चिकित्सक टोलीको प्रयासले सुर्पनाले पाइन् पुनर्जन्म

शुरबहादुर सिंह, जुम्ला । सुर्पना हमाल अहिले अस्पतालको श्ययामाथि जीवनको लामो सास लिइरहेकी छन् । साताँै गर्भ बोकेकी हमालले अन्तिम बच्चा पाइन् तर पाठेघर फुटेर दुई टुक्रा भई अत्यधिक रक्तस्राव हुँदा झन्डै मृत्युको मुखमा पुगिन् । मृत्युको मुखमा पुग्नै लागेकी उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक विनोद अर्याल नेतृत्वको टोलीले पुनर्जन्म दिएको छ । ३५ वर्षीया सुर्पना हमाल तिलागुफा गाउँपालिका–३ फोइमहादेव कालीकोट जिल्लाकी हुन् ।

चिकित्सकले सुत्केरी हुने भनेर दिएको समयभन्दा दुई हप्तापछि आइन् उनी । मङ्गलबार बिहान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेकी उनलाई बेलुका ६ बजे व्यथा लागेको र ८ः३० बजे बच्चा जन्मेको डा अर्यालले बताउनुभयो । “उनको बच्चा जन्म्यो तर थाम्नै नसकिने गरी पाठेघरबाट रगत अत्यधिक मात्रामा बग्न थाल्यो । यो दृश्यले हामीलाई निकै बिचलित बनायो,” डा अर्यालले भन्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “पाठेघरदेखि भित्रसम्म फुटेको रहेछ, रगत थाम्नलाई हामी प्रतिष्ठानका चिकित्सक, विद्यार्थी सबै लाग्यौँ र पाठेघर पनि काटेर फाल्यौँ ।” त्यो अवस्था देख्दा आफूहरुले उनी बाँच्छिन् भन्ने आशा पाँच प्रतिशत मात्र राखेको उहाँको भनाइ थियो ।

चिकित्सक र विद्यार्थीले नै रगत दिए 

डा अर्यालका अनुसार सुर्पनाको शरीर रगत सकिएर सेतो भइसकेको थियो । डा अर्यालसँगै उपचारमा संलग्न प्रतिष्ठानका चिकित्सकद्वय रमेश भट्टराई र राजीव शाहले शुरुमा रगत दिएसँगै त्यहाँ अध्ययनरत विद्यार्थीले पनि उनलाई रगत दिए । एकातिर रगत अर्कोतिर अक्सिजन दिँदै गर्दा राति २ बजिसकेको र त्यतिबेलासम्म उनी होसमा नआएको डा अर्यालले जनाउनुभयो । तथापि आधा घन्टाभित्र नै सुर्पनालाई नौ पिन्ट रगत चढाइएको उहाँको भनाइ थियो ।


रक्तदाता सेना र प्रहरी 

सुर्पनाले पुनर्जन्म पाउनुमा विगतदेखि रक्तदान गर्दै आएको नेपाली सेना र नेपाल प्रहरीको पनि यतिबेला पनि ठूलो योगदान रह्यो । उनको जीवन बचाउन भगवती दल गण जुम्लाका जवानसँगै गणपति सुशीलकुमार थापाले पनि रक्तदान गर्नुभयो । सशस्त्र प्रहरी बल जुम्लाका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीको टोली पनि रातको बीचमा रक्तदान गर्न त्यहाँ पुग्यो । चिकित्सक, नर्स, विद्यार्थी सहितको प्रतिष्ठान परिवार, सेना, प्रहरीको समुल प्रयासबाट दिइएको १४ पिन्ट रगतबाट उनले पुनर्जन्म पाएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

पाठेघर दुई टुक्रा भएर जीवन मरणको अन्तिम अवस्थामा पुगेकी एउटी आमाको जीवन बचाएर बाल भविष्य सुरक्षित गर्ने चिकित्सक, नर्स, विद्यार्थी, सेना र प्रहरी सबैको प्रयासप्रति गर्व गर्दै रजिस्ट्रार काफ्लेले हार्दिक धन्यवाद पनि ज्ञापन गर्नुभएको छ । चिकित्सक अर्यालले उनको अवस्था अहिले सामान्य रहेको जनाउनु भएको छ ।

उनका श्रीमान् जयबहादुर हमालले प्रतिष्ठानमा नपु¥याएको भए श्रीमती र छोरा दुवैको ज्यान अकालमा जाने बताए । प्रतिष्ठानले यति ठूलो काम गर्छ भन्ने नबुझेका उनले मृत्युको मुखमा पुगेकी श्रीमतीलाई जीवन दिने सबैलाई भगवान्को सङ्ज्ञा दिए । प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्व शाहीले कर्णालीका दर्जनौँ नागरिकको जीवनदाता बनेर नेपाली सेनाले ठूलो गुण लगाएको जनाउनुभयो । उहाँका अनुसार प्रतिष्ठानका अधिकतम जटिल घटनाको सारथी नेपाली सेना बन्दै आएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *