नेकपा एमाले र माओवादी केन्द्रका बीच झडप १० घाइते


बैतडी, असार ४– दाचुर्लाको मार्मा गाउँपालिकामा उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा नेकपा एमाले र माओवादी केन्द्रका बीच झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् ।
मार्मा गाउँपालिकामा माओवादी केन्द्र मनोनयन दर्ता गरेर फर्कने बेला मनोनयन दर्ता गर्न हिँडेको एमाले बीच बाटोमा भेट हुदा ढुंगामुढा हानाहान भएको हो । बीच बाटोमा के कारणले झडप भएको हो भन्ने कुरा आफूहरुलाई समेत थाहा नभएको इलाका प्रहरी कार्यालय लटिनाथका प्रमुख रणबहादुर चन्दले जानकारी दिनुभयो ।
झडपलाई नियन्त्रण गर्न खोज्दा प्रहरी पनि घाइते भएका छन् । घाइतेको टाउको, हात खुट्टामा चोट लागेको सिंहले बताउनु भयो । अहिले मार्मा गाउँपालिकाको स्थिती तनावग्रस्त बनेको छ । ढुंगामुढाले गर्दा सोलार पसलमा समेत क्षति पुगेको बताइएको छ । मार्मा गाउँपालिमा सबैभन्दा पहिले नयाँशक्तिबाट प्रेमप्रसाद जोशीले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको थियो । बैतडीमा भने शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
