देशकै होची महिलालाई सामाजिक सुरक्षा भत्ता

मोरङ, माघ १६। मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ ।

सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो। १४ किलो तौलकी मालतीको उचाइ ३२ इन्च छ । उनको नागरिकता छैन, तर सुन्दर हरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले मालतीलाई सामाजिक सुरक्षा भत्ताबापत मासिक दुई हजार उपलब्ध गराउने बताए।

मालतीको जन्म २०५६ भदौ १८ गते भएको हो । २०६२ जेठ ३० मा उनले जन्मदर्ता बनाएकी हुन्। बुबा रमेशप्रसाद मुरर र आमा मीनादेवी मुरर दुवैको जन्मसिद्ध नागरिकता छ। तर मालतीको नागरिकता छैन।

सरकारले केही समयका लागि जन्मसिद्ध नागरिकता वितरण कार्य रोकेको छ। जन्मसिद्ध नागरिकता वितरण प्रक्रिया सुचारू भएपछि मालतीलाई नागरिकता उपलब्ध गराउने प्रमुख ढकालले बताए।

उनले जबसम्म मालतीको नागरिकता बन्दैन तबसम्म नगरपालिकाको आन्तरिक स्रोतबाट सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक रूपमा दुई हजार उपलब्ध गराउने बताए।

तीन सन्तानका पिता रमेशप्रसाद मुररको घर सुन्दर हरैँचा–४ को सुकुम्वासी बस्तीमा छ। खान बस्नको समस्या भएका कारण छोरी मालतीको उचाइ बढाउने गरी औषधोपचार र शिक्षाको व्यवस्था गर्न नसकिएको मुररले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =