निर्माण कार्य सम्पन्न नहुँदै भत्किन थाल्याे पुल

कार्तिक २०, सिमरा । सिमरा-कोल्हबी जोड्ने सडकखण्डस्थित दुधौरा पुल उद्घाटन हुनुपूर्व नै जीर्ण बनेकाे छ । जितपुर सिमरा उपमहानगरपालीका स्थित दुधौरा खोलामा निर्माण हुँदै गरेको पुल निर्माण कार्य सम्पन्न नहुँदै जीर्ण बन्न थालेको हाे ।

केहिदिन अघि परेको पानीले दुवैतर्फको माटो बगाउन थालेपछि अर्को वर्षाका बेलासम्म ड्याम व्यवस्थापन गर्न नसके आवतजावत नै प्रभावित हुन सक्ने स्थानीयको भनाई छ । पुल जोड्ने दुइतर्फी बाटोको छेउमा ड्याम कस्न बाँकी भएकाले गएको वर्षामा केही दिन आवतजावत प्रभावित बनेको थियो । डयाम बग्न थालेसँगै पुलका दाँयाँबाँयाका दर्जन बढी पिल्लरहरू समेत ढलेका छन् ।

उपमहानगरको मनहर्वा, जैतापुर, डुमरवाना लगायत पिपरीया, फत्तेपुर र इर्नवासिराको प्रमुख बजार जोड्ने दुधौरा पुलको ठेक्का सडक डिभिजन कार्यालय हेटौडाले बिरगञ्जको मोनोजेभी (मोना) कन्सट्रक्सनलाई दिएको हो । करिब ४ करोड ३७ लाखमा निर्माण गर्ने ठेक्का पाएको मोनोजेभी कन्स्ट्रक्सनले सो पुल दुई वर्षभित्र निर्माणको जिम्मा लिएको थियो ।

सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियर जयराम अधिकारीका अनुसार मोनोजेभीसँग २०६८ असार ३० मा ठेक्का सम्झौता भएको थियो । सम्झौता थप भएरै निर्माण कार्य भइरहेको पुलको हाल निर्माणको सम्झौता समय सकिएको २ वर्ष बितेपनि निर्माण कार्य अझै बाँकी रहेकाे छ ।

अहिले पुलको निर्माण कार्य सकिएर डिलमा ढुङ्गा भर्ने काम र दुवैतर्फको माटोको डयामलाई पहिरिन नदिन चपरी वा तारजाली लगाउने काम अझै बाँकी रहेको इन्जिनियर अधिकारीले बताए । उनका अनुसार मोनोजेभीले जिल्लाका अन्य स्थानमा पनि पुल निर्माणको जिम्मा लिएर अलपत्र छाडेको आरोप लगाएका छन् । ‘कन्स्ट्रक्सनले बाँकी भुक्तानीका लागी दिनमा ५ पटक फोन गर्छ, मैले फाइल लगाडि बढाएको छैन ।’, उनले भने – ‘पुललाई जोखिममा पार्दैनौँ, अब एक पटक तपाईँ हामी भिजिट गछौं, अनि बाँकी कामका लागी प्रक्रिया अगाडि बढ्छ ।’

पुल निर्माण कम्पनीसँग हरहिसाब फर्छ्यौट नभइसकेको बताउँदै अधिकारीले निर्माण कम्पनीसँगको म्याद समेत गुज्रिसकेकाले मोनोजेभीको बाँकी भुक्तानी पनि अन्योलमा रहेको बताए । हालसम्म मोनोजेभीको ५० देखि ६० लाखसम्म भुक्तानी बाँकी रहेको उनले जानकारी दिए ।

मोनोजेभिले नै सो सडक खण्ड अन्तर्गत पर्ने रामनगर खोलाको पुल निर्माण समेत अलपत्र पारेको छ । करिब डेढ करोडको लागतमा ठेक्का सकारेको कन्ट्रक्सनले ठेक्काको म्याद गुज्रेपछि सम्पर्कबिहीन बनेको छ ।

पुलको निर्माण कार्य सम्पन्न हुन नपाउँदै भत्किन थालेपछि स्थानीय आक्रोशित बनेका छन् । समयमै पुल निर्माणको काम नसकेर पुन दोस्रो पटकको म्याद थप गरेको निर्माण कम्पनीले निर्माणमा कमसल सामग्री प्रयोग गरेको र मापदण्ड अनुसार काम सम्पन्न नगरी अलपत्र छाडेकाले पुल धरापमा परेको स्थानीयवासी त्रिलोकबिक्रम साहले आक्रोश पोखे ।

सडक डिभिजन कार्यलय हेटौडाका प्रमुख कमलेशकुमार कर्णसहितको टोलीसँग भेट गर्दै नगर प्रमुख डा. कृष्ण पौडेलले निर्माणाधीन दुधौरा नदीको पुल मर्मतको कामलाई तत्काल सम्पन्न गर्न आग्रह गरेका छन् । प्रमुख कर्णले निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीलाई काम छिटो सम्पन्न गराउनका लागि दबाब दिनुका साथै अनुगमन र निरीक्षणमा सक्रिय रहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =