खेलकुदको आडमा ५ करोड भन्दा बढी ठगी गरेको आरोपमा शाही पक्राउ

असार ८ । खेलकुदको आडमा युवालाई विदेश पठाउछु भन्दै मोटो रकम असुल गर्ने पूर्वराष्ट्रिय गोलकिपर लोकबहादुर शाही ५ करोड भन्दा बढी रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । करिब २५ युवालाई क्यानडा पठाइदिन्छु भन्दै रकम असुलेको आरोपमा उनी माथि महानगरीय प्रहरी अपराध महाशाखा, टेकुमा उजुरी परेको थियो । प्रहरीले बिहीबार उनलाई टोखाबाट पक्राउ गरेको हो । शाहीले यसै वर्ष मे १५ देखि २५ सम्म क्यानडाको टोरन्टोमा आयोजना हुने मैत्रीपूर्ण फुटबल खेलमा सबैलाई लैजाने र प्रतियोगिता सम्पन्न भएपछि सबैलाई त्यहीँ छोड्ने सर्तमा हरेक खेलाडीबाट जनही २ लाख ५० हजार रुपैयाँ उठाएका थिए ।
प्रतियोगिताका लागि ललितपुरको श्री कुसुन्ती युवा क्लबबाट खेलाडीको नाम दर्ता गरिएको थियो । तर, शाहीले भनेको समयमा सबैलाई उडाउन नसकेपछि ९ जना युवाहरुले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दर्ता गराएका थिए । ‘क्यानडाको टोरन्टो पठाइदिन्छु भन्दै मसँग २ लाख ५० हजार रुपैयाँ लिए । उनले मे को दोस्रो साता हामीलाई फुटबल खेल्न त्यहाँ पठाउने भनेका थिए । अहिले जुनको दोस्रो साता बितिसक्दा न उनले हामीलाई क्यानडा पठाए, न हाम्रो पैसा फिर्ता गरेका छन्,’ उजुरीकर्ता राजकुमार श्रेष्ठले दुखेसो पोखे ।
प्रहरीका अनुसार शाहीले बैंकमार्फत पैसा बुझेका छन् । ‘१० दिनसम्म फुटबल खेल्नु । त्यसपछि त्यहीँ (क्यानडा) लुकेर बस्दा हुन्छ । १–२ वर्षपछि त्यहीँ बस्ने कानुनी कागज बन्छ भनेर सबैसँग २ लाख ५० हजार रुपैयाँ बुझेका रहेछन्,’ महाशाखाका एसएसपी दीनेश अमात्यले भने, ‘पैसा नेपाल इन्भेष्टमेन्ट बैंकमा जम्मा भएको देखियो । र, पैसा बुझेको रसिद स्पोर्ट्स् फर अल भन्ने संस्थामार्फत दिएको देखियो ।’

लोकबहादुर शाही सन् १९८४ मा नेपालले साफ गेममा स्वर्ण जित्दा राष्ट्रिय टोलीका गोल किपर थिए । उनले करिब १० वर्ष राष्ट्रिय टोलीको गोलकिपरको भूमिका निर्वाह गरेका थिए । गणेश थापा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष हुँदा करिब १० वर्ष उनी महासचिव थिए । उनलाई तीन वर्ष अघि एन्फाले सरदचन्द्र शाह स्मृति पुरस्कारबाट सम्मान गरेको थियो । उनी राप्रपा नेपालका पूर्व खेलकुद विभाग प्रमुख पनि हुन् । करिब एक दशक अगाडि उनले ‘स्पोर्ट्स फर अल’ नामक संस्था दर्ता गरेर यसबाट विदेशमा हुने प्रतियोगितामा पूर्व तथा युवा खेलाडीलाई लैँजादै आइरहेका थिए । करिब ३ वर्ष अगाडि उनले नेपालमा कुनै पूर्वाधार नभएको आइस हकी संघ दर्ता गरेका थिए । जसलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छ ।








