शीर्ष नेताहरूलार्इ सर्वसम्मत गर्ने दलहरूकाे तयारी

कात्तिक १, काठमाडाैं । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रतिनिधि सभा निर्वाचनमा शीर्ष नेतालाई सर्वसम्मत रूपमा निर्वाचित गर्ने गृहकार्य सुरु भएको छ । यस्तो समझदारी नेपाली काँग्रेससँग समेत गर्ने तयारी वाम गठबन्धनको शीर्ष तहमा भइरहेको जनाइएको छ । कम्तीमा तीन पार्टीका शीर्ष नेता– एमाले अध्यक्ष केपी ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहजै विजयी हुनेगरी समझदारी गर्ने गृहकार्य भइरहेको छ ।

वाम र लोकतान्त्रिक तालमेल गरी निर्वाचनमा जाँदासमेत शीर्ष नेताले जित्ने सुनिश्चित नहुँदा यस्तो समझदारी हुन लागेको बताइएको छ । निर्वाचनपछि सरकार र प्रतिपक्षी दलको नेतृत्व आफ्नै भागमा पार्ने उद्देश्यले सुन्दा अलि आश्चर्यलाग्ने समझदारीको परिकल्पना गरिएपनि यो अहिले गृहकार्यकै चरणमा छ ।

एमाले माओवादी केन्द्रको संयुक्त कार्यदल निर्वाचन सिट सम्बन्धी तालमेलको अन्तिम गृहकार्यमा लागेको छ । तालमेलको अन्तिम टुङ्गो लाग्नुअघि दुवै पार्टीका नेताहरू एमाले माओवादी केन्द्रबीच मात्र होइन, सत्तारुढ नेपाली काँग्रेससँग पनि केही सिटमा तालमेल गर्ने पक्षमा उभिएका हुन् ।

कम्तीमा तिन पार्टीका मुख्य नेता विजयी हुने गरी तालमेलको प्रस्ताव गर्ने पक्षमा एमाले माओवादी केन्द्रका नेताहरू पुगेका हुन् । यो सहमति अनुसार दुई पार्टीले काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिस्पर्धा गर्ने क्षेत्रमा आफ्नो तर्फबाट उम्मेदवारी नदिने वा कमजोर उम्मेदवार दिनेछन् ।

त्यसको बदलामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिस्पर्धा गर्ने क्षेत्रमा काँग्रेसले पनि उम्मेदवार नउठाउने वा कमजोर उम्मेदवार दिने तयारी छ । यस सम्बन्धी प्रस्ताव छिट्टै काँग्रेससमक्ष लग्ने र त्यसमा सहमति भए ओली, दाहाल र देउवा निर्विरोध वा सहजै निर्वाचित हुने वातावरण बनाउने योजना छ । तर, एमाले माओवादी केन्द्रलाई आफूहरूले लगेको प्रस्ताव काँग्रेसले स्वीकार गर्ने कुरामा भने त्यति विश्वास छैन । नाम बताउन नचाहने गठबन्धनका एक नेताले भने, ‘काँग्रेसको मान्यता प्रतिस्पर्धा गरेरै जाने भन्ने छ, त्यसैले हाम्रो प्रस्तावमा उ मान्ला भन्ने त्यति विश्वास छैन।’

एमाले–माओवादी केन्द्रबीच सिट बाँटफाँट अझै नटुंगिएपनि शीर्ष नेताका प्रदेश सभाका सिट बाँटफाँट भने टुंगो लागेको छ । त्यस अनुसार एमाले अध्यक्ष उठेको क्षेत्रको प्रदेश सभाका दुवै सिटमा एमालेकै उम्मेदवार हुनेछन् भने माओवादी अध्यक्ष दाहाल उठेको क्षेत्रमा माओवादी केन्द्रकै उम्मेदवार हुनेछन् ।

अन्य अधिकांश क्षेत्रका हकमा चाहिँ सङ्घीय सिट र प्रदेश सिटमा मिलाएर उम्मेदवारी दिने सहमति भएको छ । जस्तो, सङ्घीय सिटमा एमालेका उम्मेदवार छन् भने प्रदेश सभाका कम्तीमा एक सिटमा माओवादी केन्द्रका उम्मेदवार हुनेछन् । सङ्घीय सिट एमालेले पाएको क्षेत्रमा पनि यही नीति लागू हुनेछ ।

शीर्ष नेताको विजयमा कुनै अप्ठेरो नपरोस् भन्ने उद्देश्यका साथ दुवै पार्टीको कार्यदलले यो सहमति गरेको हो । ती नेताले भने, ‘एकै निर्वाचन क्षेत्रका मतदातालाई चुनाव चिन्ह सम्बन्धी झमेला नहोस् भनेर शीर्ष नेता लड्ने क्षेत्रका हकमा यस्तो निर्णय गरिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *