सिरहा जिससमा एमाले–माओवादी प्यानल विजयी

कात्तिक २८, लहान । जिल्ला समन्वय समिति, सिरहामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन प्यानलै विजयी भएको छ । सोमबार सम्पन्न मतदानबाट जिल्ला समन्वय समिति, सिरहाको संयोजकमा माओवादी केन्द्रका रामचन्द्र ठाकुर र सहसंयोजकमा नेकपा एमालेका सरोजकुमार यादव विजयी भएका छन् ।

त्यसैगरी, दलित तथा अल्पसंख्यक सदस्यमा वाम गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका कृष्णमाया कामी, नेकपा एमालेबाट गीताकुमारी पासवान विजयी भए । त्यस्तै, समितिका अन्य सदस्य पदमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेशकुमार सिंह, छविलाल यादव र शुभनारायण साहले विजयी भएका छन् । दलित महिला सदस्यमा चेतरा मोची निर्विरोध निर्वाचित भएकी छन् ।

समन्वय समितिको संयोजक र सहसंयोजकमा निर्वाचित ठाकुर र यादवले १८/१८ मत प्राप्त गरेका छन् भने संयोजक पदका प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष बादलप्रसाद यादवले १४ तथा सहसंयोजक पदका प्रतिस्पर्धी नेपाली काँग्रेसका बिसुन साह बनियाँले १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।
सिरहामा आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४ जना जिल्ला सभासद् सदस्यमध्ये ३३ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *