यी हुन् कांग्रेसका सम्भावित नयाँ मन्त्रीहरू


जेठ, १७ काठमाडौं । पछिल्लो छ महिना यताको राजनीतिक विकसित घटनाक्रममा सर्वाधिक आलोचना खेपिरहेका कांग्रेस सभापति देउवा नयाँ सरकारको नेतृत्व गर्न तयारी गरिरहेका छन् । माओवादी केन्द्रसँगको सहमतिमा प्रधानमन्त्री पुष्पकमल दहालले स्थानीय निकायको पहिलो चरणको निर्वाचन पश्चात सरकारबाट राजीनामा दिएपछि देउवा प्रधानमन्त्री बन्ने कसरतमा छन् । यसका लागि पार्टी भित्रबाट कसकसलाई मन्त्री बनाउने गृहकार्यमा पाटी सभापति देउवा लागेका छन् ।
देउवाले नेता रामचन्द्र पौडेललाई आगामी मन्त्रीमण्डलमा ४० प्रतिशत भाग दिने आश्वासन दिएका छन भने नेता कृष्णप्रसाद सिटौलालाई उपप्रधानमन्त्री सहित रोजेको मन्त्रालय दिने आश्वासन दिएको स्रोतको दावि छ । त्यस्तै, अर्का प्रभावशाली नेता खुमबहादुर खड्कालाई एक मन्त्री र एक राज्यमन्त्री दिने आवश्वास दिएका छन् ।
देउवाबाट मन्त्रीको आशवासन पाउनेहरुमा एक नम्बर प्रदेशबाट भिष्मराज आङदम्बे, केशव थापा, अमृत अर्याल, ज्ञानेन्द्रबहादुर कार्की र रामहरि खतिवडा छन् ।
प्रदेश नम्बर दुईबाट फरमुल्लाह मन्सुर, पद्म नारायण चौधरी, महेन्द्र यादब, डा. अमरेसकुमार सिंह, प्रदेश नम्बर तीनबाट ध्यानगोबिन्द रञ्जित, मोहनबहादुर बस्नेत र तीर्थ लामा छन् ।
चार नम्बर प्रदेशबाट ध्रुब वाग्ले, कमल प्रसाद पँगेनीलाई मन्त्रीको आश्वासन दिइएको छ । त्यस्तै प्रदेश नम्ब पाँचबाट अब्दुल रज्जाक गद्धी, भरतकुमार साह, अतहर कमालको नाम लिएका छन् ।
पाँच नम्बर प्रदेशबाट भने जुम्लाका ललिजंग रावल र राजिब शाह तथा सूदूरपश्चिमबाट एनपी साउद र बीरबहादुर बलायरलाई मन्त्री बनाउने आश्वासन दिएका छन् ।
देउवाले गोपालमान श्रेष्ठ र बिमलेन्द्र निधिलाई उपसभापति, ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्कालाई महामन्त्री, वालकृष्ण खाँडलाई सहमहामन्त्री, सरकारमा मन्त्री वा संगठन बिभाग दिने आश्वासन दिएका छन् ।
मानबहादुर विश्वकर्मालाई सहमहामन्त्री वा सरकारमा मन्त्री दिने भनेका छन् भने डा. प्रकाशशरण महतलाई प्रवक्ता, मिन विश्वकर्मा र रमेश लेखक मध्ये एकलाई प्रवक्ता दिने, प्रवक्ता नपाए विश्वकर्मालाई मन्त्री बनाउने पक्कापक्की भएको स्रोतको दावि छ ।
यता नेता रामचन्द्र पौडेलले आनन्द्र प्रसाद ढुंगाना, महेश आचार्य र डा. शेखर कोइरालालाई मन्त्रीमा सिफारिस नगर्ने पक्का भएको छ । उनले सहमहामन्त्रीमा बलबहादुर केसीको नाम सिफारिस गर्न खोजेपनि सभापति देउवाले रुचाएका छैनन् ।
केसीको सट्टामा पौडेलले महामन्त्रीको लागि दिलेन्द्रप्रसाद बडूको नाम सिफारिस गरेका छन् । तर, देउवा एउटै अञ्चलबाट दुई पदाधिकारी राख्नु उचिन नहुने भन्दै बरु एउटा बिभाग वा मन्त्री पथ थप गरिदिने भन्दै पौडेललाई प्रस्ताव अघि सारेका छन् ।
कांग्रेस पार्टी कार्यालय स्रोतका अनुसार भोलीसम्ममा कांग्रेसबाट सरकारमा जानेहरुको टुंगो लाग्नेछ । देउवाले यसपटक सानो आकारको मन्त्री मण्डल बनाएर दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा केन्द्रित हुने बताएका छन् ।
