विभिन्न प्रतिभा भएका युवालाई सम्मान

काठमाडौँ, २२ असार । राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिको कार्यालयले विभिन्न विधाका युवा प्रतिभालाई बुधबार सम्मान तथा पुरस्कृत गरेको छ । कार्यालयले ‘जिल्लास्तरीय युवा उद्यमी तथा युवा प्रतिभा सम्मान तथा पुरस्कार वितरण’ समारोहमा युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सम्मान तथा पुरस्कृत गर्नुभएको हो ।

२०७३ सालबाट सात र २०७४ सालबाट चारजनालाई विभिन्न तीन विधामा पुरस्कार वितरण गरिएको हो । विसं २०७३ बाट सङ्गीत तथा सञ्चारबाट अपाङ्ग कमला श्रेष्ठ, वैज्ञानिक आविष्कारबाट विश्व निकेतन मावि त्रिपुरेश्वरका विद्यार्थी अमन यादव र हिमांशु प्रभात तथा अरुणोदय मावि जोरपाटीका बुद्धिबल थापा र सोमनाथ लुइँटेल र सूचना प्रविधिबाट सन्दीप शाह र देवराज खड्कालाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

यसैगरी, २०७४ सालको युवा प्रतिभाबाट सङ्गीत विधाबाट सुमित सुवाल, कृषि र पशुपालनबाट राधाकृष्ण चापागाईं र शिक्षा र उद्यमशीलताबाट राजकुमार पुन र उमा राईलाई वितरण गरिएको थियो । उनीहरुलाई सम्मानसहित नगद रु पाँच हजारले पुरस्कृत गरिएको कार्यालय प्रमुख कमला ज्ञवालीले जानकारी गराउनुभयो । पुरस्कार वितरण गर्दै कार्यकारी अध्यक्ष ढुङ्गेलले देशभरि नै युवाको प्रतिभाको कदर गर्नाका लागि सम्मान र पुरस्कार प्रदान गरिने बताउनुभयो । उहाँले युवामा भएको प्रतिभाको प्रयोगात्मक अभ्यासका लागि काभ्रेपलाञ्चोकको पाँचखालमा प्रयोगात्मक केन्द्र स्थापना गर्न थालिएको जानकारी गराउनुभयो ।

“युवामा भएको प्रतिभा दीर्घकालसम्म विकास गर्नका लागि प्रयोगात्मक केन्द्रको निर्माण गर्न थालिएको हो”, उहाँले भन्नुभयो, “केन्द्रले युवालाई आफ्नो प्रतिभालाई दिगो बनाउन सहयोग गर्नेछ ।” युवामा भएको प्रतिभा प्रस्फुटन गराउनका लागि सम्मान तथा पुरस्कार वितरण गरिएको काठमाडौँ युवा समितिका अध्यक्ष निरेशलाल सिंहले जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *