प्रदेशको राजधानी माग गर्दै वुटवल र कपिलबस्तु पनि आन्दोलित, दलकै नेताहरुको अगुवाई

वुटवल, पुस २० । रुपन्देहीलाई प्रदेश नम्बर ५ को राजधानी तोक्न माग गर्दै सत्तारुढ दल कांग्रेस र प्रतिपक्षी एमालेले आन्दोलन थालेका छन्। कांग्रेसले बिहीबार बिहान रुपन्देहीमा १ घण्टा चक्काजाम गर्‍यो भने एमालेले दबाबमूलक प्रदर्शन गरेको छ।

रुपन्देहीले विगतमा मुलुकको समृद्धि र राजनीतिक क्षेत्रमा दिएको योगदानको कदर र लुम्बिनी क्षेत्रका बासिन्दाको मागको सुनुवाई गर्दै रुपन्देहीलाई प्रदेश नम्बर पाँचको राजधानी बनाउनुपर्ने कांग्रेस नेता हरि लम्सालले बताए।

अध्ययन समितिले बुटवललाई उपयुक्त भन्दाभन्दै कर्मचारी संयन्त्रले जबरजस्ती दाङमा राजधानी बनाउने खाका तयार पारेको भन्दै आन्दोलन थालेको कांग्रेस नेता युवराज गिरीले बताए। एमाले नेता राजेन्द्र ढकालले प्रदेश नम्बर पाँचका अधिकांश जनता बुटवललाई राजनधानी बनाउने चाहना हुँदाहुँदै राजधानी नतोकिए निरन्तर संघर्ष गर्ने चेतावनी दिए।

कपिलवस्तुमा पनि सुरु भयो आन्दोलन
यता, प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु हुनुपर्ने माग गर्दै आन्दोलन सुरु भएको छ। राजधानी तोक्न माग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आन्दोलन थालेका हुन्।

सरकारी समितिले ५ नम्बर प्रदेशको राजधानी अस्थायी रुपमा दाङमा प्रस्ताव गरेपछि सदरमुकाम तौलिहवामा दुई घण्टा चक्काजाम गरिएको हो। बिहीबार बिहान ११ बजेदेखि १ बजेसम्म तौलिहवाको प्रशासन चोक, आन्दोलन चोक र गौडीचोकमा चक्काचाम गरेको हो। चक्काजामका कारण सदरमुकाम तौलिहवा भएर चल्ने सवारी साधन आवागमनमा २ घण्टा अवरुद्ध भएको थियो।

तौलिहवा–लुम्बिनी–भैरहवा चल्ने पर्यटकीय सवारीसाधन, एम्बुलेन्सलाई भने सञ्चालन गर्न दिइएको थियो। कपिलवस्तु जिल्ला पुरातात्विक क्षेत्रले सम्पन्नता, खुल्ला संग्रहालय, गौतम बुद्धसंग सम्बन्धित सयभन्दा बढी स्थल भएकाले कपिलवस्तुलाई प्रदेश नम्बर पाँचको राजधानी बनाउनुपर्ने एमाले नेता रउफ अहमद खाँले बताए। माओवादी नेता दीपक पाण्डेले जिल्लाबासीको चाहना कपिलवस्तु राजधानी बनाउनुपर्ने भएकाले यहाँ राजधानी नतोकिए निरन्तर संघर्ष गर्ने चेतावनी दिए। उनले पर्यटकीय तथा पुरातात्विक क्षेत्रको धनी कपिलवस्तु राजधानी बनाइए आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी दिए।

सदरमुकाम केन्द्रित आन्दोलन भए पनि आगामी शनिबार जिल्लाभरका स्थानीय तहमा समेत आन्दोलन हुने नेकपा माओवादीका एक नेताले बताए। दबाबमुलक आन्दोलन गर्दा समेत सरकारले माग पूरा नगरे जिल्ला बन्द गरी कडा आन्दोलन गर्ने संघर्ष समितिले चेतावनी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *