विद्यार्थीलाई प्रश्न– जहाजमा २६ भेँडा र १० खसी छन् भने क्याप्टेनको उमेर कति होला ?

बेइजिङ, माघ १७ । ‘एउटा जहाजमा २६ भेँडा र १० खसी छन् भने सो जहाजका क्याप्टेनको उमेर कति होला ?’ यो प्रश्नको जवाफ कुनै गणित विज्ञान वा सूत्रमा आधारित रहेर दिन सम्भव छैन । जहाजको क्याप्टेनको उमेरसँग उक्त जहाजमा रहेका भेँडा र खसीको के सम्बन्ध ? प्रतिप्रश्न उठ्नु स्वाभाविक पनि हो ।

तर यो प्रश्न कक्षा पाँचका विद्यार्थीलाई परीक्षामा सोधिएपछि चीनमा यसले निकै ठूलो चर्चा बटुलेको छ ।

चीनको शुनकिङ्ग जिल्लाको प्राइमरी स्कूलका कक्षा पाँचका विद्यार्थीलाई गणित विषयको परीक्षामा सोधिएको प्रश्न हो यो । पाठ्यक्रममा समेत यस्तो प्रश्न थिएन । तर अचानक परीक्षामा यो प्रश्न सोधिएपछि विद्यार्थी पनि अलमल्ल परे ।

चिनियाँ सामाजिक सञ्जालमा यो प्रश्नबारे धेरै टिप्पणी भएको छ । प्रश्नको जवाफमा विद्यार्थीले लेखेको विवरण पनि सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एक विद्यार्थीले उक्त प्रश्नको जवाफमा लेखेको छ, ‘क्याप्टेनको उमेर कम से कम १८ वर्ष हुनुपर्छ किनकि जहाजको क्याप्टेन हुनका लागि वयस्क हुन जरुरी हुन्छ ।’

अर्का विद्यार्थीले क्याप्टेनको उमेर ३६ वर्ष हुनुपर्ने तर्क गरेका छन् । किनकी २६ भेँडा र १० खसीको योगफल ३६ भएकाले क्याप्टेनको उमेर पनि ३६ हुनुपर्ने उनको तर्क छ ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले यो प्रश्नमा व्यङ्ग्यका साथ प्रतिप्रश्न गर्दै लेखेका छन्, ‘यदि शिक्षकको संख्या २६ छ र तीमध्ये १० जना बुद्धिहीन छन् भने प्रिन्सिपलको उमेर कति होला ?’

परीक्षामा सोधिएको प्रश्नका बारेमा सार्वजनिक रुपमा बहस भएपछि शिक्षा विभागले प्रतिक्रिया जनाएको छ । विभागका अनुसार यस्तो प्रश्न भुलवस् सोधिएको नभई विद्यार्थीको जागरुकता मापन गर्न सोधिएको हो ।

विद्यार्थीहरु पुस्तकमा लेखिएको विषयमा मात्र केन्द्रीत हुने र पारम्परिक रुपमा नोट बनाउन अभ्यस्त हुन थालेपछि उनीहरुलाई रचनात्मक हुनका लागि प्रेरित गर्ने उद्देश्यले यस्ता प्रश्न सोधिएको विभागको तर्क छ । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =