कुनै बैङ्कले बढाउदै छन् नाफा त काेही अाेरालाे लाग्दै

कार्तिक २१, काठमाडौं । सोमबार ४ वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजानिक गरेका छन् । वित्तीय विवरण सार्वजानिक गर्ने ४ बैङ्कमध्ये २ बैङ्कको नाफा बढेको छ भने २ बैङ्कको नाफा घटेको छ । ब्याजदर नघटेका कारण ब्याज लगायतमा बैंकहरुको खर्च बढ्दा त्यसको असर नाफामा देखिएको हो । आगामी केही महिना ब्याजदर घटेन भने त्यसको असर बैंकहरुको नाफामा पर्ने प्रस्ट सङ्केत देखिएको छ ।

सिभिल बैङ्क

यो बैङ्कले चालु आबको पहिलो ३ महिनामा ११ करोड ३३ लाख नाफा कमाएको छ । बैङ्कले अघिल्लो वर्ष सोही अवधिमा १ करोड ७१ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको पहिलो ३ महिनाको तुलनामा बैङ्कले ९ करोड ६२ लाख रुपैयाँले नाफामा वृद्धि गरेको हो । बैङ्कको चुक्तापुँजी अघिल्लो वर्ष ३ अर्ब ८ करोड रहेकोमा यस वर्षको पहिलो त्रैमासीक अवधिमा ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैङ्कको निक्षेप ३४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा ३१ अर्ब ३४ करोड रहेको थियो । कर्जा तथा अन्य लगानी ३० अर्ब ९५ करोड रहेको बैङ्कको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा रहेको छ भने खराब कर्जा ४.६९ प्रतिशत रहेको छ ।

लक्ष्मी बैङ्क

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १७ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको तुलनामा करिब ३ करोड ५० लाखले बढी हो । गत वर्षको यसै अवधिमा बैङ्कले १३ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । बैङ्कको चुक्ता पुँजी गत असोज मसान्तमा ३ अर्ब ३ करोड रुपैयाँ रहेकोमा यस वर्षको असोजमा ८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । बैङ्कले ५८ अर्ब ६४ करोड निक्षेप सङ्कलन गरी ५४ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ । बैङ्कको जगेडा कोषमा २ अर्ब १३ करोड रहेको छ । गत वर्षको असोज मसान्तको तुलनामा बैङ्कको खराब कर्जामा केही बढोत्तरी भएको छ । यस्तो कर्जा अघिल्लो वर्षको पहिलो त्रैमासमा १.६३ प्रतिशत रहेकोमा यस मसान्तमा १.७८ प्रतिशत पुगेको छ भने, बैङ्कको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २४ पैसा रहेको छ ।

कुमारी बैङ्क

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कुमारी बैङ्कले ११ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैङ्कले १३ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । बैङ्कको गत आर्थिक वर्षको ३ महिनाको भन्दा चालु आर्थिक वर्षको ३ महिनामा २ करोड ५४ लाख रुपैयाँले नाफा घटेको हाे । गत वर्षको असोज मसान्तमा बैङ्कको चुक्ता पुँजी ४ अर्ब ६१ करोड रुपैयाँ थियो । यो वर्षको असोजमा यस्तो चुक्ता पुँजी बढेर ६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैङ्कले गत वर्ष काष्ठमण्डप डेभलपमेन्ट बैंकलगायतसँग मर्जर गरी चुक्ता पुँजी बढाएको हो ।

गत वर्षको असोजमा ४० अर्ब ३५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कले यो वर्षको असोजमा यस्तो निक्षेप बढाएर ५४ अर्ब ६४ करोड रुपैयाँ पुर्याएको छ । बैङ्कको कर्जा तथा लगानी पनि गत वर्षको असोजमा ३२ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा यो वर्षको असोजमा बढेर ४७ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असोजको तुलनामा बैङ्कको कष्ट अफ फण्ड निकै बढेको छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५१ पैसामात्र रहेको छ ।

एनबी बैङ्क

यो बैङ्कले चालू आवको पहिलो ३ महिनामा १५ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा करिब ७ करोडले कम हो । गत वर्षको यसै अवधिमा बैङ्कले २२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको असोजसम्ममा ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कले चालु आवको असोजसम्ममा ४२ अर्ब २२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । बैङ्कको कर्जा तथा लगानी गत वर्षको असोजमा ३४ अर्ब २७ करोड रुपैयाँ रहेकोमा यस वर्षको असोजमा बढेर ३८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

बैङ्कको चुक्तापुँजी ८ अर्ब ८ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा बैङ्कको चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको थियो । पुँजी वृद्धिले बैङ्कको प्रतिसेयर आम्दानी ८ रुपैयाँमात्रै रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २२ रुपैयाँ रहेको थियो । बैङ्कले खराब कर्जा प्रतिशत भने घटाएको छ । अघिल्लो वर्षको सोही अवधिमा १.१६ प्रतिशत रहेको खराब कर्जा चालु आबको ३ महिनामा ०.७३ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *