किन र केका लागि सुरक्षामा यस्तो चुनौती देखिदै

मङ्सिर ३, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले शान्तिपूर्ण र उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भई राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा लागेको बेला एकाएक रूपमा देखिएको सुरक्षा चुनौतीको प्रश्नले सबैलाई गम्भीर तुल्याएको बताएका छन् । आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल(नियोक)द्वारा निर्वाचन पर्यवेक्षणमा खटिने राष्ट्रिय पर्यवेक्षकका लागि आज यहाँ आयोजित प्रशिक्षणको उद्घाटन गर्दै उनले भने, “सुरक्षामा चुनौती खडा गर्ने यस्तो घटना किन र केका लागि भइरहेको छ, यसले हामीलाई अनुत्तरित प्रश्न उब्जाएको छ ।”

नेपालको संविधान, गणतन्त्र र सङ्घीयता कार्यान्वयन गर्ने सन्दर्भमा हुने आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन निर्वाचन आचारसंहिताको सबै पक्षबाट पूर्णरुपमा पालना हुन आवश्यक रहेको बताउँदै डा. यादवले राजनीतिक दल र उम्मेदवारबाट टाढै रही संस्थाको बदनाम नहुने ढङ्गबाट पर्यवेक्षण गर्न पर्यवेक्षकलाई सुझाव दिए ।

सहरभन्दा हिमाली र उच्च पहाडी जिल्लाका दुर्गम मतदान केन्द्रमा पुगेर पर्यवेक्षण गर्न सल्लाह दिँदै उनले सूक्ष्म र गहन रूपमा पर्यवेक्षण गर्न तथा मतदातालाई मतदानको महत्वबारे सचेतना र जागृत तुल्याउने सन्देश प्रवाह गर्न सुझाव दिए । नियोकका अध्यक्ष हिमाल शमशेर जबराले निर्वाचनको प्रचारप्रसारमा जुटेका नेता तथा कार्यकर्तामाथि आक्रमणले समाजमा हिंसाको त्रास दिनुका साथै जसरी पनि जित्नुपर्छ भन्ने मान्यताले निर्वाचनको परिणामलाई पैसाले प्रभाव पार्ने त होइन भन्ने प्रश्न उब्जेको बताए ।

सोही संस्थाका कार्यकारी निर्देशक कृष्णमान प्रधानले २५ वर्षदेखि नियोगले निर्वाचन पर्यवेक्षण गर्दै आएकामा यस पटकको निर्वाचनमा ८०० जना पर्यवेक्षक खटाउन लागेको जानकारी दिए । सो अवसरमा सहभागी अन्य वक्ताले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण र लोकतन्त्रलाई स्थायित्व दिने सन्दर्भमा हुने निर्वाचनमा पद र पैसाको दुरुपयोग र चलखेल, पक्षपात, मौलिक र नैसर्गिक अधिकार कुण्ठित भए नभएको विषयलाई सूक्ष्मरुपले अध्ययन हुन आवश्यक रहेको बताए ।

नियोकले ९० प्रतिशत पर्यवेक्षकलाई दुर्गम क्षेत्रमा पर्यवेक्षण गर्न खटाउन लागेको र उनीहरू समाजका विभिन्न विधामा ख्यातिप्राप्त र अनुभवी व्यक्तित्व रहेको जनाएको छ । यही मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मुलुकका ५२ संस्था र अन्तर्राष्ट्रिय चार संस्थाले निर्वाचनको पर्यवेक्षण गर्न अनुमति पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *