आउदो आईतबार हुने निर्वाचनका लागि सबै तयारी पूरा भएको आयोगको भनाई

काठमाडौं, मंसिर ८ । आउँदो आईतबार हुने पहिलो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको सम्पूर्ण वातावरण मिलाइसकिएकाले मतदातालाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आयोगले आग्रह गरेको छ ।

मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको हो । ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन कर्मचारीले मतदाता परिचयपत्र वितरण गरिरहेका छन् ।

कतिपय हिमाली दुर्गम क्षेत्रमा हेलिकोप्टरमार्फत् निर्वाचन सामग्री र कर्मचारी पुगिसकेको आयोगले जनाएको छ । शनिबारदेखि नै बुथ निर्माण र आवश्यक प्रबन्ध मिलाइने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

पहिलो चरणको ३२ जिल्लामा हुने निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाता रहेका छन् । देशैभरि कुल मतदाता भने १ करोड ५४ लाख २७ हजार ७३१ रहेका छन् । मतदातालाई ढुक्कसँग निर्वाचनमा मतदान गर्न गृह मन्त्रालयसँग आपसी समन्वय गरेर सुरक्षा व्यवस्था चुस्त पारिएको आयोगको दाबी छ ।

मंसिर २१ गते हुने निर्वाचनको तयारीसमेत तीव्रगतिमा भइरहेको आयोगले बताएको छ । दुई चरणकै निर्वाचनमा गरी ११ हजार २२ उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश र प्रधिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी ८२५ सदस्य चुनिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *