पोखरामा अक्सन मार्फत खेलाडी छनोट

असार २१ । पोखरामा साउन १६ देखि २८ गते सम्म माछापुच्छ्रे क्रिकेट लिग प्रतियोगिता आयोजना हुने भएको छ ।पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको लिगमा बाग्लुंग, स्यांजा, पर्बत, तनहु, पोखरा र माछापुच्छ्रे गरि ६ टोली सहभागी रहनेछन् ।

माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा हुने लिगमा स्थानीय खेलाडीहरुको सहभगिता र कप्तानी रहनेछ । बाग्लुंगको कप्तान विजय बिक, स्यांजाको कप्तान दिवाकर थापा, पर्बतको कप्तान राजु थापा, तनहुँको कप्तान राजु गुरुङ, पोखराको कप्तान प्रविन ढकाल र माछापुच्छ्रेको कप्तान दिपेश खत्रीले गर्नेछन् । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको छनौट अक्सनद्वारा गरिनेछ । अक्सनमा टिम कप्तान, टिम मालिकले खेलाडीको लागि बोली लगाउने छन् । प्रत्येक टिममा १५ जना खेलाडीको सहभागिता गराइनेछ ।

बिजेता टिमले ३ लाख र उपविजेता टोलिले २ लाख रुपैयाँ पुरस्कार पाउने छन् । भने, प्रतियोगिताको प्रत्येक म्यान अफ द म्याचलार्इ २ हजार रुपैयाँ र फाइनल खेलको म्यान अफ द म्याचलार्इ ५ हजार रुपैयाँ दिइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु. २० हजार तथा बेस्ट बलर तथा ब्याट्सम्यानले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका सम्पूर्ण खेलहरु माछापुच्छ्रे क्रिकेट क्लब मैदान पोखरामा हुनेछ ।

पोखरा वरिपरीका विकासोन्मुख जिल्लाहरुमा रहेका क्रिकेटरहरुलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी जिल्लाहरुका १२० जना खेलाडीलाई प्रत्येक्ष फाइदा पुग्ने आयोजकले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ । लिग अन्तर्गत पहिलो चरणमा ६ टिमले एक-अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । भने, लिग चरणबाट उत्कृष्ट ४ टोली प्ले अफ चरण प्रवेश गर्नेछन् । लिगको उत्कृस्ट २ टिम बीच खेलको बिजेता सिधा फाइनल प्रवेश गर्नेछ भने उक्त खेलमा हार्ने टिमले लिगमा तेश्रो र चौथो टिम बीच भएको खेलको बिजेतासँग दोश्रो क्वालिफायर खेल खेल्नेछ जुन खेलको बिजेता फाइनल प्रवेश गर्नेछ ।

आयोजकद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सहभागी ६ टिमका कप्तानहरु, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल उपस्थित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *