क्षारसूत्र चिकित्सा

काठमाडौँ — हाम्रो मुलुकमा एक दशकदेखि तल्लो मलद्वारको रोगको उपचार आयुर्वेदको क्षारसूत्र चिकित्सा पद्तिद्वारा पुन: नबल्झिने गरी सफलतापूर्वक भइरहेको छ । यस्तो उपचार लिनेहरूमा २०–८० वर्षका छन् । बालबालिकाहरूसमेत यो उपचारका लागि पुगिरहेका छन् ।

क्षारसूत्र चिकित्सा भनेको चक्कुको उपयोग नगरी गरिने शल्यक्रिया हो । आयुर्वेद विज्ञानको शल्यचिकित्सा विधिको अधिकृत ग्रन्थ ‘सुश्रुत संहिता’ मा पनि यसको वर्णन गरिएको छ । यसअन्तर्गत पाइल्स, फिस्टुला, क्रोनिक फिसर इन एनो, पाइलो नाइडल साइनस, रेक्टल पोलिप, पेरिएनल वाटर्स, पेरिएनल साइनस आदिको सफलतापूर्वक उपचार गरिन्छ । यो प्रक्रियामा सम्बन्धित ठाउँमा औषधीय धागो छिराइन्छ । त्यो धागोलाई घाउमा लगाउनाले वा त्यसले घाउ छेड्नाले पाइल्स काटिएर आफैँ झर्छ, फिस्टुलाको घाउ पनि बिनाकुनै अतिरिक्त उपचार स्वत: निको हुन्छ ।

‘यो पद्घतिबाट उपचार गर्दा रोग बल्झिने सम्भावना प्राय: हुन्न,’ त्रिवि आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरका आयुर्वेदिक शल्य चिकित्सक डा. रामआधार यादव भन्छन्, ‘धेरै सस्तो, शतप्रतिशत प्रभावकारी चक्कुविहीन (नाइफलेस) यो शल्यक्रियाको सफलताको दर करिब ९९ प्रतिशत छ ।’
आधुनिक चिकित्सा पद्घतिबाट पाइल्सको शल्यक्रिया गर्दा मलद्वारको मांसपेशीमा क्षतिको सम्भावना हुन्छ भने क्षारसूत्रमा यस्तो सम्भावना शून्यप्राय: रहेको यादव औल्याउँछन् । यसले गर्दा यो विधिले पाइल्सको शल्यक्रिया गर्दा आधुनिक चिकित्सा पद्धतिमा जस्तो मांसपेशीमा क्षति भई पछि दिसा नथामिने अवस्था आउँदैन । यो प्रक्रियाबाट उपचार गर्दा कालान्तरमा जटिलता देखिने सम्भावना पनि नगण्य हुन्छ ।
के हो क्षारसूत्र ?
आयुर्वेदिक औषधिहरूबाट बनाइएको एक प्रकारको धागो नै क्षारसूत्र हो । मलद्वारवरिपरि हुने पाइल्स, फिस्टुला जस्ता रोगको आयुर्वेदिक निदान पद्घतिको नाम नै क्षारसूत्र हो । क्षारसूत्र विधिको पहिलो प्रयोग सन् १९६४ मा भारतको काशी हिन्दु विश्वविद्यालयको आयुर्वेद विभागका प्राध्यापक डा. पीजे देशपाण्डेले गरेका थिए । डा. देशपाण्डेले सुश्रुत संहिताको एउटा श्लोकको व्याख्या गर्दै क्षारसूत्रको उपायलाई व्यवहारमा ल्याए ।
क्षारलाई अल्कली र सूत्रलाई धागो भनिन्छ । यसैले क्षारसूत्रमा शोधन (घाउको सफाइ), लेखन (घाउको कटाइ) र रोपन (घाउ भर्ने काम) तीनै एकसाथ हुन्छ । क्षारसूत्र बनाउन अपामार्ग (एकरेन्थिस एस्पेरा), सिउँडीको दूध (इयुफोर्बिया नेरोफोलिया) र बेसार (कर्कुमा लोंगा) चाहिन्छ । धागो (बारबोर थ्रेड) मा पहिले ११ पटक सिउँडीको दूधको लेप लगाइन्छ । यसपछि सात चोटि सिउँडीको दूध र अपामार्ग क्षारको लेप लगाइन्छ । अन्तमा तीन पटक सिउँडीको दूध र बेसारको लेप लगाएर क्षारसूत्र अर्थात् उपचारमा उपयोग गरिने धागो तयार हुन्छ । यो धागोमा सबै गरी २१ पटक विभिन्न लेप लगाइएको हुन्छ ।
‘हेर्नोस्, सिउँडीको दूधमा ब्याक्टेरिया मार्ने गुण हुन्छ,’ डा. यादव भन्छन् ‘अपामार्गमाक्षारलाई काट्ने, सफा गर्ने र घाउ पुर्ने गुण हुन्छ भने बेसारमा समेत एन्टी माइक्रोबियल विशेषता हुनुका साथै सफा गर्ने, घाउलाई पुर्ने गुण हुन्छ ।’
के यो शल्यक्रिया हो ?
क्षारसूत्र चिकित्सा ‘मिनिमल इन्भेन्सिभ प्रोसिडयोर’ (न्यूनतम घाउ बनाएर उपचार गर्ने प्रक्रिया) हो । त्यसैले यो शल्यक्रिया जस्तो हुँदैन । यो चिकित्सा पद्धतिमा प्राय: रक्तस्राव पनि हँुदैन । यो चिकित्सा प्रक्रियाका लागि बिरामीलाई अस्पतालमा भर्ना गर्नुपर्दैन भने एन्टिबायोटिक पनि खानुपर्दैन । यसमा गुदद्वारको मांसपेशीमा समेत बढी क्षति हुँदैन । उपचार गराएकै दिनदेखि आफ्नो कार्यव्यवहार गर्न सकिन्छ ।
अझ यो उपचार प्रक्रियामा घाउको खतसमेत नरहने डा. यादव बताउँछन् ।
पाइल्स र फिस्टुला
बोलचालको भाषामा बबासिरसमेत भनिने पाइल्स नेपालीहरूमा खराब जीवनशैली, सक्रियताको कमी, खानपानमा अनियमितता र फाइबरको कमी आदिले गर्दा बढी देखिँदै गएको छ । पाइल्स हुँदा मलद्वारको तल्लो र भित्री भागको नसा सुन्निन्छ । यसै कारण गुदद्वारको ठाउँठाउँमा गाँठोजस्तै हुन्छ । यो रोगले गम्भीर हुँदै गएपछि गुदद्वारभित्र रहेको गाँठो बाहिरसमेत आउँछ । दिसा बस्दा नसामा दबाब पर्छ र निकै दुख्न थाल्छ । पाइल्स भएपछि दिसा गर्दा रगत आउने, मासु बाहिर निस्किने, निकै दुख्नेआदि समस्या हुन्छन् । उमेर वृद्घिसँगै पाइल्सको समस्या पनि बढ्दै जान्छ ।
चिकित्सकीय तथ्यांकअनुसार उमेरको पाँच दशक नाघेका हरेक दोस्रो व्यक्तिले कुनै न कुनै समय यो समस्यासँग जुध्नुपर्ने उल्लेख गर्दै डा. यादव भन्छन्, ‘धेरैजसो मामिलामा कब्जियतले लामो समयसम्म सताएका व्यक्तिहरूलाई पाइल्सले पनि हैरान बनाउने गर्छ ।’
फिस्टुला भनेको मलद्वारवरिपरि पिलो आएर खटिरा हुनु हो । यस्तो हुँदा निरन्तर पिप बगिरहन्छ ।
अर्कातिर, मलद्वारको तल्लो मुखको भाग च्यातिएर लाम्चो घाउ पनि हुन्छ, जसलाई ‘फिसरी इन एनो’ भनिन्छ । यस्तो हुँदा दिसा गर्ने बेला असाध्यै पोल्ने र दुख्ने गर्छ ।
उपचारमा कति समय लाग्छ ?
क्षारसूत्रका माध्यमले ‘लो एनल फिस्टुला’ को उपचार गर्दा, रोग निको हुन फिस्टुला मार्गको लम्बाइ र गहिराइ कम छ भने एक महिनाभन्दा कम अनि बढी छ भने दुई महिनासम्म लाग्न सक्छ । यस्तै, पाइल्स पहिलो र दोस्रो डिग्रीको भए आयुर्वेद औषधिका माध्यमले उपचार गरिन्छ, तेस्रो र चौथो डिग्रीका लागि क्षारसूत्र उपचार गरिन्छ । यस्तो उपचारका कारण तीनदेखि पाँच दिनसम्ममा पाइल्स झरेर वा सुकेर जान्छ । त्यसपछि घाउ पुरिन १० देखि २० दिनसम्म लाग्न सक्छ ।
क्रोनिक फिसरमा भने ‘सेन्टिनल पाइल्स मास’ लाई क्षारसूत्रबाट बाँधेर निकाली औषधोपचार गरेपछि फिसर निको हुन्छ । यसअन्तर्गत ‘पाइल्स मास’ झर्न ४८ देखि ७२ घण्टा लाग्छ । यसपछि औषधि, आहारविहारमा ध्यान दिँदा १५–२० दिनमा निको हुने डा. यादव बताउँछन् ।
मलद्वार रोगमा के गर्ने ?
-मलद्वारलाई सुक्खा एवं स्वच्छ राख्ने ।
-पर्याप्त फलफूल, मुला, बन्दा, काँक्रो, गाजर लगायत खाने ।
-मन तातो पानीले भरिएको बाटामा बस्ने ।
-डाक्टरले दिएका निर्देशन पालना गर्ने ।
मलद्वार रोगमा के गर्न हुन्न ?
-मांसाहार, खुर्सानी, मसालेदार र गरिष्ठ भोजन नखाने ।
-लामो समयसम्म नहिँड्ने, नबस्ने वा नउभिने ।
-कब्जियत हुन नदिने ।
-शौच गर्दा बल नलगाउने
(कान्तिपुर बाट)
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 11 =