कास्कीको खोराकोमुखमा वाम गठवन्धनको चुनावी सभा


पोखरा, मंसिर १५ । वाम गठवन्धनले कास्की निर्वाचन क्षेत्र नम्वर ३ को खोराकोमुखमा शुक्रवार वृहत चुनावी सभा सम्पन्न गरेको छ । माछापुच्छ्रे गाउँपालिकाका ल्वाङघलेल, रिभान, धिताल र धम्पुस लगायतका स्थानका क्षेत्रलाई लक्षित गदै गठबन्धनले चुनावी सभाको आयोजना गरेको हो। सभामा स्थानिय जनताहरु ठूलो संख्यामा सहभागिता रहेको थियो ।
चुनावीसभालाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुव्वा गुरुङले देशमा कहिल्यै पनि काँग्रेसवाट शान्ति, विकास र स्थिरता नभएकोले काँग्रेसवाट विकास असम्भव रहेको वताएका छन् । ‘जनताले लडेर ल्याएको प्रजातन्त्र काँग्रेसले जोगाउन सकेन । थुप्रै पटक वहुमतको सरकार चलाउने मौका पायो । अस्थिरता र अशान्तिको पर्याय काँग्रेस हो’, गुरुङले भने‘काँग्रेसलाई वहुमत दिएर शान्ति र विकास हुँदैन।’
लोकतन्त्र वचाउन नसक्ने काँग्रेस कहिल्यै पनि लोकतान्त्रिक पार्टी हुन नसक्ने दावी गुरुङको छ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता देव गुरुङले राजनीतिक परिर्वतनको लडाई सकिएकोले अवको देशको कार्यभार आर्थिक समृद्धिको भएकोले आर्थिक रुपमा परर्निभरताको मानसिकता वोकेको काँग्रेसवाट समृद्धिको कल्पना समेत गर्न नसकिने भनाई राखे ।
चुनावकै कारणले पार्टी एकता हुने ढिलाई भएपनि अव चुनाव लगत्तै एमाले र माओवादी केन्द्रविच पार्टी एकता घोषणा हुने समेत जानकारी गुरुङले दिए । प्रतिनिधिसभाका उम्मेदवार जगत विश्वकर्माले निर्वाचन क्षेत्र नं ३ मा रहेको खानेपानीको समस्या वामपन्थी सरकारको पहिलो वजेटवाट समाधान गरिने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेशसभाका उम्मेदवार रामजी प्रसाद वरालले गाउँपालिकाले ल्याएका विकास निर्माण र जनताका सरोकारका विषयहरुलाई पुरा गर्न आफ्नो तर्फवाट पूर्ण सहयोग गर्ने वचनवद्धता व्यक्त गरे । समानुपातिक उम्मेदवार सीता गिरी ओलीले विगतका दुईवटा निर्वाचनमा कम्युनिष्ट उम्मेदवारहरुलाई विजयी गराएका जनताहरु मंसिर २१ गते पुन वाम गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आतुर रहेको भनाई राखेकी थिइन् ।
अर्का समानुपातिक उम्मेदवार दुर्गाकुमारी विकले ल्वाङघलेल र रिभानमा परिर्वतनको लडाई लड्ने क्रममा जनयुद्धको क्रममा थुप्रैको वलिदान भएकोले यहाँका जनताले त्यो रगतलाई कहिल्यै पनि खेर जान नदिन आग्रह गरिन् ।
