नेपाली क्रिकेटको इतिहास र प्रधामन्त्री कप

रोशन पोखरेल

नेपाली राष्ट्रिय क्रिकेट टिम नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिदै आइरहेको छ । नेपाल सन् १९९६ देखि आर्इसीसी एसोसियेट सदस्य राष्ट्रको समूहमा रहदै आएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमले सन् १९९६ देखि प्रत्येक एसीसी ट्रफी टुनामेन्ट, एसीसी टि-ट्वान्टी कप, सन् २००१ मा आर्इसीसी ट्रफीमा भाग लिइसकेको थियो भने दुर्इ वटा आर्इसीसी इन्टर कन्टिनेन्टल कपमा भाग लिर्इसकेको छ ।

नेपालमा राज गरिरहेका राणा वंशबाट सन् १९२० तिर नेपालमा क्रिकेटको सुरूवात भएको थियो । जब बेलायतबाट राणाहरु पढाइ सकेर फर्के तिनीहरुलाई यस खेलले आकर्षित गरेको हुँदा उनीहरुले नेपालमा पनि यस खेलको सुरुवात गरेका थिए । सन् १९४६ मा नेपाली क्रिकेटलाई उकास्नका लागि क्रिकेट एसोसियसन अफ नेपाल ( क्यान ) को स्थापना भएको थियो तर हाल क्यान आन्तरिक विवादलार्इ मिलाउन नसक्दा आर्इसीसीले निलम्बित गरेको छ ।

सन् १९५१ मा आएर जब नेपालमा राणाहरुको अन्त्य भयो त्यस बेला देखि क्रिकेट साधारण जनता माझ पुग्न सफल भएको थियो भने सन् १९९० देखि क्रिकेट पुरै नेपाली जनता माझ पुग्न सफल भएको थियो तर हाल नेपालमा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन नसक्दा नेपाली क्रिकेट खसक्दै गएको स्थिती थियो । यस्तो स्थितीमा राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजना तथा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) को व्यवस्थापनमा भइरहेको प्रधानमन्त्री कपले खेल प्रेमीमा आशाको किरण जागेको त छ तर विभागीय टिम बाहेक अन्य टोलीमा स्तरिय खेलाडी नहुदा खेल प्रेमी निराश भएको देख्न सकिन्छ ।

लिगकम नकआउट प्रणालीमा हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सशस्त्र प्रहरी बल (एपिएफ),  मध्याञ्चल,  मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल रहेका छन् भने समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब,  नेपाल पुलिस क्लब,  पूर्वाञ्चल र सुदूर पश्चिमाञ्चल रहेका छन् ।  दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

एपिएफको कप्तानी राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, पुलिस क्लबको कप्तानी मञ्जित श्रेष्ठ, मध्यपश्चिमाञ्चलको नेतृत्व सुवेन्दु पाण्डेले गर्नेछन् भने त्रिभुवन आर्मीको विनोद भण्डारी, मध्याञ्चलको शरद् भेषावकर र सुदूरपश्चिमको कप्तानी सुरेन्द्र चन्दले   गर्नेछन् । पश्चिमाञ्चलको कप्तान भने अझै टुंगो लागेको छैन ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जेठ ९ गते देखि सुरु भई २४ गते सम्म चल्ने प्रतियोगितामा हरेक खेल जित्दा टिमले २५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको उपाधि विजेताले २० लाख रुपैयाँ पाउनेछ भने उपविजेतालाई १० लाख दिइनेछ । सेमिफाइनलमा पुग्ने बाँकी दुई टिमले पनि ५०-५० हजार पुरस्कार पाउने छन् । म्यान अफ दि सिरिजलाई १ लाख पुरस्कार राखिएको छ । उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०-५० हजार पाउनेछन् भने उदयीमान खेलाडीले २५ हजार पाउनेछ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र काठमाडौं ट्रेनिङ सेन्टरको व्यवस्थापनमा हुने प्रतियोगितामा सहभागी सबै खेलाडीको अनलाइन रजिस्ट्रेशन हुनेछ । यो प्रतियोगितालाई विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँग हुने खेलका लागि नेपाली टोली छनौटको आधार समेत बनाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *