यस्तो बन्यो गणतन्त्र स्मारक !

“काठमाडौं, फागुन १ । गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको स्मारकको काम सकिएको हो ।
सरकारले विसं २०६९ मंसिरमा बिकोई स्काई बंगलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरी तीन वर्षभित्र निर्माण गर्ने भने पनि निर्माणमा केही ढिलाइ भएको थियो ।
कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले स्मारक निर्माणको काम पुरा भएकाले यही महिना भवन विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए । “स्मारक निर्माण कार्य समयमा सम्पन्न गर्ने गरी काम गरेका थियौँ, भूकम्प र भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले केही समय ढिला गरी सम्पन्न भएको हो”, उनले भने ।
पैँतीस रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारक शुरुमा रु ३० करोडमा सम्पन्न गर्ने सम्झौता भए पनि झण्डै रु ४० करोड खर्च भएको कम्पनीले जनाएको छ । भवन विभागले गणतन्त्र दिवसका अवसरमा उद्घाटन गर्ने योजना बनाएको श्रेष्ठले बताए ।
१५ जेठ ०७५ देखि उक्त स्मारक सर्वसाधारणका लागि खुला गरिनेछ । मुख्य भौतिक संरचनाहरुको निर्माण लगभग सकिएको छ ।
नागपोखरीतर्फको भागमा शान्त वातावरणमा आधुनिक पार्कसहित बनेको स्मारक आगामी गणतन्त्र दिवसदेखि खोल्ने गृहकार्य भइरहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।
सुरुमा नारायणहिटी दरबारको ८२ रोपनी स्मारकलाई उपलब्ध गराउने निर्णय भएको थियो । तर, सुरक्षा संवेदनशीलता देखाउँदै नेपाली सेनाले ३५ रोपनी मात्रै हस्तान्तरण गर्यो ।
सोही क्षेत्रफलमा स्मारक निर्माण भएको छ । त्यसभित्र हिमाल, पहाड र तराई झल्किने गरी ठूलो नक्सा निर्माण गरिएको छ । गणतन्त्र प्राप्तिका लागि भएका संघर्ष र बलिदान सम्झना गराउने तस्बिर, वस्तु र कलाकृतिहरु राखिनेछन् ।
ग्यालरीमा कस्ता कलाकृति र सामग्री राख्ने भन्नेबारे हालसम्म निर्णय भएको छैन । तर, ग्यालरी निर्माण लगभग सकिएको भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर मचकाजी महर्जनले जानकारी दिए ।
‘अहिले रंगरोगन, बगैँचा सजावट, फिनिसिङलगायत काम भइरहेको छ,’ महर्जनले भने, ‘अब मुख्य रुपमा स्मारक क्षेत्रलाई पर्खालले घेर्ने काम बाँकी छ । त्यसका लागि टेन्डर भइसक्यो ।’
निर्माण सकिएपछि नारायणहिटी दरबार संग्रहालयले यसलाई सञ्चालन गर्नेछ । यो स्मारकसँगै आकर्षक बगैँचा पनि रहनेछ । शान्त वातावरण रुचाउनेहरुका लागि यो काठमाडौंको मध्यक्षेत्रमै नयाँ गन्तव्यका रुपमा विकास हुनेछ ।
स्मारकका चार वटा स्तम्भमा गणतन्त्र प्राप्तिको आन्दोलन र संघर्षहरुमा मृत्यु भएका, बेपत्ता पारिएका, अंगभंग भएकाहरुलाई स्मरण गराउने योजना छ ।
अपांगमैत्री स्मारक परिसरमा वाटर फाउन्टेन र विशेष बत्तीसहितको बगैँचा बन्नेछ । प्रवेश शुल्क कति लिने भन्ने तय भएको छैन ।”








