‘अरूले झुक्याए, म सच्याउँछु’

असीम तिमल्सिना । नेपाली काँग्रेसले प्रदेश नं १ उदयपुर जिल्ला स्थित त्रियुगा नगरपालिकामा बसन्त बस्नेतलाई नगर प्रमुखको उम्मेदवारको रूपमा उभ्याएको छ । विगत तीन दशकदेखि नेपाली काँग्रेसको राजनीतिमा संलग्न ४६ वर्षीय बस्नेत आफू यस अघिका अन्य उम्मेदवार झैँ झुक्याउन नआएको बताउनु हुन्छ ।

‘यसअघिका सातवटा चुनावमा एमाले र माओवादीले जित हासिल गरे पनि यो क्षेत्रको विकासमा कुनै काम गर्न सकेनन् । उनीहरूले जनतालाई झुक्याए तर ती गलत प्रवृत्तिलाई यसपालि जनमत मार्फत म विकासको लहर ल्याएर सच्याउने छु’ उम्मेदवार बस्नेतले बताउनुभयो ।
आफू जन्मेहुर्केर्को ठाँउको विकासको निम्ति उम्मेदवारी दिएको बताउने बस्नेत धुँवा र धुलो मुक्त त्रियुगा नगर बनाउन प्रतिबद्ध रहनुभएको छ । त्रियुगालाई आर्थिक कोरिडोर बनाउने गुरुयोजना सहित अघि बढ्नुभएका बस्नेत नगरलाई पर्यटकीय क्षेत्र समेत बनाई देशकै नमुना नगर बनाउने बताउनु हुन्छ ।
‘प्रदेश नं १ कै ठुलो विमानस्थल बन्न लागेको छ यस नगरमा, यो बन्ने बित्तिकै पर्यटक आगमनमा वृद्धि हुन्छ, यहाँको आर्थिक गतिविधिमा बढोत्तरी हुन्छ र आर्थिक सम्वृद्धिका हिसाबले त्रियुगा देशकै नमुना नगर बन्नेछ’ उहाँले जिकिर गर्नुभयो । प्रचुर मात्रामा स्रोत उपलब्ध रहेको त्रियुगालाई यहाँ उपलब्ध स्रोतबाटै विकास गर्न सकिने बस्नेतले तर्क गर्नुभयो ।
आफूले जितेको खण्डमा ठाँउठाँउमा विश्रामस्थल निर्माण गरिने, रङ्गशाला निर्माण गरिने, +२ सम्म अनिवार्य पढ्न प्रोत्साहन गरिने तथा गरिब एवम् सिमान्तकृत जनताको जीवनस्तर उकास्न विभिन्न सिपमुलक कार्यक्रम समेत सञ्चालन गरिने कांग्रेस उम्मेदवार बस्नेतले बताउनुभयो ।








