धरानलाई समृद्ध बनाउन काग्रेससँग गठबन्धन भएको हो: अशोक राई

अशोक राई कुनै समय एमालेका प्रभावशाली नेतामा गनिन्थे । नेकपा एमालेको आठौं महाधिवेशनबाट सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी भएका राईले पहिचानका मुद्दाहरु एमालेले बोक्न नसकेको भन्दै पार्टी परित्याग गर्दै ०७९ मंसिरमा संघीय समाजवादी पार्टी गठन गरे ।
दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले अनपेक्षित हार ब्यहोरेपछि एमालेमा रहँदाको ओज पनि सकियो । त्यसपछि मधेश राजनीतिमा केन्द्रित रहेको उपेन्द्र यादवको मधेशी जनाधिकार फोरमसँग एकिकरण गरी अहिले संघीय समाजवादी पार्टीबाट राजनीतिमा स्थापित हुने क्रममा छन् । र, अहिले प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट सुनसरी क्षेत्र नं. १ मा निर्वाचनमा उठेका छन् । उनै नेता राईसँग हाम्रा संवाददाता भरतराज शर्मा (गोपाल) ले चुनावी कुराकानी गर्नुभएको छ ।

अशाेक रार्इ, प्रतिनिधिसभा उम्मेद्वार, सुनसरी क्षेत्र नं. १, संघीय समाजवादी पार्टी

सुनसरी क्षेत्र नं. १ तपार्इकाे एरिया त हैन, तथापि, याे क्षेत्रबाट तपाईको उम्मेदवारी किन र के का लागि ?

हामीले समग्ररुपमा देशलाई हेर्नुपर्छ । राजनीतिक संक्रमणको अन्त्यसँगै देश समृद्धिको दिशामा अघि बढिरहेको छ । यस अन्तर्गत हामीले पूर्वी नेपालकै केन्द्रमा रहेको धरानलाई समृद्ध बनाउनको निम्ति गहन जिम्मेवारी लिनुपर्ने छ ।

आगामी पाँच वर्षमा धरानलाई समृद्ध बनाउन मेरो उम्मेद्वारी हो । यसका धेरै पाटाहरु छन् । धरानले सिंगो पुर्वी सुन्दर नेपाललाई नेतृत्व गर्न सक्छ । अहिले पनि धरान पुरानो पहाडी जिल्लाहरुको केन्द्रविन्दु हो । धरानलाई १ नं. प्रदेशलाई नेतृत्व गर्ने गरी अगाडि बढाउनु पर्छ । त्यसको निम्ति मैले आफ्नो उम्मेदवारी सुनसरी क्षेत्र नं. १ बाट गरेको हुँ ।

यो निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारहरु पनि हुनुहुन्छ । आम मतदाताले अरु उम्मेदवारलाई मत नदिएर तपाईलाई नै मत दिनुपर्ने कारण के ?

अरु पनि उम्मेदवार हुनुहुन्छ । उहाँहरुले आफ्नो ठाउँबाट आफनो हैसियत अनुसार प्रयास गर्नुहुने नै छ भन्ने मैले विश्वास गर्छु । मेरो लामो राजनीतिक इतिहास छ, संविधान निर्माणसम्म मैले खेलेको भूमिका नै हो । धरानसँग मेरो भावनात्मक सम्बन्ध छ । मैले सरकार र अन्तर्राष्ट्रिय समुदायमा खेल्न सक्ने मेरो आत्मविश्वास रहेको छ । अहिले पनि मैले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा राम्रो पहलकदमी लिन सक्छु । मलाई मतदाताहरुले फेरि मतदान गरेर धरानको समृद्धि र समग्र मुलुकको नेतृत्वका लागि सहयोग गर्नुपर्छ भन्ने मेरो भनाई हो ।

तपाईले सुनसरी क्षेत्र नं. १ को विकासमा कुन क्षेत्रलाई बढी प्राथमिकता दिनुभएको छ ?

मुख्य त म बिभिन्न मन्त्री हुँदा सुनसरी क्षेत्र नं. १ र धरानको मात्र नभएर देशैभरीमा धेरै बजेट विनियोजन भएको छ । मैले जिल्लामा विनियोजन गरेको बजेटको सही सदुपयोग भयो कि भएन भनेर अझै हेर्न बाँकी छ ।

सुनसरी जिल्लामा वार्षिक करोडौं बजेट विनियोजन हुँदै आएको थियो । यो उल्लेखनीय कुरा हो । म धरानमा पर्यटकीय स्थल मार्ग लगायतका ठूला योजनाका सडक तथा अन्य क्षेत्रमा बिकास गर्न चाहन्छु ।

तपाईले समृद्ध धरानको कुरालाई जोड दिँदा समृद्ध धरानका आधारहरु के देख्नु भएको छ ?

धरान पुर्वकै सुन्दर शहर हो । जनसहभागीतामा नेपालको नमूना नगर होे । भूगोलले हामीलाई निकै साथ दिएको छ । वातावरणीय हिसाबले पनि यो शहर आवासिय शहरका लागि उपर्युक्त छ । यो पूरै पहाड पनि होइन, तराई पनि होईन । यहाँको सामाजिक, सांस्कृतिक र जातिय सद्भाव अर्को महत्वपूर्ण पाटो हो । यहाँबाट पुर्वी पहाडी नेपालका १ नं प्रदेशका प्रमुख शहरहरु जोडिन्छन् । यहाँ विमानस्थलको राम्रो सम्भावना रहेको छ । यसलाई पर्यटकीय शहर पनि बनाउन सकिन्छ । धरानलाई पर्यटकीय शहर बनाएर यहाँको आर्थिक विकासमा टेवा दिन सकिन्छ ।

लोकतान्त्रिक गठबन्धन कहिलेसम्म र के का लागि निर्माण गरिएको हो ?

सामाजिक, आर्थिक रुपान्तरणका सवालमा लोकतान्त्रिक विचारधारामा आधारित शक्तिहरुको गठबन्धन गरिएको हो । एमाले–माओवादी यस मानेमा अलिक संकीर्ण छन् । उनीहरु अझैसम्म परम्परागत सम्बन्धमै चल्न चाहन्छन् । आर्थिक उत्पादन र उत्पादक शक्तिहरुको सम्बन्धमा उ धेरै प्रगतिशिल ढंगले सोच्न सक्दैन । यसकारण लोकतान्त्रिक गठबन्धनको एउटा सरकार निर्माण आजको आवश्यकता हो । त्यसको निमित्त लोकतान्त्रिक गठबन्धन गरिएको हो ।

तपाईहरुले चुनावी तालमेलको लागि एकता संयोजन समिति गठन गर्नुको कारण चाहिँ के ?

चुनाव जित्नका लागि संयोजन समिति बनेको हो । संयोजन समिति बन्ने बित्तिकै सधैका लागि पनि होइन । एमालेसँग चुनावी तालमेल गर्ने भनेर माओवादीले बाम गठबन्धन बनाएपछि हामीले पनि नेपाली काग्रेससँग गठबन्धन गरेको हो । यो गठबन्धन हुनु कुनै नौलो कुरा हैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *