मोटरसाइर्कल चोरीका घटना बढे

“
बनेपा, माघ ८ । काभ्रेमा पछिल्लो समयमा मोटरसाइकल चोरीका घटनाहरु बढ्न थालेका छन् । इलाका प्रहरी कार्यालय बनेपामा असारयता मात्रै १५ वटा मोटरसाइकल चोरीको निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयमा १० वटा उजुरी परेका छन् ।
काभ्रेमा बनेपा, धुलिखेल, पनौतीबाट महंगा मोटरसाइकल हराउने गरेका छन् । अस्पताल, कलेज र सार्वजनिक पार्किङ स्थलबाट मोटरसाइकल हराउने गरेका छन् ।
मोटरसाइकलको लक गरिएको हृयान्डललाई मास्टर चाबीले खोलेर चोरहरुले लैजाने गरेका छन् । कुनै कुनै मोटरसाइकलको लक नै भाँचेर पनि लैजाने गरेको छन् ।
धेरै मान्छेको चाप हुने स्थानमा मोटरसाइकल चोरहरुले निगरानी गरिरहने र मान्छे व्यस्त भएको मौका छोप्ने गरेको जिल्ला प्रहरीका कार्यालयका डिसपी महेन्द्रप्रसाद मरासिनीले बताए । काठमाडौंमा चोरी भएको मोटरसाइकल चोरहरुले राजधानी नजिकैको जिल्लामा सहजै भित्राउने गर्छन् । काठमाडौंमा दैनिक दर्जनबढी मोटरसाइकल चोरीका निवेदन प्रहरीकोमा दर्ता हुने गरेको छ । काभ्रेमा चोरीको मोटरसाइकल सहायक राजमार्ग हुदै भित्रने गर्छ ।
धुलिखेल आसपासमा विशेष गरी जिम्मी लामाको जिम्मी समूहको सक्रियतामा मोटरसाइकललगायतका सामग्री चोरी हुँदै आएको छ । जिम्मीलाई जिल्ला अदालत काभ्रेले केही महिना कैद फैसला सुनाएको थियो ।
सिन्धुपाल्चोकका जिम्मीको समुहमा ६ जना युवाहरु सक्रिय रहेका छन् । चोरहरुको सञ्जाललाई प्रहरी पक्राउ गर्न नसकेको भए पनि चोरीको अभियोगमा एक÷दुई जना जनालाई पक्राउ गर्दै आएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाले गत सोमबार बनेपाबाट मोटरसाइकल चोरी गर्दै गर्दा महाभारत गाउँपालिकाका युगान्त थिङलाई पक्राउ गरी मुद्दा चलाएको छ ।
उनले शनिबार बनेपाबाटै बा ८० प ८८३६ नम्बरको मोटरसाइकल चोरेर नयाँबस्तीमा लुकाएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख सुनिलजंग शाहले बताए ।
“








