मौसम महोत्सवको !

भरतपुर, पुस २६ । हिउँदको समय । पारिलो घाममा हिँडडुल गर्नु वा कतै घुमघाम गर्नुको आनन्दै बेग्लै हुन्छ । भन्निछ, हिउँदको घाम, घुमघामको याम । यो मौसम घुमघामको त हो नै, अर्को यतिबेलाको मौसम महोत्सवको पनि रहेछ । भरतपुरको बजारलाई केन्द्रमा पार्ने गरी दुई ठाउँमा एकै समयमा महोत्सवको आयोजना गरिएको छ । एउटा महोत्सव रत्ननगरमा छ भने अर्को महोत्सव गैंडाकोटमा ।

व्यवसायिक तथा कृषिको प्रवद्र्धन गर्ने उद्देश्यले रत्ननगरको टिकौलीमा आयोजना गरिएको रत्ननगर महोत्सव र नारायणी नदी किनारमा गरिने गैँडाकोट महोत्सवको तयारी पूरा भएको छ ।

 

आयोजक रत्ननगर उद्योग वाणिज्य संघले मंगलबार महोत्सवस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जानकारी दिएको हो । पुस २७ गतेबाट सुरू हुने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले बिहान साढे ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिए । महोत्सवको स्टल निर्माण, मुल तथा स्वागत गेट निर्माण, प्रचारप्रसारको काम पूरा भएको संयोजक रेग्मीले जानकारी दिए ।

महोत्सवलाई लक्षित गरी टाँडीबजार ध्वजापताकाले सिंगारिएको छ । महोत्सव पुस २७ गतेदेखि माघ ७ गतेसम्म चल्ने छ । चितवनको आर्थिक सम्भावनाको खोजी एवम् प्रवद्र्धन गर्दै चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संयोजक रेग्मीले बताए । प्रत्येक दुई वर्षको अन्तरालमा हुने यस्तो महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक मह¤वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराइने छ ।

रत्ननगर महोत्सव–२०७४ मा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन करिब ४५० वटा स्टल रहेको महासचिव निराजन खनालले जानकारी दिए । यस पटकको महोत्सवमा ५ लाख बढी दर्शकहरुले अवलोकन गर्ने र करिब ५० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । कृषिलाई प्राथमिकता दिइएको सो महोत्सवमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका कृषिका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।
यस पटकको महोत्सवको मुख्य आकर्षणको रुपमा ७५ फिट अग्लो धरहरामा ३० फिटबाट दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको संघका उपाध्यक्ष रघुनाथ भट्टले जानकारी दिए । महोत्सवको अर्को आकर्षणको रुपमा परापूर्वकालमा राजामहाराजाले चढ्ने रथ (बग्गी), घोडा चढ्ने व्यवस्था मिलाइएको उनले बताए । साथै महोत्सवमा सबैले चासोका साथ हेर्ने अस्टिजसमेत राखिने छ । महोत्सव परिसरमा जातजातिका संस्कृति झल्कने घर निर्माण गरिएको छ । विगतमा जस्तै महोत्सवअन्तर्गत माघ २ देखि ६ गते सम्म टाँडी बजार क्षेत्रमा बंगुरपालन व्यवसायहरुको प्रवद्र्धनका लागि चौथौ राष्ट्रिय पोर्क फुड फेस्टिबल आयोजना गरिएको संघका निवर्तमान अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए ।

सो फुड फेष्टिबलमा ५० वटा स्टल रहने छ । पत्रकार सम्मेलनमा रत्ननगर नगर कार्यपालिकाका मेयर नारायण वनले रत्ननगर महोत्सव पूर्वी चितवनकै स्थापित महोत्सवको रुपमा विकास भएको बताए । उनले दुई/दुई वर्षमा हुने रत्ननगर महोत्सवले जिल्लाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र व्यवसायिक विकासको लागि भूमिका निर्वाह गरेको बताए ।

कम छैन गैंडाकोट महोत्सव
पुस २७ गतेदेखि माघ ८ गतेसम्म हुन लागिरहेको दोस्रो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक उद्योग वाणिज्य संघ गैँडाकोटले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

महोत्सवको सहआयोजकमा गैँडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, देवचुली उद्योग वाणिज्य संघ, नवलपुर उद्योग वाणिज्य संघ र प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेका छन् । महोत्सवका प्रमुख आकर्षणमा स्थानीय उत्पादनका सामग्री, स्थानीय सांस्कृतिक पहिचान झल्काउने स्टल, व्यापारिक प्रयोजनका स्टल, अध्ययन अवलोकनका लागि स्टल, खेल उद्यानदेखि लिएर बंगलादेश, श्रीलंका, भारत, भुटान, पाकिस्तानका अन्तर्रा्ष्ट्रिय उत्पादनका स्टलसमेत रहने उद्योग वाणिज्य संघ गँैडाकोटका कोषाध्यक्ष एवम् महोत्सव प्रचारप्रसार समितिका संयोजक शालीकराम सापकोटाले बताए ।

सर्वसाधरणका लागि ५० प्रवेश शुल्क राखिएको भएता पनि समूहमा विद्यालय र कलेजबाट सिफारिस भै आएका विद्यार्थीहरुलाई निःशुल्क प्रवेश दिइने र अन्य विद्यार्थीको हकमा ३० प्रवेश शुल्क राखिएको जनाइएको छ । प्रथम गैँडाकोट महोत्सवमा करिब २५ लाख आम्दानी गर्न सफल भएको दोस्रोमा पनि त्यो भन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएको र कुल आम्दानीको १० देखि १५ प्रतिशत ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला र दलितका लागि लगानी गर्ने पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले बताए ।

महोसवमा ३२० स्टल रहनेछन् जसमध्ये ४० वटा प्रवद्र्धनात्मक स्टल रहने, कृषिका १७ स्टल, स्थानीय सीमान्तकृत वर्गका उत्पादनहरु, अपाङ्गता भएका व्याक्तिहरुका उत्पादन, एकल महिला पैरवी मञ्चका उत्पादनहरु र विभिन्न जातजाति मौलिकता झल्कने घरहरु समेत रहने छन् ।

१० दिनसम्म चल्ने महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ भने एक दिन कवि गोष्ठी र एक दिन स्मार्ट सिटीका बारेमा सेमिनारसमेत हुनेछ । आईटी र अटो स्टल पनि मेलाका थप आर्कषण रहने उवासंघ गैँडाकोटका उपाध्यक्ष एवम् दोस्रो गँैडाकोट महोत्सव मूल समारोह समितिका संयोजक दीपक सापकोटाले बताए । पुस २७ गते सुरू हुने महोत्सवको उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्घाटन गर्ने्छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *