी’ उम्मेदवार पनि दिएको देखिन्छ । त्यसैले उहाँहरूलाई पनि त्यो गलत काम गर्नबाट रोकिन आग्रह गर्दछु । सबै कुरा चाहेजस्तो हुँदैन, धैर्यवान् भएर अघि बढ्नु नै उचित देख्छु । त्यसैले यो वाम गठबन्धन प्रति कसैले कुभलो नचिताइकन हामी एकै हौँ भन्ने सन्देश दिलाउन सबै साथीहरूलाई विनम्र आग्रह पनि गर्दछु । त्यस्तै, दोलखाको क्षेत्र नं १ र २ दुवै क्षेत्रमा माओवादी–एमालेका होनाहार नेताहरूले उम्मेदवार दिनुभएको छ । उहाँहरू सबैलाई भारी मतका साथ जिताउन सबैलाई आग्रह पनि गर्दछु ।

स्थानीय तहको चुनाव अघिसम्म एक अर्काप्रति झम्टिने तपाईहरु एक्कासि ‘प्रचण्ड’ रणनीतिबाट कसरी लठ्ठीनु भो ?

जे काम गर्दापनि शङ्का आशंका त गरिन्छ । यस्तो प्रश्न उठ्नु स्वभाविक पनि हो । यसकारण यो रणनीतिक रूपमा वाम गठबन्धन गरिएको होइन देशको आवश्यक्ता अनुरुप नै यो कदम अघि बढाइएको हो । पार्टी फुट्ने र जुट्ने कामहरू त भइरहन्छन् तर, अब सोच्ने बेला आएको छ । त्यसैले जनताको अपेक्षा पूरा गर्ने वामपन्थी नै हो, लोकतान्त्रिक धारले पूरा गर्न सक्दैन ।

उत्तर(चीन)ले तपाईहरुलाई केही क्षणका लागि भए पनि मिलायो नि हैन ?

हैन । हैन । यसमा कुनै सत्यता छैन । हामी कसैप्रति आश्रित भएर चलायमान भएका पनि होइनौ । मैले अघि पनि भनिसकेको छु, देशको आवश्यक्ता अनुरुप नै यो गठबन्धन गर्न सरिक भएका हौँ ।

वाम तालमेलपछि दक्षिणले डरलाग्दो चाल चालेको र पश्चिमा मुलुकले पनि शक्ति प्रर्दशनी गर्न थालेको सङ्केत देखियो । डराउनु भएको छ कि छैन ?

हामीले आफ्नो देशको लागि लड्ने हो त्यसैले आफ्नो स्वार्थका कसैसँग नाता कुटुम्ब गाँसिदैन । रिसाउने रिसाउँदै गर्छ हामी आफ्नो गन्तव्य तर्फ लम्किरहन्छौँ ।

प्रसङ्ग बदलौँ, अब उप्रान्त जीवनभर कम्युनिष्ट रहिन भन्ने डा. बाबुराम भट्टराईलाई गठबन्धनमा सामेल गराएको साता दिन मै उम्काउनु भो किन ?

उहाँ महत्वकांक्षी, अस्थिर र अवसरवादी हुनु भएकोले डुल्दै गर्दा हामी कहाँ सामेल हुन आउनु भएको हो । तर, टिक्न सक्नु भएन । त्यसैले यो प्रश्न उहाँलाई सोध्नुपर्छ, ‘किन वाम गठबन्धनबाट निस्क्नु भो ?’ तर, हामी दुई (एमाले–माओवादी) लाई कुनै असर गरेको छैन । जहाँसम्म उहाँले यस्तो व्यवहार नदेखाउनु भएको भए हुन्थ्याे तर, देखार्इ छाड्नु भो । तरपनि उहाँलार्इ अागामी निर्वाचनको शुभकामना छ ।

गोरखा क्षेत्र नं २ नओगटिदिनु भएको भए के बिग्रन्थ्यो र ?

हामीले विगतको मतलाई आधार बनाएर उम्मेदवार छनौट गरेका हौं । त्यो क्षेत्रमा जसको प्रभाव छ त्यसलाई टिकट वितरण गरेका हौँ । त्यो क्षेत्र माओवादीको भएकोले उहाँले टिकट नपाउनु भएको हो । हामीले गोरखाबाट नभए काठमाडौँको ठाउँ त खुल्ला नै छाडि दिएका थियौँ  नि । तर, उहाँले मान्दै मान्नु भएन । अहिले फेरि उछिट्टिएर लोकतान्त्रिक धारमा मिसिन पुग्नुभएको हल्ला सुनिएको छ ।

अन्त्यमा, गुट उपगुट छैन भन्नु भो तर अध्यक्ष ओलीका भान्जा पर्ने युवा नेता बालकृष्ण सिवाकोटीले टिकट नपाएको गुनासो छ त ?
व्यक्तिगत गुनासो होलान् । तर, पार्टीको निर्णय विपरीत कसैले केही गर्न सक्दैन । चाहे त्यो जो सुकै होस् । सबैलाई पार्टीको रक्षा गर्ने अधिकार छ । यसबाट कोही पनि टाढा भाग्नु हुँदैन । भनौँ न, मैले पनि पार्टीको नीति अनुरूप नै आफ्नो उम्मेदवारी दिइन । त्यसैले अबको आम निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई मत ल्याउनुपर्छ र ल्याइन्छ पनि । संविधानमा भएका मुद्धाहरुलाई जनतामा ग्यारेण्टीका साथ पुर्याउँछौँ । यस कारण हसिँया हथौडा र सूर्यमा सबैले भोट हालेर बहुमतका साथ जनताले जिताउँने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *