राष्ट्रिय सभा विवादको हल राजनीतिक सहमतिमा : माओवादी


पुस ३, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि विवाद राजनीतिक सहमतिको आधारमा टुंगो लगाउनुपर्ने निष्कर्ष निकालेको छ ।
निर्वाचनपछि सोमबार बसेको पार्टी केन्द्रिय कार्यालय बैठकले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि विवाद राजनीतिक सहमतिको आधारमा टुंगो लगाउनुपर्ने निष्कर्ष निकालेको हो ।
राजनीतिक सहमतिकै आधारमा राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि विवाद समाधान गर्नुपर्ने निष्कर्ष निकालिएको पार्टीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् । बैठकमा नेताहरुले तीन ठूला दलको सहमतिको आधारमा राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि विवाद समाधान गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण समेत गराएका थिए ।
यस्तै, माओबादीको बैठकले पार्टी एकता र सरकार निर्माणका बिषयमा नेकपा एमालेसंग छलफल गरि समान धारणा बनाएर अघि बढ्ने भएको छ । चुनावपछि पहिलो पटक बसेको कार्यालय बैठकले बाम गठबन्धन बनाएर चुनावमा होमिदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको प्रवक्ता भुसालले जानकारी दिईन् ।
माओवादी बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय पनि गरेको छ ।
बैठकले निर्वाचन सम्पन्न गराएकोमा सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी र सम्पुर्ण मतदातालाई धन्यावाद समेत ज्ञापन गरेको छ ।
