पर्यटन र कृषिको ‘हव’ चितवन १ मा पुरानै नेताबीच प्रतिस्पर्धा

मङ्सिर १२, चितवन । विदेशीले चितवन घरभन्दा चिन्दैनन् तर, ‘सौराहा’ घर भनेर परिचय दियो भने सजिलै खुट्याउँछन् । पर्यटन व्यवसायी प्रकाश भट्टराईको अनुभव हो यो । त्यही सौराहा नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा परिचित छ । रत्ननगर नगरपालिकामा पर्ने सौराहासँगै अन्य धेरै पर्यटकीय गन्तव्य चितवन क्षेत्र नम्बर १ मा परेको छ ।

अहिले उक्त क्षेत्रमा वाम गठबन्धनबाट नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटी उम्मेदवार छन् । “नेताको चुनावी मुद्दा पर्यटकको विकास गरिने छ भन्ने हुन्छ, तर कसरी विकास गर्ने भन्ने ठोस योजना छैन,” भट्टराईले भने, “भोट माग्नेभन्दा नयाँ कुरा केही छैन ।” अहिले मुग्लिन सडकजस्ता पर्यटन मार्गको दुरवस्थामा कसैको ध्यान नगएको उनको भनाइ छ ।

क्षेत्र नम्बर १ मा राप्ती, खैरहनी र रत्ननगर नगरपालिका पर्दछ । सौराहासँग महत्त्वपूर्ण पर्यटकीय क्षेत्र कुमरोज, परेवाकोट र कंकाली कोट छन् । ग्रामीण पर्यटन विकासका दृष्टिले पहाडी इलाका साविक कोराक र लोथर गाविस चेपाङको रहनसहनसँगै सुन्दर प्राकृतिक दृश्यावलोकनका लागि मनमोहक छ ।

उनीहरूको रहनसहन र संस्कृतिको अध्ययनका लागि पनि यो गन्तव्यस्थल हो । विश्व रामसार सूचीमा सूचीकृत विष हजारी तालले पर्यटकलाई मोहित पार्छ । चित्रसारी, रमाइलो डाँडा, पञ्चकन्या, शान्तिकुञ्ज क्षेत्र नम्बर १ का आकर्षक पर्यटकीय गन्तव्य हो । कतिपय क्षेत्र पर्यटन पूर्वाधारयुक्त भइसकेका छन् भने कतिपय क्षेत्र पूर्वाधारको अभावमा गन्तव्य बन्न सकिरहेको छैन ।

चितवनको सौराहा आएका पर्यटक क्षेत्र नम्बर ३ अन्तर्गतको पटिहानी, जगतपुर, मेघौली घुम्छन् । पूर्वी चितवनको क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सिंराइचुली, उपरदाङगढी शक्तिखोर, कालिकालगायत सुन्दर पर्यटकीय क्षेत्रमा गएर घुम्ने गरेका छन् ।

चितवन निकुञ्ज घुम्ने दुई लाख पर्यटकमध्ये ८० देखि ९० प्रतिशत चितवन क्षेत्र नम्बर १ बाटै जान्छन् । यसरी हेर्दा चितवनको क्षेत्र नम्बर १ जिल्लाको सबै क्षेत्रको पर्यटकीय केन्द्र हो ।

पर्यटन पूर्वाधारको विकास गरी पर्यटनलाई विकेन्द्रीकरण गर्न जरुरी छ भन्नुहुन्छ पर्यटन व्यवसायी जीतु तामाङ । यसतर्फ चुनावी मुद्दा बनाई व्यवहार मै काम गर्नुपर्ने तर्क व्यवसायीको छ ।

पर्यटनको मुख्य ‘हव’ सौराहा हो । सौराहासँग लुम्बिनी र पोखरालाई समेत जोडेर त्रिकोणात्मक पर्यटक विकासको योजनासमेत अघि सारिएको छ । त्यसैले चितवन क्षेत्र नम्बर १ चुनावी क्षेत्र मात्रै नभई आकर्षक पर्यटकीय केन्द्र हो भनेर नेतालाई बुझाउनु पर्ने खाँचो छ ।

निकुञ्ज र बस्तीको सिमाना हुँदै बग्ने राप्ती नदीलाई भरपूर उपयोग गर्न सकियो भने लोथरदेखि सौराहासम्म २० किलोमिटर क्षेत्र आफैँमा सुन्दर पर्यटकीय नगरी बन्छ । यसमा राजनीतिक इच्छाशक्ति र व्यवस्थापनको खाँचो छ ।

त्यसो त यो क्षेत्र पर्यटनसँगै कृषिका लागि पनि महत्त्वपूर्ण छ । यहाँको रत्ननगर, खैरहनी, भण्डारा, पिप्ले तरकारी र धानखेतीका लागि अब्बल मानिन्छ । उर्बरा भूमि र सिँचाइको पर्याप्तताले यहाँको उत्पादनमा पश्चिम चितवनजस्तो पानीको अभावमा प्रभावित हुनुपर्ने अवस्था छैन ।

त्यसैले कृषि पर्यटनको पनि उत्तिकै सम्भावना देख्नुहुन्छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख सोमनाथ घिमिरे । अहिले पनि विभिन्न जिल्लाबाट कृषि पर्यटक यो क्षेत्रमा घुमेर विभिन्न अनुभव लिएर जाने गरेका छन् ।

केरा, माछाखेती, पशुपालन, पोल्ट्रीको विकासले आर्थिक उन्नतिमा ठुलै फड्को मारेको बताउनुहुन्छ रत्ननगर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष ज्ञानबहादुर विसुराल । नेताले बोलेका कुरा साँच्चै व्यवहारमा लागू गर्ने हो र ठोस योजना ल्याए यो क्षेत्रको विकास खोज्न कहीँ जानु नपर्ने उनको भनाइ छ ।

पाण्डे र बुर्लाकोटीबीच प्रतिस्पर्धा
पर्यटन र कृषिको महत्त्वपूर्ण क्षेत्र चितवन क्षेत्र नम्बर १ मा यसपालि मुख्य चुनावी प्रतिस्पर्धा वाम र लोकतान्त्रिक गठबन्धनबीच छ । वि सं २०७० मा कडा प्रतिस्पर्धामा उत्रिएका पूर्व अर्थमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र काँग्रेसका नेता राजेन्द्र बुर्लाकोटी नै यसपालिको प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा छन् ।

वि सं २०७० मा पाण्डेको १८ हजार ७६० र बुर्लाकोटीको मत १३ हजार ७४५ थियो । कुल पाँच हजार १५ मतले बुर्लाकोटी पराजित भएका थिए । अहिले दुवै नेता चुनावी एजेण्डासहित घरदैलोमा छन् । वाम गठबन्धनका उम्मेदवार पाण्डे पर्यटन विकास, सडक निर्माण, पहाडी क्षेत्रको विकासका १० योजना घोषणासँगै चुनावी अभियानमा छन् । उनले सौराहामा पूर्वाधार निर्माण गरी सौराहा लोथरलाई पर्यटन मार्गका रूपमा विकास गर्ने योजना अघि सारेका छन् ।

पूर्वी चितवनमा चक्रपथ, औद्योगिक क्षेत्र, नदीमा तटबन्ध, भण्डारा मलेखुको वैकल्पिक मार्ग, अस्पताल रङ्गशालालगायतमा आर्थिक स्रोतको समेत परिकल्पना गरिसकेको पाण्डे बताउँछन् । कतिपय योजना प्रक्रियामा समेत गइरहेको उनको दाबी छ ।

उनीहरूको चुनावी घोषणा भने पर्यटनभन्दा पनि मिश्रित पुरानै एजेण्डामा केन्द्रित छ । यता लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बुर्लाकोटीका योजनामा पनि उस्ताउस्तै नै छ । पर्यटन पूर्वाधारको विकास गरी सौराहालाई दोस्रो पर्यटन क्षेत्र बनाउने, सडक निर्माण, ग्रामीण क्षेत्रको चेपाङको आयआर्जन विकासका कार्यक्रम उनका योजनामा छन् । उनले घर नभएकालाई व्यवस्थित बसोबासको व्यवस्था गर्ने, प्रसूति अस्पताल, बाल अस्पताल, युवा रोजगारीको व्यवस्था गर्ने बताए ।

क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ एक सिटका लागि १३ जनाको उम्मेदवारी छ जसमा तीन जना स्वतन्त्र छन् । वाम गठबन्धनबाट पूर्व अर्थमन्त्री तथा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता राजेन्द्र बुर्लाकोटी हुन । काँग्रेस महासमिति सदस्य बुर्लाकोटी व्यवसायी हुन । यस्तै अन्य उम्मेदवारमा राष्ट्रिय जनता पार्टीबाट अर्जुन बर्ताैला, राष्ट्रिय जनमोर्चाबाट ईश्वरी पौडेल, नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट घननाथ सापकोटा छन् ।

नयाँशक्ति पार्टीबाट जनार्दन दुवाडी, विवेकशील साझा पार्टीबाट नीरज रेग्मी, सङ्घीय समाजवादी फोरमबाट मनोज पोखरेल र मंगोल नेशनल अर्गनाइजेशनबाट वीरबहादुर गुरुङको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यमा सिंहबहादुर गोले, श्रीराम कँडेल र केशव रेग्मीले स्वतन्त्ररुपमा उम्मेदवारी दिनुभएको छ । वाम गठबन्धनले क्षेत्र नम्बर १ प्रदेश (क) मा दाबा लामा र (ख) मा कृष्ण खनाललाई उम्मेदवार बनाएको छ । लोकतान्त्रिक गठबन्धनले प्रदेश (क) मा धनबहादुर गुरुङ तथा (ख) मा उत्तम आचार्यलाई उम्मेदवार बनाएको छ ।

जिल्लामा १६१ मतदानस्थलमा ४०८ वटा मतदान केन्द्र रहेको छ । क्षेत्र नम्बर १ मा कुल ५६ वटा मतदानस्थल तोकिएको छ । तीन लाख ५४ हजार ३६ मतदातामध्ये क्षेत्र नम्बर १ मा एक लाख १९ हजार ९९८ मतदाता रहेका छन् । यसमा ५७ हजार ६९९ पुरुष र ६२ हजार २९९ महिला छन् ।

निर्वाचन आचारसंहितामा कडाइ

चितवनमा निर्वाचन आचारसंहितमा कडाइ गरिएको छ । निर्वाचन आचारसंहित अनुगमन टोलीका प्रमुख उद्धव पुडासैनीका अनुसार मौखिम आएका उजुरीको समेत सुन्ने गरेको र आचारसंहितामा कडाइ गरेको बताए । उनका अनुसार मौखिक उजुरीको समेत तत्कालै अनुगमन गर्ने र त्यस्ता कार्य रोक्ने गरिएको छ । “अहिलेसम्म वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट उस्तैउस्तै मौखिक उजुरी आइरहेको छ,” पुडासैनीले भने, “हामीले तत्कालै टोली पठाएर नियन्त्रण गर्ने गरिरहेका छौँ ।” कतिपयले भेटेरै उजुरी गर्ने गरेको र कतिपयले फोनबाट उजुरी दिने गरेको उनले बताए ।

मौखिक उजुरी आए पनि अनुगमन टोलीद्वारा त्यस्ता कार्य रोक्न टोली परिचालन गर्ने गरेको उनले बताए । उनका अनुसार आइतबारमात्रै चितवनको पूर्व र पश्चिम क्षेत्रमा सार्वजनिक स्थलमा प्रचार सामग्री राखेको भनेर मौखिक उजुरी आयो । चितवनको क्षेत्र नम्बर १ को घट्टेटोलमा सामूहिक भोज लगाइरहेको भन्ने उजुरीसमेत आएको थियो । क्षेत्र नम्बर २ को रत्ननगर नगरपालिका–५ मा खम्बामा प्रचार सामग्री राखिएको भन्ने मौखिक उजुरी आएको थियो ।

ती उजुरी आउने बित्तिकै तत्कालै टोली परिचालन गरेर अवस्था बुझेको र नियन्त्रण गरेको सहन्यायाधिवक्ता समेत रहेका अनुगमन टोली प्रमुख पुडासैनीले जानकारी दिए । आचारसंहितामा टोपी ज्याकेट, झोलामा कुनै पनि दलको स्टिकर, पोष्टर तथा निर्वाचन चिह्न लगाएर हिँड्न नपाइने व्यवस्था छ । सार्वजनिक स्थलमा प्रचार सामग्री राख्न नपाइने, सभाका लागि बाहेक अरू समयमा ध्वनि प्रदूषण गर्न नपाइने, धार्मिक संघसंस्थामा जुलुससभा गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

यस्तै बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै प्रचार गर्न पाइने, प्रतिनिधिसभाका उम्मेदवारले बढीमा चार वटासम्म हल्का सवारी प्रयोग गर्न पाउने तथा टिभी एवं रेडियोमा विज्ञापन बजाउँदा चौबिस घण्टामा बढीमा चार पटकसम्म एक मिनेट बराबरको मात्रै बजाउन पाउने व्यवस्था छ । यस्तै प्रदेशका उम्मेदवारले भने बढीमा दुई पटक अधिकतम ४५ सेकेण्डको प्रसारण गर्न पाउने व्यवस्था रहेको छ । तीनवटा निर्वाचन क्षेत्रमा नौ सिटका लागि जिल्लामा ९५ जनाको उम्मेदवारी छ । जिल्लामा मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार अभियानले तीव्रता पाएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *